घरेलु लिगका बाहुबली युभेन्ट्स   



लन्डन, (एजेन्सी)  
विश्व फुटबलमा युरोपेली क्लबहरूको उपस्थिति बलियो रहँदै आएको छ। फिफा क्लब विश्वकप होस् वा कुनै मैत्रीपूर्ण खेल, औसतस्तरको युरोपेली फुटबल क्लब अन्य महादेशका एक से एक क्लबका लागि समेत वजनदार हुने गर्छ। वास्तवमा यस्तो हुनुको पछाडि युरोपेली घरेलु लिगमा गरिने लगानी नै प्रमुख कारण हो।

मुख्यतः  इंग्ल्यान्ड, स्पेन, इटाली, जर्मनी, फ्रान्सले घरेलु लिगमा मनग्य लगानी गर्छन्। जसको प्रतिफल ती पाँच राष्ट्र अर्थात् टप–५ लिगका क्लबहरूले यूईएफए च्याम्पियन्स लिग, युरोपा लिगजस्ता युरोपकै प्रतिष्ठित प्रतियोगिताहरूमा आफ्नो दबदबा कायम गर्दै आएका छन्।

धेरैलाई युरोपको टप–५ लिगमध्ये फुटबलमा सर्वाधिक धेरै घरेलु लिग जित्ने क्लब कुन होला भनेर कौतूहलता होला। कतिपय यो बारे अनभिज्ञ नै होलान्। धेरैले झट्ट सम्झिंदा इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, लिभरपुल, स्पेनिस क्लब रियल मेड्रिड, बार्सिलोना वा जर्मनी बार्यन म्युनिख सम्झेलान्।

तर, इतिहास पल्टाउने हो भने वास्तविकता अर्कै छ। यस सन्दर्भमा इटालियन सिरी ए क्लब युभेन्ट्सलाई बाहुबली मान्नुपर्छ। युभेन्ट्स युरोपका शीर्ष–५ लिगको इतिहासमै सबैभन्दा धेरैपटक उपाधि जित्ने टोली हो।

केही दिनअघि सम्पन्न सिजन २०१९÷२० मा युभेन्ट्सले सिरी ए उपाधि लगातार ९ पटक जित्यो। युभेन्ट्स युरोपमै सबैभन्दा धेरै लगातार ९ सिजन उपाधि जित्ने एक्लो टोलीसमेत बन्यो। त्यति मात्रै होइन, युभेन्ट्सले सिरी ए को उपाधि कुल ३६ पटक उचाल्यो।

युभेन्ट्सको यो सफलता युरोपेली क्लब फुटबलकै उदाहरण बनेको छ। उक्त आंकडा युरोपका कुनै पनि क्लबले जितेको सबैभन्दा धेरै घरेलु लिग उपाधिसमेत हो। युभेन्ट्सपछि इटालियन सिरी ए मा सर्वाधिक लिग जित्ने टोली एसी मिलान हो। पछिल्लोपटक २०१०÷११ मा लिग च्याम्पियन बनेको एसी मिलान कुल १८ पटक उपाधि विजेता बनेको छ।

युभेन्ट्सलाई पछ्याइरहेको अर्को क्लब हो रियल मेड्रिड। स्पेनिस महारथी रियल मेड्रिड युभेन्ट्सपछि दोस्रो धेरै घरेलु लिग उपाधि जित्ने क्लब हो। केही दिनअघि सम्पन्न यस सिजनको च्याम्पियन भएसँगै रियल ३४ पटक ला लिगा च्याम्पियन बनेको छ।

तेस्रो स्थान भने जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखले ओगटेको छ। विगत आठ वर्षदेखि लगातार बुन्डेसलिगा च्याम्पियन बन्दै आएको म्युनिखले कुल ३० पटक लिग उपाधि जितेको छ। म्युनिख सन् २०१२÷१३ सिजनदेखि लगातार बुन्डेसलिगा च्याम्पियन बन्दै आइरहेको छ। बुन्डेसलिगा सर्वाधिक जित्ने सूचीको दोस्रो स्थानमा भने नुमबर्ग एफसी छन्।

तर, तुलनात्मकरूपमा नुमबर्गभन्दा म्युनिख २१ पटकले अघि छ। पछिल्लोपटक १९६७÷६८ मा बुन्डेसलिगा च्याम्पियन बनेको नुमबर्गले ९ पटक मात्र लिग उपाधि जितेको छ।

सर्वाधिक घरेलु लिग जित्ने क्लब सूचीको चौथो स्थानमा भने क्याटालान क्लब बार्सिलोना रहेको छ। स्पेनिस जाइन्ट बार्सिलोनाले कुल २६ पटक ला लिगाको उपाधि उचालेको छ। त्यस्तै, शीर्ष–५ लिस्टको पाँचौं टोली बनेको छ इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड।

रेड डेभिल्स उपनामबाट परिचित युनाइटेडले कुल २० पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। यूनाइटेड पछिल्लो पटक २०१२–१३ मा लिग च्याम्पियन बनेका थिए । प्रिमियर लिग उपाधि सर्वाधिक जित्ने होडको दोस्रो स्थानमा भने लिभरपुल छ। यस सिजनको च्याम्पियन बनेको लिभरपुलले कुल १९ पटक लिग उपाधि उचालेको छ।

 

प्रतिक्रिया दिनुहोस्