नेपालमा बिहिवार साँझसम्म ५१ जना चिकित्सक कोरोना संक्रमित



न्युज अफ नेपाल, काठमाडौं

नेपालमा कोरोना संक्रमीतहरुमा गम्भिर लक्षण देखिई सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामी बढ्दै गएकाले सरकारले भेन्टिलेटर सहित आईसियु बेडहरुको व्यवस्थापन गरि तयारी अवस्थामा राख्न नेपाल चिकित्सक संघले सरकारको ध्यानाकषर्ण गराएको छ ।

संघका महासचिव डा.बद्री रिजालले जारी गर्नुभएको विज्ञप्तीमा नेपालमा ८० बढी स्वास्थ्य संस्थाका २ सय २१ जना स्वास्थ्यकर्मीहरु मध्ये ५१ जना चिकित्सकहरु समेत संक्रमित हुन गई स्वास्थ्यसेवा प्रवाहमा असर पुग्न गएको उल्लेख गर्दै ६ बुद्धे सुझाव अनुसार काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट विहिवार सम्म नेपालमा २१ हजार ७ सय ५० जना प्रभावित भई सकेका छन् भने ६५ जनाले ज्यान गुमाउनु परेको छ ।

नेपाल चिकित्सक संघले नेपाल सरकार समक्ष जोडदार माग गर्दै उठाएका मागहरु यसप्रकार रहेका छन् :

१) अत्यन्तै जोखिमपूर्ण अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले स्वास्थ्य सेवा प्रवाह गरिरहेको परिवेशलाई ध्यानमा राख्दै नेपाल सरकारले घोषणा गरेको जोखिम भत्ता वितरणमा विभेदीकरण गरिएकोमा त्यसलाई सञ्चाई समान रुपमा वितरण गर्न तथा कोभिड बिमा अनिवार्य रुपमा लागू गरी उच्च मनोबलका साथ सुरक्षित भई काम गर्ने वातावरण बनाउनु पर्ने ।

२) नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या बृद्धि गर्नु पर्ने ।

३) संक्रमण दिनप्रतिदिन बढ्दै गएको र कोभिड डेडिकेटेड अस्पतालहरुमा छुट्टयाइएका बेडहरुको समेत अभाव हुने भएकोले निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत संलग्न गराउनु पर्ने ।

४) स्वास्थ्य संस्थामा सामान्य बिरामीहरुको समेत भिडभाड बढदै गएकोले स्वास्थ्य संस्थामा हुने भीडलाई कम गर्नका लागि पूर्व निर्धारित समय लिने व्यवस्थालाई कडाईका साथ लागू गर्नु पर्ने, स्वास्थ्य संस्थाहरुको कोभिड–१९ सम्बन्धी आन्तरिक निर्देशिकाहरु बनाई स्वास्थ्य संस्था संचालन गर्नु पर्ने ।

५) स्वास्थ्यकर्मी तथा चिकित्सकहरु दिनप्रतिदिन संक्रमित हुने दर वृद्धि हुँदै गएकोले नीजहरुको सुरक्षाका निम्ती आवश्यक सुरक्षाका सामग्रीहरुको सहज रुपमा उपलब्ध गराउनु पर्ने, संक्रमण रोकथाम सम्बन्धी तालिमहरु दिनुपर्ने र संक्रमित भएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका लागि छुट्टै अस्पताल तथा उपचारको व्यवस्था गरिनु पर्ने ।

६) समुदाय तथा कार्यस्थलमा कोभिड रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।

उल्लेखित कार्यहरुलाई पहिलो प्राथमिकतामा राखी आवश्यक गृहकार्य नगरिएको अवस्थामा जुनसुकै बेला भयावह स्थितिको सामना गर्नु पर्ने तर्फ सचेत रहन नेपाल सरकार तथा सरोकारवाला निकाय समक्ष यस संघ हार्दिक अपिल गर्दछ ।
भवदीय,

डा. बद्री रिजाल
महासचिव

प्रतिक्रिया दिनुहोस्