हल सञ्चालन गर्न छलफलमा छौं: मधुसूदन प्रधान



कोरोना जोखिमका कारण लगाइएको लकडाउन हटाइएसँगै जनजीवन केही सहज देखिए पनि संक्रमितको संख्या बढेकाले जोखिम वृद्धि भएको छ। सार्वजनिक सवारीसाधन, रेष्टुराँलगायतका सार्वजनिक साधन र भीडभाड हुने स्थलहरू खुल्न थालेका छन्। अन्य क्षेत्र खुले पनि सबैभन्दा पहिले बन्द गरिएका र सबैभन्दा पछि खुल्ने अन्तिम प्राथमिकतामा पर्ने मनोरञ्जनस्थल भने खुल्न सकेको छैन। अरू क्षेत्र खुलेको र संक्रमित बढिरहेको यो अवस्थामा फिल्म प्रदर्शन हुन हलहरू अब कहिले खुल्ला? वर्तमान अवस्थामा फिल्म व्यवसाय कसरी अगाडि बढ्ला? यीलगायत फिल्म क्षेत्रका विविध विषयमा फिल्म वितरक र प्रदर्शकहरूको छाता संगठन नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानसँग नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत छ:

अहिलको अवस्थामा हलहरू सञ्चालनमा आउने सम्भावना के छ ?
सरकारले नेपालमा कारोना देखिनुअघि र चीनको उहानबाट विश्वभर संक्रमण फैलनुभन्दा केही पछाडि नै हामीलाई बन्द गर्ने निर्देशन दियो र हामीले बन्द ग¥यौं। भीडभाड हुने कारणले गर्दा सिनेमा हल अरू क्षेत्रभन्दा पहिले नै बन्द र अरू क्षेत्र खुलिसकेपछि मात्र खुला हुन सक्छ। लकडाउन खुलेपछि सहज वातावरण देखिए पनि आजको दिन उपत्यका नै डेन्जर जोनमा परेको छ। लकडाउन खुलेसँगै अरू क्षेत्र खुल्यो, भदौ १ देखि लामो दूरीको यातायात, हवाई सेवासमेत खुल्ने भयो। विश्व स्वास्थ्य संगठनको नियम पालना गरेर अब हाम्रो क्षेत्रलाई पनि चलायमान बनाउनुपर्छ भनेर ३÷४ दिनअघि नेपाल चलचित्र निर्माता संघ र हाम्रो संघबीच चलचित्र विकास बोर्डको रोहवरमा छलफल पनि भयो। हामी सोसल डिसट्यान्स मेन्टन गरेर हल सञ्चालनमा ल्याउन र सुटिङ गर्न सकिएला कि भन्नेमा थियौं। तर, ३÷४ दिनमै कारोनाको प्रभाव भिन्दै देखिएकाले यति खेर भने हामी सचेत र चिन्तित पनि छौं। हेरौं अब के हुन्छ?

अहिले संक्रमित बढिरहेका छन्, यही अवस्थामा हल सञ्चालनमा ल्याउन सकिएला?
यो गम्भीर विषय हो। ३÷४ दिनको अन्तरमै कोरोनाको स्थिति भयावह भएपछि हामी थप गम्भीर भएर छलफल गरिरहेका छौं। डब्ल्यूएचओको नियमअनुसार हलमा ५० पर्सेन्ट दर्शक राखेर स्यानिटेजर, मास्क, ग्लोब्स युज गर्न लगाएर हल सञ्चालन गर्न सकिन्छ भन्नेमा थियौं, स्थिति परिवर्तन भएकाले पर्ख, हेर र जाउ भन्ने सोचमा छौं। कतिपय फिल्मको सुटिङ बिच्चमै रोकिएको अवस्था छ। रिलिजका लागि पब्लिसिटी गरेर रिलिज क्यान्सिल भएका फिल्महरू छन्, नेपालभर करिब २ सय सिनेमा हल छन्। कति सिनेमा हल भाडामा चलाइएको छ, कतिपय हल लोन लिएर निर्माण गरिएको छ, हल सञ्चालनमा नआए पनि विद्युत्को शुल्क लगाइएको छ। यस्तो अवस्थामा धेरै कुरा सोचेर काम गर्नुपर्ने हुन्छ। यस्तोमा छिमेकी भारतले के गरिरहेको छ पनि हेर्नुपर्ने हुन्छ। त्यहाँ अगस्टसम्म हल बन्द छ। यो अवस्थामा हामीले अहिले नै फिल्म हल खोल्नुपर्छ भन्ने छैन, संवेदनशीलतालाई पनि हेनुपर्छ। अहिले हामी बाँचौं र बचाऔं भन्नेमा छौं। यदि सुटिङ गर्दा वा सिनेमा देखाउँदा कुनै किसिमको दुर्घटना भइहाल्यो भने त्यसले यो क्षेत्रलाई अझै धेरै पछाडि धकेल्न सक्छ। अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले सुरक्षा अपनाएर यो क्षेत्रलाई चलायामान बनाउन पहल गर्ने वचन नै दिइसक्नुभएको थियो। तर, स्थिति फेरिएकाले अहिले केही भनिहाल्न सकिने अवस्था भएन। फेरि हामीमात्र तयार भएर पनि हुँदैन, कन्टेन्ट पनि चाहिन्छ, दर्शक पनि आउनु पर्छ। सिनेमा हल भनेको दुई जना भित्र बसेर न्युरोडको सटर खोलेजस्तो चलाएर पनि हुँदैन।

