कोरोनाको जोखिममा कर्मचारी

पाटन मणिडोंमा सिल



सुनील महर्जन, काठमाडौं
मन्त्रालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनिक कामकाज प्रभावित हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका कर्मचारीमा धमाधम कोरोना पोजेटिभ देखिन थालेपछि मन्त्रालयको सम्पूर्ण काम अवरुद्ध हुने क्रम व्यापक बन्दै गएको हो । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अख्तियारको सम्पूर्ण कामकाज प्रभावित रह्यो । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो ।

काठमाडौं उपत्यका संक्रमितको संख्या बढ्दै गएपछि सेवाग्राही भीडभाड हुने यातायात कार्यालय, मालपोत कार्यालय, स्थानीय तह र वडा कार्यालयलगायतका कर्मचारीले असुरक्षित महसुस गर्ने गरेकाले सेवाप्रवाह प्रभावित बन्दै गएको छ ।

लकडाउन खुकुलो बनाएसँगै कोरोना महामारी नै बिर्सिने गरी यातायात कार्यालयमा मानिसको भीडभाड बढ्न थालेपछि अहिले लाइसेन्स दिने कार्य नै बन्द गरिएको छ । त्यसै गरी लकाडाउन खुकुलो बनाएदेखि अत्यधिक भीडभाड रहेको मालपोत कार्यालयका कर्मचारीले असुरक्षित महसुस गर्दै आएका छन् । अधिकांश कर्मचारी कोरोना जोखिम भन्दै हाजिर गरेर घर फर्किने गरेको पाइएको छ ।

बुधबार प्रदेश नं २ का कर्मचारी नै कोरोनाबाट संक्रमित भएपछि एक मन्त्रालयबाहेक सम्पूर्ण मन्त्रालयको काम ठप्प भएको थियो । मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सम्पूर्ण काम बन्द गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्पूर्ण काम बन्द गरेर मूल ढोकामै ताल्चा लगाइएको छ।

त्यस्तै, सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालयमा बुधबार ताल्चा लगाइएको हो ।

संक्रमण बढ्न थालेपछि सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । थप कर्मचारीमा संक्रमण बढ्ने जोखिमका कारण गृह मन्त्रालयले बुधबारदेखि कडाइ थालेको हो । भीड नरोकिएपछि कडाइ गर्नुपरेको गृह प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो । सिंहदबारमा अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई सिंहदरबार प्रवेश पनि रोकिएको छ ।

यसै गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा तुलनात्मक रुपमा मानिसको भीडभाड कम रहे पनि स्थानीय तहमा देखिने भीडभाडले ती स्थानमा कोरोनाको संक्रमणको जोखिम रहेको देखाउँछ । ललितपुर महानगरपालिका राजस्व महाशाखामा पालैपालो सेवाग्राही प्रवेश गर्ने व्यवस्था मिलाए पनि महाशाखा बाहिर भने बढी नै भीडभाड देखिएको कर्मचारी बताउँछन् ।

मूलगेटमा प्रवेश गर्नेबित्तिकै सेवाग्राहीको ज्वरो जाँच्ने र सेनिटाइजर उपलब्ध गराइए पनि भौतिक दूरी राखेर बस्ने नगरेको पनि शाखाका प्रमुख डिल्ली शाक्यले बताउनुभयो । यसले गर्दा कर्मचारीहरु असुरक्षित महसुस गरेको उहाँको भनाइ रहेको छ ।

लामो समयको लकडाउन खुलेपछि राजस्व बुझाउन आउनेहरुको भीडभाडले गर्दा आन्तरिक राजस्व कार्यालयका कर्मचारी पनि असुरक्षित महसुस गर्दै आएका छन् ।

पाटन मणिडोंमा सिल
ललितपुर महानगरपालिका–११ स्थित मणिडोंमा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि सो स्थान वरपर सिल गरिएको छ ।

बगलामुखी मन्दिरबाट करिब ४ सय मिटरमा दूरीमा रहेको सो स्थानमा एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । निजसँग सम्पर्कमा आएका केही व्यक्तिहरुको स्वाब परीक्षण गरिसकेको छ भने नतिजा आउन मात्र बाँकी रहेको छ ।

वडा कार्यालयले मणिडों टोल विकास समिति, मणिडों टोल सुधार समिति, मणिडों टोल विपद् प्रतिकार्य समूहसँग मिलेर सो स्थान आसपासका क्षेत्र तीन दिनका लागि सिल गरिएको जनाएको छ । वडाअध्यक्ष इन्द्रमान महर्जनले सो क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गर्नुभयो ।

शंखमूल प्लानिङको पश्चिमपट्टिको बाटो, मणिडों मार्ग, चक्रलालको घर अगाडिको बाटो, सुरेशको पसल अगाडिको बाटो, महालक्ष्मी मार्ट अगाडिको दायाँ र बायाँको बाटो, कौलाछेँ रेस्टुराको बाटो र त्यस क्षेत्रको ५० मिटर वरपर सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्