सुनको मूल्य लाख नाघ्यो, कारोबार भने ठप्प



नेपाल समाचारपत्र, काठमाडौं
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार सुनको भाउ एक लाख रुपियाँ नाघेसँगै नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक भएको हो । त्यसो त सात–आठ महिनायता सुनको मूल्यवृद्धि भई हरेक दिन ऐतिहासिक मूल्य कायम हुँदै आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुनको मूल्य एक लाख एक हजार चार सय रुपियाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार छ सय रुपियाँले वृद्धि भएको हो ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख नौ सय रुपियाँ भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य ६५ रुपियाँले बढेर प्रतितोला एक हजार २९५ रुपियाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५५ अमेरिकी डलर कायम भएको छ । त्यस्तै चाँदी प्रतिऔंस २५ दशमलव ९६ अमेरिकी डलर रहेको छ । सन् २०१९ को अन्त्यतिरबाट सुनको मूल्यमा उच्च वृद्धि हुन थालेको थियो । दैनिकजसो वृद्धि भएको सुन लकडाउनका बेला मूल्य निर्धारण रोकिएको थियो । तर, लकडाउन खुकुलो हुँदै गएपछि करिब साढे दुई महिनापछि अर्थात जेठ २५ गते नेपाली बजारमा सुनको नयाँ मूल्य तय भएको थियो । त्यतिखेर तोलामा १० हजार ४ सय रुपियाँले बढेर प्रतितोला ८७ हजार रुपियाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर वृद्धि हुँदै आएको छ ।
हरेक दिन सुनको मूल्यवृद्धि भए पनि व्यवसायीलाई भने हर्ष न विष्मातको स्थिति सिर्जना भएको छ । मूल्यवृद्धि अनुसार कारोबार नभएपछि व्यवसायीहरूलाई भाउ बढ्दा खुशी बनाएको छैन । सुनको भाउ उच्च भएपछि सुन खरिद गर्ने ग्राहक भेटिन मुश्किल भएको छ ।
बजारमा सुन खरिद गर्नेको तुलनामा बिक्री गर्नेको संख्या बढ्न थालेको व्यवसायीहरूले बताएका छन् । सुनको मूल्य हरेक दिन बढ्न थालेको अवस्थामा किन्ने ग्राहक घट्न जा“दा बेच्नेको संख्या बढी हुन थालेको हो ।
कोरोना महामारीका कारण व्यवसायमा आएको मन्दी र उच्च मूल्यले गर्दा ग्राहक आउन छोडेपछि धमाधम साना सुन पसलहरू बन्द हुन थालेका छन् । सुनको मुख्यबजार न्युरोड, इन्द्रचोक क्षेत्रका पसल अहिले जेनतेन चलिरहेका छन् । तर, छेउछाउका दर्जनौं पसल बन्द भएको एक व्यवसायीले नेपाल समाचारपत्रसँग बताए । उनले भने–‘साना पसल बन्द हुँदा हामीलाई समेत असर गरेको छ ।’

राजधानीबाहेक अन्य जिल्लामा पनि सुनको कारोबार ठप्प प्रायः रहेको व्यवसायीको गुनासो छ । लकडाउन र उच्च मूल्यका कारण कारोबार शून्य भएपछि व्यवसायीहरू पलायन हुने स्थितिमा पुगेका छन् । विगतमा नेपाली बजारमा दैनिक २५ किलोसम्मको माग हुन गरेको अहिले अत्यान्तै न्यूनमात्रै खपत हुने गरेको बजारमा सुन बिक्न छोडेपछि बैंकमा नै थुप्रिएको अवस्था छ ,

कोभिड–१९ का कारण खानीबाट सुन निकाल्न कम हुनुका साथै अन्तर्राष्ट्रिय बजारमा डलर सञ्चिती घटाएर सुन सञ्चिती बढेपछि सुनको मागमा वृद्धि भएको बताइएको छ । सुनको मूल्य सन् २०२१ को मध्यसम्म वृद्धि हुनसक्ने अनुमान गरिएको छ । अहिले नै एक लाख रुपियाँ तोला पुगेको सुन पाँच–सात महिनापछि कहाँ पुग्ला ? अनुमान गर्न नसकिने व्यवसायीले बताए । यदी, सुनको मूल्य एक रुपियाँभन्दा धेरैमाथि गयो भने कारोबार बन्द गरेर बस्नुको विकल्प नभएको उनले बताए । पछिल्लो सात–आठ महिनामा सुनको भाउ ३० हजार रुपियाँभन्दा बढीले वृद्धि भएको छ । पहिला भूकम्पका कारण थला परेको सुन व्यवसाय अहिले चर्को मूल्यका कारण थला पर्ने स्थितिमा पुगेको व्यवसायीहरूको भनाइ छ ।
लगानीकर्ताहरूले डलरलाई भन्दा बढी सुनमाथि विश्वास गर्दा सुनको माग बढेको छ । एकतातिर अन्तर्राष्ट्रिय बजारमा सुनको सञ्चिति बढ्दा माग पनि बढेको छ । तर, आपूर्ति कम हुँदा मूल्य उच्च भएको विज्ञहरूको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस्