बाटोमा आफैं मास्क बाँड्दै सीडीओ र डीएसपी



विनोदसिंह विष्ट, बैतडी
गत चैत ११ गतेदेखि शुरू भएको लकडाउन साउन ६ गते अन्त्य भयो । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको थियो ।

४ महिना लामो लकडाउनले दैनिक जीवनस्तरमा असर पारेको भन्दै सरकारले साउन ७ गतेदेखि लकडाउन खोल्यो । लकडाउन खुलेसँगै बजार क्षेत्रमा स्वास्थ्य सुरक्षा सतर्कता नअपनाई भीडभाड बढ्न थाल्यो । सरकारले अनिवार्यरूपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न तथा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । तर, सरकारको अनुरोधलाई यहाँका स्थानीय बासिन्दाले अटेरी गरिरहेका छन् ।

संक्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन गरिएको आग्रह गरिएपछि बैतडीका सरोकारवाला निकाय आफैंले मास्क वितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गर्न थालेका छन् । जिल्लाका मुख्य बजार पाटन र देहिमाडौंमा मास्क बितरण गरिएको छ भने अन्य बजारमा पनि गरिने जनाइएको छ ।

जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, बैतडी प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीलगायतले बाटोमै गएर आफैं मास्क वितरण गर्न थाल्नुभएको छ । प्रजिअ जोशी जिल्लाका मुख्य–मुख्य बजार क्षेत्र तथा भीडभाड बढी हुने क्षेत्रमा मास्क बाँड्न लाग्नुएको हो ।

बन्दाबन्दी अन्त्य गरेको घोषणा गरे पनि कोरोना संक्रमण यथावत् रहेको र सर्वसाधारण कोरोना रोग निर्मूल भएझैं जमघट हुने, भेला हुने र बिनामास्क हिँडडुल गर्न थालेपछि मास्क वितरण गर्न थालिएको प्रजिअ जोशीले बताउनुभयो । मास्क प्रयोग नगर्नेलाई अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिनुका साथै मास्कसमेत वितरण गरिएको छ ।’ –उहाँले भन्नुभयो ।

बजारमा दिनानुदिन भीडभाड बढ्दै गएको र चहलपहल क्रमशः बढ्दै जाँदा कोरोना संक्रमण समुदायसम्म फैलने सम्भावना भएकाले घरबाट बाहिर निस्कँदा मान्छेहरूसँग सम्पर्क भएर कोहीकसैलाई कोेरोना भए अर्को व्यक्ति तथा समुदायमा फैलने सम्भावना भएकाले मास्कको अनिवार्य प्रयोगका लागि जनचेतना दिने उद्देश्यले मास्क वितरण गर्न थालिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । ‘बजारमा धेरैजसो स्थानीय बासिन्दा तथा पसलेले समेत मास्क प्रयोग नगरेको पाइएकाले मास्क लगाउन सचेतना गराएका हौं ।’ –उहाँले कथन छ ।

सरकारले लगाउँदै आएकोे लकडाउन मात्र अन्त्य गरिएको तर जनमानसमा कोरोना अन्त्य भएकोझैं भान भएर मास्क नलगाई हिँडडुल गर्ने, भेला जमघट हुने, सामाजिक दूरी पालना नगर्ने र पर्व परम्पराहरू सञ्चालन गर्ने जस्ता कार्य बढ्न थालेकाले यस्ता कार्य नियन्त्रण गरी कोरोना नियन्त्रण गर्न सहयोग पु¥याउन सर्वसाधारणमा सचेतना आओस् भनेर बजारमा मास्क वितरण गरिएको बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

लकडाउन खुलेसँगै बैतडीमा पनि कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
मास्क नलगाउने ३ सय ४१ जनालाई जरिवाना तिराइएको र ७ सय जनालाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्