रियल मेड्रिड र युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो



एजेन्सी ।

युरोपियन च्याम्पियन्स लिगका सर्वाधिक विजेता स्पेनिस क्लब रियल मेड्रिड र इटालियन सिरी ए का महारथी युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएका छन् ।

सर्वाधिक १३ पटकका च्याम्पियन मेड्रिड यसपटक इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो । नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पेप ग्वार्डिओलाको टिम सिटीले प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा पाहुना टोली रियललाई आफ्नै घरेलु मैदानमा २–१ ले हरायो । दोस्रो लेगको समेत नतिजा जोड्दा सिटी समग्रमा ४–२ ले विजयी बन्यो । यसअघि यी दुईबीच भएको पहिलो लेगको खेलमा सिटीले रियललाई उसैको घरेलु मैदानमा २–१ ले नै हराएको थियो ।

दोस्रो लेगमा सिटीको मैदान ईत्तिहादमा रियलको डिफेन्सको गल्तीले गोल खाएर नतिजा गुमाएको हो । सिटीको जितमा खेलको नवौं मिनेटमा स्टर्लिङले गोल गरेका थिए । तर, २८औं मिनेटमा बेन्जेमाले गोल गरेपछि रियल खेलमा फर्कियो । यता ६८ औं मिनेटमा सिटीले पुनस् रियल मेड्रिडको डिफेन्सको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गर्‍यो । यसपटक सिटीका लागि गाब्रियल जिससले गोल गरे । जसका कारण रियलको च्याम्पियन्स लिगको यात्रामाथि पूर्णविराम लाग्यो । अब सिटीले क्वाटरफाइनलमा फ्रान्सेली क्लब लियोनसँग खेल्नेछ ।

त्यसैगरी शनिबार बिहान नै भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्सले फ्रेन्च क्लब लियोनलाई २–१ ले हराए पनि समग्रमा २–२ को बराबरीपछि लियोनले अवे गोलको आधारमा युभेन्ट्सलाई पछि पार्दै अन्तिम आठमा स्थान बनायो । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे पनि उक्त २ गोलले उनको टिमलाई क्वाटरफाइनलमा पुर्‍याउन पर्याप्त भएन । तर, उक्त दुई गोलसँगै रोनाल्डोले भने नयाँ कीर्तिमान बनाएका छन् ।

उनले एकै सिजनमा युभेन्ट्सबाट धेरै गोल गर्ने रेकर्ड बनाएका हुन् । रोनाल्डो यो सिजनमा कुल ३७ गोल गर्न सफल भए । उनले युभेन्ट्सको इतिहासमा ८५ बर्ष भन्दा पुरानो रेकर्ड तोड्न सफल भएका छन्‌ । यसअघि १९३३ र ३४ को सिजनमा युभेन्ट्सका लागि फेलिस प्यासीडोले ३६ गोल गरेका थिए । यस सिजन रोनाल्डोले सिरी ए मा ३१ गोल गरेका थिए भने चार गोल च्याम्पियन्स लिगमा र दुई गोल कोपा इटालियामा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्