महासंघको निर्वाचन गर्ने ढाँचा तय गर्न समिति



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघले ५४औं वार्षिक साधारण सभा र निर्वाचन प्रक्रियाको ढाँचा तय गर्न एक समिति गठन गरेको छ ।

कोभिड १९ बाट देशमा उत्पन्न त्रास तथा जोखिमसमेतलाई मध्यनजर गरी महासंघको ५४औं वार्षिक साधारण सभा एवम् निर्वाचन के कसरी अगाडि बढाउने भन्नेबारे ढांँचा तथा प्रक्रिया तयार गर्न समिति गठन गरिएको हो ।
समितिमा जिल्ला, वस्तुगत र एसोसिएट क्षेत्रका कार्यकारिणी समितिका सदस्यहरु डीबी बस्नेत, अरुणराज सुमार्गी, सुनीलगोपाल श्रेष्ठ, विनोद ढकाल, रञ्जितराज आचार्य, भरतराज आचार्य सम्मिलित समिति गठन भएको महासंघले जनाएको छ ।

समितिले साधारण सभा तथा निर्वाचन गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय, उद्योगी व्यवसायी, स्वास्थ्य सम्बन्धी विज्ञहरुका साथै सरोकारवाला सबै पक्षसँग छलफल गरी महासंघलाई प्रतिवेदन उपलब्ध गराउने र समितिबाट प्रस्तुत प्रतिवेदन पदाधिकारी समिति र कार्यकारिणी समितिमा छलफल गरी ५४औं वार्षिक साधारण सभा तथा निर्वाचनको कार्य अगाडि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्