कोरोनाको जोखिम लामो सयमसम्म रहन सक्छ, कोरोनासँगै बाँच्नुपर्ने अवस्था पनि हुन सक्छ। यस्तोमा सावधानी अपनाएरचाहिँ हल खोल्न सकिन्छ?
हामीले सिनेमा चलाउन गाइडलाइन मागिएकाले बाहिर देशमा के गरिएको छ भनेर अध्ययन गरेर बोर्ड र सम्बन्धित मन्त्रलायमा पेस गरेका छौं। प्रत्येक शोपछि हलमा डिसइन्फेक्ट स्पे्र छर्ने, दर्शक हलभित्र प्रवेश गर्नुअघि थर्मल गन प्रयोग गर्ने, स्यानिटाइजर, मास्क, ग्लोब्स प्रयोग गर्न लगाउने, कर्मचारीलाई फेस गार्डसमेत लगाउन लगाउनेजस्ता स्वास्थ्यको हिसाबले सबै सावधानी अपनाएर हल चलाउने नीति बनाएका थियौं। चलचित्र विकास बोर्डले आन्तिरिक स्रोत र साधन प्रयोग गरेर ती स्वास्थ्य सामग्री उपलब्ध गराउने, निर्माताका लागि इन्कोन्डिङदेखि रेडियो र टेलिभिजनबाट गरिने प्रचारप्रसारमा सघाउने भन्ने आश्वासन पनि आइसकेको थियो। तर, हामी मात्र आएर भएन, निर्माता पनि अगाडि आउने वातावरण हुनुपर्छ। यसका लागि छलफल जारी छ, निर्माता, वितरक र हामी गोलमेचमा बसेर निर्णय लिन्छौं।

हल सञ्चालनमा ल्याउन निर्माता या प्रदर्शकमध्ये पहिले को अगाडि बढ्नु पर्ला?
निर्माता, वितरक र प्रदर्शक भनेको यो बिजनेसमा पार्टनर हो। पार्टनरसिपबिना यो व्यवसाय अगाडि बढाउन सकिँदैन। त्यसैले हामीमध्ये कोही एक्लै अगाडि आएर हुँदैन, सँगसँगै आउनुपर्छ। सँगसँगै अगाडि बढेमात्र जस्तोसुकै अवस्थामा पनि यो क्षेत्रलाई चलायमान बनाउन सकिन्छ।

निर्माताहरू यो अवस्थामा फिल्म रिलिज गर्न तयार छन् त?
यसबारे अनौपचारिक कुरा भइरहेको छ। केही निर्माताहरू अहिलेकै अवस्थामा फिल्म रिलिज गर्न पनि तयार छन्। उहाँहरूको ग्यारेन्टी, मिनिमम ग्यारेन्टी, फिक्स अमाउन्ट जस्ता २÷४ वटा कुरा होलान्। यो आपसी समझदारीमा मिलाउन सकिने कुरा हुन्। हलहरूको पनि केही कुरा होलन्। तर, अहिले सबैभन्दा ठूलो कुरा स्वास्थ्य संवेदनशीलता नै हो।

मुनाफामा गरिने व्यापारका लागि स्वास्थ्य सामग्रका लागि सरकारको मुख ताक्न मिल्छ र?
अरू व्यापार र यो व्यापारमा भिन्नता छ। हाम्रो व्यवसायमा जस्तो सरकारले अरू व्यवसायमा तीन थरी शुल्क लिएको छैन। हामीसँग भ्याट, विकास शुल्क र मनोरञ्जन कर गरेर सरकारले तीन थरी करबापत झन्डै ३३÷३४ प्रतिशत कर लिइरहेको छ। यातायात, टिभी, इन्टरनेटजस्तो व्यापारमा यसरी फरक–फरक नाममा थरी–थरी कर लिइएको छैन। हामीले उपकरण आयात गर्दा २.५ प्रतिशत भन्सार तिरे पुग्थ्यो। यसपलिको बजेटले त्यो सुविधा हटाइदिएको मात्र छैन, हामीसँग सुझाव लिइए पनि हल सञ्चालन नगरेको अवस्थामा विद्युत् डिमान्ट चार्ज नलाग्ने, फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा पार्नेजस्ता काम भएका छैनन्। यातायात, पर्यटनजस्तै हामीले पनि राज्यलाई अर्बाैं बुझाएका छौं, ५०औं हजारलाई रोजगारी दिएका छौं, तर महामारीका कारण ४ महिनाभन्दा लामो समयदेखि हाम्रो व्यवसाय पूर्णतः बन्द छ, हामी कसरी अति प्रभावित क्षेत्रमा परनौं? बजेटका लागि हामीले दिएको सुझावमध्ये एउटैको सम्बोधन भएन। यसका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेका छौं, पोजेटिभ एन्सर आएकाले आशावादी छौं। बरु मौद्रिक नीतिले हामीलाई राहत दिएको छ। लोनलाई पुनर्तालिका गर्ने, ब्याज तिर्न नसक्ने अवस्थामा पुरानै धितोबाट २० प्रतिशत पुनर्कर्जा पाउनेजस्ता नीतिले धेरै राहत भएको छ। यसमा निर्माता संघले धेरै सहयोग गरेको छ, बोर्ड पनि त्यतिकै लागिरहेको छ। अध्यक्ष दयाराम दाहाल पुरानो मेकर भएकाले र बुझेकाले सहयोग भएको छ। बोर्ड हाम्रो अभिभावक भएकाले स्वास्थ्य सामग्री सहयोग गर्नुपर्छ भन्ने हाम्रो कुरा हो।

