धुलिखेल स्वस्थ शहर बनाइँदै : पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा



मोतीराम तिमल्सिना,काभ्रे ।

सहस्राव्दी विकास लक्ष्य अनुसार नेपालमै पहिलो पटक स्थानीय सरकारहरु मध्ये धुलिखेल नगरपालिकाले स्वस्थ शहर बनाउने अभियान शुरु गरेको छ । पालिका स्तरबाट नगरपालिकालाई स्वस्थ शहर बनाउने अभियान शुरु गर्ने धुलिखेल पहिलो नगरपालिका हो । ‘नागरिकहरुका स्वास्थ्यसँग सम्वन्धित हरेक अधिकारहरु पुरा गर्दै जाने अभियान शुरु भएको छ’– नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘हरेक नागरिकहरु स्वास्थ्यको पहुँचमा पुग्ने आधार तयार गरी स्वस्थ रहने गरी तयारी शुरु गरिएको छ ।

स्वस्थ शहर निर्माणका लागि कार्ययोजना सहित कार्य गरिएको छ ।’ तीन वर्ष अघि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरे पनि हरेक वर्ष त्यसको सुनिश्चित गर्नु पर्ने प्रावधान छ । धुलिखेल नगरपालिकाले आईतबार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरेको छ ।

पूर्ण खोप नगरपालिका घोषणा गर्न १५ महिना भित्रका बालबालिकाहरु सबैले नेपाल सरकारले तोकेको राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड पुरा गरेको हुनु पर्छ । १६–२३ महिनाका बालबालिकाहरुमा ६ महिना भित्र त्यसको सर्वेक्षण गरी मापदण्ड अनुसार भए नभएको पुष्टी भए पछि मात्रै पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्न सकिन्छ ।

धुलिखेल नगरपालिका भित्रका १२ वटा वडाका सबै बालबालिकाहरुले समयमै खोप लगाएको घरघरकै तथ्याङ्क संकलन भए सँगै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनु भयो । स्वस्थ शहर हुन नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नु पर्ने, स्वस्थ आहार, फोहोरमैला ब्यवस्थापन, सबै नागरिकहरुको स्वास्थ्यमा पहुँच, रोग लागिसकेपछिको उपचारसँगै लाग्नै नदिने कार्यक्रम, अपाङ्गता भएका, शारिरिक, मानसिक र आर्थिक रुपमा कमजोर भएकाहरुलाई सहज पहुँच, विद्यालय तह क्याम्पस तहमा युवाहरुलाई स्वास्थ्य सम्वन्धी सूचनामुलक कार्यक्रम, घरेलु तथा स्थानीय पहिचान भएका स्वास्थ्यसँग विषयलाई प्राथमिकता लगायतका क्षेत्रहरुलाई ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

‘विश्वस्तरमा स्वास्थ्यका क्षेत्रमा के के भईरहेको छ ? नागरिकहरुलाई त्यहि स्तरमा पु¥याउन स्थानीय तहबाट के के गर्न आवश्यक छ ? के के भईरहेको छ, कसलाई के कुराको आवश्यकता छ ? तथ्याङ्क संकलनका लागि घर घर स्वयंसेवक परिचालन गरिनेछ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘कुन घरमा कस्तो स्वास्थ्य सेवा आवश्यक छ ? त्यसको पहिचान गरिने छ र सेवा उपलब्ध गराईनेछ ।’

धुलिखेल नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था कृयाशिल छन् भने केहि वडाहरुमा विस्तारित स्वास्थ्य चौकी स्थापना गरिएको छ ।
उपप्रमुख विमला शर्माले स्वस्थ शहरका लागि महिला तथा बालबालिका र जेष्ठ नागरिकहरुसँगै दिर्घ रोगीहरुलाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले स्थानीय सरकार आफैले स्वस्थ शहर बनाउने अभियान शुरु गरेको नेपालमै पहिलो धुलिखेल भएको बताउनु भयो ।

विकास भित्र स्वास्थ्य पहिलो प्राथमिकता हो भन्ने सिकाउने र चिनाउने धुलिखेल नगरपालिका भएकोमा स्वस्थ शहर निर्माणका लागि आवश्यक पर्ने पूर्वाधारसँगै जनशक्ति र स्वास्थ्य क्षेत्रको सहयोग उपलब्ध गराउन डा. झाले प्रतिवद्धता ब्यक्त गर्नु भयो । धुलिखेल सामुदायिक अस्पतालका सामुदाकिय विकास विभागका प्रमुख डा. डा. विराज कर्माचार्यले समुदाय स्तरमा गएर दिईने सेवा प्रभावकारी हुने भएकाले धुलिखेल नगरपालिकाले शुरु गरेको धुलिखेल स्वस्थ शहर बनाउने अभियानमा अस्पतालको तर्फबाट पूर्ण सहयोग रहने बताउनु भयो ।

मानसिक रोग सम्वन्धी काम गर्ने संस्था सिएमसी नेपालका डा. पशुपति महतले ब्यक्तिको शरिर ठिक भए पनि मानसिक रुपमा ठिन नहुँदासम्म पूर्ण स्वस्थ हुन नसक्ने भएकाले यो कार्यक्रम मार्फत मानसिक रुपमा सबै नागरिकहरुलाई स्वस्थ बनाउने सहयोग पु¥याउने बताउनु भयो ।

धुलिखेल नगरपालिकाका योजना परिषद्का उपाध्यक्ष दीर्घराज श्रेष्ठले सबै उमेर समुहका ब्यक्तिहरुका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवृद्धन गर्न स्वस्थ शहर अभियान प्रभावकारी बनाउनु पर्ने बताउनु भयो । शारिरिक, मानसिक र सामाजिक तवरले पूर्ण स्वस्थ भएको ब्यक्तिलाई मात्रै स्वस्थ रहेको मान्न सकिने भएकाले त्यस्तो नागरिक तयार गर्न नगरपालिकाले शुरु गरेको अभियानले सहस्राव्दी विकासको लक्ष्य पुरा गर्न सहज हुने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले सबै क्षेत्रको सहयोगमा नगरपालिकालाई स्वस्थ शहर बनाईने बताउनु भयो । कृषि, पशुपालन, पूर्वाधारको विकास तथा अन्य विकास र लक्ष्यलाई स्वास्थ्यसँग जोडेर गरिने कार्यक्रमबाट मात्रै अभियान सफल हुने केसीले बताउनु भयो । वडा अध्यक्ष एवं नगरपालिकाका सामािजक विकास समिति सयोजक विष्णु काभ्रेलीले नगरका सबै वडाहरुमा स्वास्थ्य सेवामा नागरिकहरुको पुहँच पुगेको बताउनु भयो ।

अस्पतालसँगै स्वास्थ्य संस्थाहरु, नगरपालिकामा थप ल्यावको ब्यवस्थापन र डाईलोसिसको तयारीले नागरिकहरुको स्वास्थ्यमा पहुँच बढेको उहाँले बताउनु भयो । नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य विमा गर्ने यस अघि नै निर्णय गरिसकेको छ । कार्यक्रममा स्वास्थ्य शाखाका सरोज थापाले स्वस्थ शहरको अभियानले नगर क्षेत्रका अन्य विकासहरुलाई समेत थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्