तेस्रो खेलमा आयरल्यान्डसँग इंग्ल्यान्ड स्तब्ध



लन्डन, (एजेन्सी)
आयरल्यान्डले ३ सय २९ रनको लक्ष्य पार गरेर घरेलु टोली इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ‘वान डे’ मा स्तब्ध पारेको छ।

साउथाम्पटनस्थित एजिस बाउलमा भएको खेलमा आयरल्यान्डको ऐतिहासिक जितमा पउल स्टिरलिङको शतक कारक बनेको हो। उनले १ सय २८ बलमा १ सय ४२ रनको योगदान दिएका थिए। त्यस्तै, कप्तान एन्ड्रयु बाल्बिर्नीले १ सय १२ बलमा १ सय १३ रन जोडेका थिए भने उनीहरूले दोस्रो विकेटका लागि २ सय १४ रनको साझेदारी गरेका थिए।

स्टिरलिङ जितका लागि ६५ रनको आवश्यक हुँदा रनआउट भएका थिए। बालबिर्नी पनि तेस्रो विकेटका रूपमा पतन भएपछि ५० रनको आवश्यक थियो। तर, केभिन ओ ब्रायन (२१) र हेरी टेक्टर (२९) ले अविजित ५० रनको साझेदारी गर्दै आयरल्यान्डलाई ७ विकेटको जित दिलाएका थिए। तर, सिरिज भने यसअघि २–० को अग्रतासँगै इंग्ल्यान्डले जितिसकेको थियो।

जेम्स भिन्सले स्टिरलिङलाई ९५ र १ सय ३९ रनमा क्याच ड्रप गरेका थिए। टम बान्टनले टेक्टरलाई १९ रनमा आउट गर्न चुकेका थिए। खेलमा इंग्ल्यान्डका बलरहरूले केही वाइड र नो बल फ्याँकेका थिए।
यो आयरल्यान्डको ओडीआई इतिहासमा दोस्रोपटक ठूलो लक्ष्य भेटाएको अवसर हो। यसअघि विश्वकप २०११ मा बंगलादेशमा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध नै ठूलो लक्ष्य पार गरेको थियो। त्यतिबेला ओब्रायानले १ सय १३ रनको योगदान दिएका थिए।

यसअघि इंग्ल्यान्डका कप्तान आयन मोर्गानले १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए। उनको सहयोगमा इंग्ल्यान्डले ३ सय २८ रनको ठूलो योगफल बनाएको थियो। उनी सो योगफलमा सन्तुष्ट भने थिएनन्। उनले खेलपछि भनेका थिए कि टोली ३ सय ६० या ३ सय ७० रनको योगफलमा पुग्न सक्ने थियो।

मोर्गन सर्वाधिक छक्का प्रहारकर्ता कप्तान 
ईयन मोर्गन अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने कप्तान बनेका छन्। उनले कप्तानका रूपमा आफ्नो छक्का संख्या २ सय १५ पु¥याएका छन्। मंगलबार आयरल्यान्डविरुद्धको तेस्रो ‘वान डे’मा इंग्लिस टिमका कप्तान मोर्गनले उक्त उपलब्धि हासिल गरेका हुन्।

मोर्गनले आयरल्यान्डसँगको खेलमा ४ छक्का प्रहर गर्दै भारतका महेन्द्र सिंह धोनीलाई पछि पारेका हुन्। सअघि धोनी र मोर्गनको छक्का संख्या समान २ सय ११ थियो।  मोर्गनले १ सय ६३ खेलमा २ सय १५ छक्का प्रहारको रेकर्ड बनाएका हुन्। धोनीको नाममा भने ३ सय ३२ खेलमा २ सय ११ छक्का प्रहार रहेको छ।

मोर्गनले आयरल्यान्डसँगको खेलमा ७८ बलमा शतक बनाएका थिए। उनले पेभिलियन फर्किनुअघि ८४ बलमा १ सय ६ रनको इनिङ खेलेका थिए। यो इनिङमा उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए। मोर्गनको कप्तानीमा इंग्ल्यान्डले सन् २०१० मा पहिलोपटक आईसीसी टी–२० विश्वकपको उपाधिसमेत उचालेको थियो।

कप्तानको भूमिकामा सबैभन्दा बढी छक्का प्रहार गर्ने सूचीमा अस्ट्रेलियाका रिकी पोन्टिङ तेस्रो नम्बरमा छन्। उनले अस्ट्रेलियाका लागि तीनवटै ढाँचामा गरी कुल ३ सय २४ खेलमा कप्तानी गर्ने क्रममा १ सय ७१ छक्का प्रहार गरेका छन्। त्यस्तै, न्युजिल्यान्डका ब्रेन्डन म्याककुलम १ सय ७० छक्कासहित चौथो तथा दक्षिण अफ्रिकाका एबी डिभिलियर्स १ सय ३५ छक्काका साथ पाँचौं स्थानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्