कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३



नेपाल समाचारपत्र, काठमाडौं

बलम्वुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित महिलाको केही बुधबार साँझ मृत्यु भएको छ ।

सर्लाहीको मलंगवाकी ६५ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र स्क्रबटाइफस भएपछि उपचारका लागि काठमाडौंको मनमोहन अस्पतालमा ल्याइएकोमा सो अस्पतालले ती वृद्धालाई साउन १६ गते कोरोना संक्रमण देखिएपछि कोरोना अस्पताल बलम्वु पठाएको थियो ।

उनको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

त्यसै गरी बुधबार पर्सामा २ जना र मोरङमा २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ६३ पुगेको छ । पर्सामा भिश्वाका ४६ वर्षीय पुरुष र पोखरियाका १८ वर्षीया युवतीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यसै गरी मोरङमा विराटनगरको आइसोलेसनमा रहेका विराटनगरका एक पुरुष र रंगेली नगरपालिका–१ दर्बेसाका ४५ वर्षीय पुरुषको निधन भएको कोसी अस्पतालले जानकारी दिएको छ ।

नेपालमा बुधबार ३ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ भने उपचारपछि १५ हजारभन्दा बढी घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्