सिद्धार्थनगर सिटी साइक्लिङ च्याम्पियनसिप हुने



भैरहवा, (नेस) । 

भैरहवामा आउँदो शनिबार साइक्लिङ च्याम्पियनसिप हुने भएको छ। भैरहवाबाट प्रकाशित न्युज ओके पत्रिकाको पा“चौं वर्ष प्रवेशको अवसरमा सिद्धार्थनगर सिटी साइक्लिङ च्याम्पियनसिप २०७७ आयोजना हुन लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।

रूपन्देहीको सिद्धार्थनगर क्षेत्रलाई खेल पर्यटनको माध्यमबाट पनि चिनाउने उद्देश्यले साइकल दौड आयोजना गर्न लागिएको न्युज ओके पत्रिकाका प्रकाशन गृह पोर्ट मिडिया प्रालिका अध्यक्ष विमल सेन्चुरीले बताएका छन्। साइकल दौड मानवीय स्वास्थ्य तथा वातावरणका कारणले पनि राम्रो रहेकोले साइक्लिङ च्याम्पियनसिप आफैमा उत्कृष्ट प्रतियोगिता भएको बताउनु भएको छ।

४० किलोमिटरको दूरीमा राखिएको साइकल दौड प्रतियोगिता सिद्धार्थनगरबाट शुरू भई रोहिणी गाउँपालिका, ओम सतिया गाउ“पालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र मायादेवी गाउँपालिका हु“दै पुनः सिद्धार्थनगरमा आई अन्त्य हुनेछ। दौड धेरै लामो भएकोले सबै प्रकारका साइकल प्रयोग गर्न पाइने छैन। प्रतियोगिताको दूरी लामो भएको र प्रतिस्पर्धात्मक भएकाले माउन्टेन बाइक साइकल चलाउन सकिनेछ।

भैरहवा क्षेत्रका साथसाथै छिमेकी नगर तथा गाउँपालिकाका साइक्लिस्टहरू सहभागी हुन पाउने अध्यक्ष सेन्चुरीले जानकारी दिएका छन्। दुई प्याटनमा आयोजना हुने उक्त दौडमा ४५ वर्ष मुनिका उमेर समूह र ४५ वर्ष माथिका उमेर समूहका व्यक्तिलाई समावेश गरिने पोर्ट मिडियाका प्रबन्ध निर्देशक विक्रम मल्लले बताए छन्।

दौडमा प्राविधिक सहयोगमा साइकल सिटी भैरहवा रहेको छ। साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य सारू मगरले दौडको माध्यमबाट खेल तथा पर्यटनको क्षेत्रमा सिद्धार्थनगरको पहिचान बढाउनुका साथै साइकल चलाउन सबैलाई आकर्षण गराउनसमेत यस्ता प्रतियोगिता आयोजना हुनुपर्नेमा सारु मगरले जोड दिनुभयो।

कम्तीमा ५० जनाको सहभागिता रहने उक्त दौडमा दुवै उमेरगत समूहका विजेतालाई नगद पुुरस्कार र ट्रफीले सम्मान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्