कोरोनामुक्त घोषणा गरे पनि संक्रमणको खतरा उस्तै



नेपाल समाचारपत्र, पाल्पा
गत सोमबारदेखि पाल्पा जिल्लालार्इंं कोरोनामुक्त जिल्लाका रूपमा घोषणा गरिएको भए पनि संक्रमणको खतरा भने टरेको छैन । गएको जेठ १७ गते पहिलोपटक कोरोना संक्रमित देखिएको पाल्पा दुुई महिनापछि कोरोनामुक्त बनेको हो ।
यसअघि ५ सयभन्दा बढी संक्रमित देखिएकाले पाल्पा रेड जोनमा थियो । जिल्लाका पीसीआर परीक्षण गर्दा कुल ५ सय ६१ संक्रमित देखिएका थिए भने यसमध्ये पूर्वखोलाका एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने रोगमुक्त भनेर घर गएका रम्भा गाउँपालिकाका एक युवाले आत्महत्या गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले कोरोना संक्रमित भएर आइसोलेसनमा रहेका ५ सय ६० जना सबै कोरोना संक्रमित निको भएर घर फर्किएसँगै पाल्पा कोरोनामुक्त बनेको जानकारी दिनुभयो ।
जिल्लामा ३ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये ५ सय १५ जना पुरुष र ४६ जना महिला रहेका छन् । जिल्लामा अहिले नयाँ संक्रमित नदेखिएकाले पाल्पा संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताउनुभयो । यद्यपि एकपटक कोरोना पुष्टि भएकाको दोस्रो पीसीआर नगरी १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार १४ दिनसम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितहरूलाई घर पठाइएको कार्यालयको भनाइ छ । यस अघि पहिलो पिसीआर पोजेटिभ आएपछि आइसोलेसनमा राख्ने र दोस्रो पीसीआर गरी दोस्रोमा नेगेटिभ भए मात्रै घर पठाउने गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको माथागढीमा ३० जना, रामपुरमा १ सय १७ जना, पूर्वखोलामा १ सय ५९ जना, रैनादेवी छहरामा ३९ जना, रम्भामा ४४ जना संक्रमित भएका थिए । यस्तै बगनासकालीमा ४२ जना, तिनाउमा ८ जना, रिब्दीकोटमा ५ जना, निस्दीमा ९९ जना, तानसेनमा १४ जना संक्रमित भएका थिए । जिल्लाबाहिरका भए पनि पाल्पामै उपचार रहेका गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्रास भने कायमै
पछिल्लोपटक पीसीआर विधिबाट कोरोना जाँचै नगरेर संक्रमितहरूलाई घर पठाउन थालिएपछि स्थानीयमा कोरोना संक्रमणको त्रास बढेको छ । एकातर्फ जिल्ला कोरोनामुक्त भनिनु अर्काेतर्फ घर फर्किएका संक्रमितमध्ये धेरै जनाको परीक्षण नगरी पठाइएकाले कतै उनीहरूमा संक्रमण पूरा निको नभइसकेको भए समुदायमा फैलिने हो कि भन्ने त्रास उब्जाएको नागरिकको गुनासो छ ।
त्यसो त जिल्ला कोरोनामुक्त भनेर प्रचार गरिँदा मानिस निस्फिक्री हुने र बेवास्ता गर्ने हुनाले त्रास झनै बढ्दा क्रममा छ । पछिल्लो समय प्रशासनले सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गराउने प्रयास जारी गरे पनि त्यसको बेवास्ता गर्ने अटेर गर्ने क्रम भने घटेको छैन । स्वास्थ्य मापदण्ड बेवास्ता गर्ने, काम नपरीकन पनि घरबाट निस्कने भीडभाड गर्ने क्रम बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्