चलचित्रमा कोरोनाको असर



नोवेल कोरोना भाइरस संक्रमणबाट हुने कोभिड १९ का कारण विश्वभर आतंक मच्चिएको छ। कोरोना संक्रमणले हरेकजसो देशलाई त्राहीमाम बनाइरहेको छ।

चीनको उहानबाट शुरु भएको यो संक्रमणले अहिलेसम्म विश्वका सबैजसो देशमा आतंक मच्चाइरहेको छ। एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने यो संक्रमण नेपालमा गत चैत महिनामा प्रस्टरुपमा देखिएपछि सरकारले त्यसको जोखिमलाई ध्यानमा राखी देशभर लकडाउन लगाएको थियो, जुन आजपर्यन्त जारी छ। चैतको दोस्रो साता एक महिलामा कोरोना संक्रमण देखिएको थियो। त्यसबाहेक त्यसअघि नै एक पुरुष कोरोना संक्रमण भई निको भएको जानकारीमा आएको छ।

कोरोना संक्रमणको असर अन्य देशको तुलनामा नेपालमा धेरै पछि मात्र देखिन पुगेको हो। केही समययता आएर यो दिनप्रतिदिन बढिरहेको छ। यस बेलामा पनि सरकारले कोरोना परीक्षणलाई तदारुकताका साथ अगाडि बढाउन सकेको छैन, जसका कारण कोरोना संक्रमितको पहिचान हुन नसकेको विज्ञहरुले बताउँदै आएका छन्। सरकारले लकडान लगाए पनि लकडाउनको समयमा अपनाइनुपर्ने सावधानी र तयारी गर्न सकेको छैन। लकडाउन लगाउनुको अर्थ हो जोखिमको आकलन गर्नु, परीक्षण गर्नु र संक्रमित देखिए उनीहरुको उपचारका लागि आवश्यक तयारी गर्नु, संक्रमितहरुलाई राख्ने क्वोरन्टाइन तथा आइसुलेसनस्थल तयार पार्नु। तर सरकार आफैमा अल्मलिएको छ। सरकारले हालसम्म कोरोना संक्रमण र यसको असरलाई गम्भीररुपले लिएको छैन।

हालसम्म कुनै औषधी तथा खोप बनिनसकेकाले यसप्रति सबैले सतर्क र सजग हुनु जरुरी छ। कोरोनाको जोखिम र यसका कारण लगाइएको लकडाउनका कारण विश्वभरका मनोरञ्जन गृहहरु बन्द छन्। नेपालमा पनि अहिले सबै हल बन्द गरिएका छन्। नेपालमा कोरोना संक्रमण देखिएपछि लगाइएको लकडाउनको असर सबैतिर परेको छ। भिडभाड जम्मा नगरी व्यवसाय नहुने चलचित्र जगत्मा पनि यसको ठूलो असर परेको छ। गाँस बास र कपासपछि अन्तिम प्राथमिकतामा मात्रै पर्ने मनोरञ्जन क्षेत्र कोरोना संक्रमण र यसका कारण लगाइएको लकडाउनका कारण अझ बढी प्रभावित बन्न पुगेको छ। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि लगाइएको लकडाउनका कारण नेपाली चलचित्र तथा कलाक्षेत्रमा संलग्न कलाकर्मी एवं प्राविधिकहरू अत्यन्त प्रभावित भएका छन्। लकडाउनपछि कला र चलचित्रसम्बन्धी सम्पूर्ण कार्य स्थगित भएका कारण त्यससँग सम्बन्धित कलाकर्मी र फिल्मकर्मीहरू प्रभावित भएका छन्।

यस कठिन र असहज परिस्थितिमा कलाकर्मीहरुले सहयोगी हात अगाडि बढाएका छन्। यो देशलाई कुनै प्रकारको संकट पर्दा अग्रपंक्तिमा आउन तयार रहेका केही कलाकर्मीहरुले यो अप्ठ्यारो र कठिन अवस्थामा आफू रहेको समाज र लकडाउनका कारण बेरोजगार हुन पुगेका तथा अन्य समस्यासँग जुधिरहेका मानिसका लागि सहयोगी हात अगाडि बढाएका छन्। कतिपय कलाकर्मी र फिल्मकर्मीले राहत उपलब्ध गराएका छन् भने कतिपयले नगदको व्यवस्था मिलाएका छन्। कतिपय कलाकर्मीहरु छाडा छोडिएका जनावरलाई खानपान गराउन अगाडि बढेका छन्। दुःख र संकटको घडीमा यो सुखद विषय बनेको छ।

आम नागरिकजस्तै कलाकर्मी र फिल्मकर्मीहरुले लकडाउनको यो समयलाई परिवारसँग बिताउने समयका रुपमा लिएको पाइएको छ। यससँगै यो समयलाई सिर्जनाको समयका रुपमा पनि कतिपयले अंगीकार गरेका छन्। यो आगामी दिनको चलचित्र र कलाक्षेत्रका लागि उपयोगी एवं उपलब्धिमूलक हुन सक्नेछ। कोरोना संक्रमण र यसका कारण लगाइएको लकडाउनले जसरी सबै क्षेत्रमा असर परेको छ, यस्तै प्रभाव नेपाली सञ्चारमाध्यममा पनि पारेको छ। कामनाका पाठकहरुका लागि यो समयमा पनि मनोरञ्जन तथा मनोरञ्जनकर्मीबारेका सामग्री लगाताररुपमा पस्कन आफ्नो प्रकाशनलाई नियमित गरेको छ। देशभर जारी लकडाउनको प्रभावका कारण साबिकभन्दा केही पृष्ठ घटाएर प्रकाशित गर्नु परेकामा भने पाठकहरुसँग मागी माग्न बाध्य भएका छौं। असहज परिस्थितिका कारण पृष्ठ घटाएसँगै सोहीअनुसार मूल्य पनि समायोजना गरिएको छ।

अन्त्यमा, विश्वभर आतंक मच्चाइरहेको कोरोना संक्रमणबाट बच्न समय समयमा साबुन पानीले हात धुन, अत्यावश्यक अवस्थाबाहेक घरमै बस्न, बाहिर निस्कनै परे मास्क र सेनिटाइजरको प्रयोग गर्न यहाँहरु सबैमा अनुरोध छ। कोरोनाबाट नडराउनुहोला, सतर्क र सावधान हुनुहोला।

प्रतिक्रिया दिनुहोस्