जाजरकोटमा पहिरोले पुरिएर एक गम्भीर घाइते



बासुदेव शर्मा,जाजरकोट ।

कामको सिलसिलामा जाजरकोट सदरमुकाम खलंगा आउँदै गर्दा बाटोमा हिँड्ने क्रममा एक्कासी माथीबाट आएको पहिरोमा परी एक युवती गम्भीर घाईते भएकी छन् । बारेकोट गाउँपालिका ९ की खिम वहादुर विसीकी २२ बर्षीय छोरी टिका विसी पहिरोमा परी गम्भीर घाईते भएकी छन् ।

बारेकोट गाउँपालिका ९ घर भएकी टिका बिसी कामको सिलसिलामा जाजरकोट सदरमुकाम खलंगा आउँदै गर्दा नलगाड नगरपालिका ५ को गेरेरी भिर नजिकै सुख्खा पहिरो खस्दा टाउकोमा गम्भीर चोट लागेको छ । गम्भीर घाईते अवस्थामा भएकी टिकालाई उनीसंगै आएका आफन्त र इलाका प्रहरी कार्यालय दल्लीबाट गएको प्रहरी टोलीलेउपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याउका थिए ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा प्राथमिक उपचार गरी निकै अवस्था गम्भीर भएकोले थप उपचारको लागि हेलिकोप्टरबाट सुर्खेत पठाईएको छ । बारेकोट गाउँपालिकाको खर्चमा माउन्टेन एयरको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

घाईते युवतीको अवस्था जोखिमपूर्ण भएकोले बारेकोट गाउँपालिकाले २ लाख ७५ हजार रुपैयाँमा हेलिकोप्टरबाट चार्टर गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको लागि सुर्खेत लगिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बताउनु भयो । टाउकोमा चोट लागेर गम्भीर घाईते युवतीको अझै होस खुल्न नसकेकोले अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्