हल सञ्चालन गरिहाले दर्शक आउलान्?
लकडाउनले गर्दा मानिसमा घरमै बसेर फिल्म हेर्ने बानीको विकास भएको छ। नेपाली सिनेमा यति राम्रो भइसकेको रहेछ, नेपाली फिल्म पनि यस्तो हुन थालेछ है भन्ने प्रतिक्रिया आइरहेको छ। मार्ट, असन, रेष्टुराँ, कार्यालय जताततै भीड नै देखिएको छ। यस हिसाबले दर्शक आउनेमा आशावादी छौं। तर, २÷४ दिनयता कोरोना संक्रमित बढिरहेको देख्दा गाह्रो पनि देखिएको छ।

अब हल सञ्चालन हुँदा निर्माता र प्रदर्शकबीच व्यापारमा पहिलेकै जस्तो ५०–५० प्रतिशत नै बाँडफाँड हुन्छ या हेरफेर हुन्छ?
राज्यले हल खोल्दा अकुपेन्सीको ३३ प्रतिशत दर्शकमात्र राख्ने मापण्ड बनाएको थियो, हामीले ५० प्रतिशतका लागि कन्भिन्स गरेका छौं। अर्को कुरा अहिले ५ लाख घाटा सहनु परेकोमा फिल्म चलाएर साढे दुई लाखमात्र घाटा व्यहोरौं भन्ने हो। अहिले नाफा होइन, घाट कम गर्ने बेला हो। त्यसैले ५०–५० मै चलाउने सोच छ। यसबारे निर्माता, वितरक र प्रदर्शक बसेर छलफल गर्छौं।

हल एकपटक लगानी गरेपछि त्यही लगानीबाट सधैं सञ्चालन हुन्छ। त्यस कारण दर्शक नआए पनि हललाई धेरै प्रभाव नपर्ला, सम्पूर्ण जायजेथा लगाएर निर्माण गरेको फिल्मको निर्मातालाई त पूरै मार पर्र्छ नि, होइन र?
फिल्मको लगानी र हलको लगानीमा आकाश–जमिनको छ। हलको स्टाफ, विद्युत्, सरसफाइ जस्ता धेरै खर्च छ। हामीलाई झन् घाटा छ। तर, फिल्म क्षेत्रलाई चलायमान बनाउन हल चलाउने सोच बनाएका हौं। लगानीको हिसाबले हामीले त ५० प्रतिशत बढी नै लिनुपर्ने हुन्छ। तर, पार्टनर बिजनेस भएकाले ५० पर्सेन्टमा चहिरहेका छौं। अहिलेलाई हल खोल्न सकिन्छ या सकिँदैन भन्नेलाई प्राथमिकता दिनुपर्छ।

लकडाउनका कारण बन्द भएका हलले सरकारबाट के–कस्तो सहयोगको अपेक्षा गरेको छ?
हामीले अपेक्षा गरेअनुसार आश्वासन पाएका छौं। केही नभए पनि बजेट प्रस्तुतिमा नसमेटिएकोे आर्थिक ऐनको अति प्रभावित दफा ५३, ५४, ५६, ३२३ मा समेटिनुपर्छ भन्ने हाम्रो माग हो। फिल्म निर्माण राष्ट्रिय प्राथमिकताको उद्योगमा परे पनि प्रदर्शक परेको छैन। त्यसमा पहल गरिरहेका छौं। निर्माण, वितरण र प्रदर्शन समेटिएपछि मात्र फिल्म क्षेत्र पूर्णरूपमा राष्ट्रिय प्राथमिकताको उद्योग हुन्छ। यसमा कुनै एक अंग छुटे अपूरो हुन्छ। भ्याट, विकास शुल्क र मनोरञ्जन कर तिर्ने पनि प्रदर्शक नै हो। फिल्मको मूल्य तोक्ने पनि हल नै हो। त्यस कारण फिल्म क्षेत्रलाई उद्योगको मान्यता दिँदा प्रदर्शक छुट्नै हुँदैन।

 

प्रतिक्रिया दिनुहोस्