सेतीमा दुई स्वास्थ्यकर्मी बेपत्ता



डोटी, (नेस)
डोटीको सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बगेर बेपता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले दुई स्वास्थ्यकर्मी बेपत्ता भएको बताउनुभयो ।

सेती नदीमा बगेर बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उप–क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक विनयबहादुर सिंह र ल्याब असिस्टेन्ट हरि जोशी रहेका छन् ।

जिल्ला सदरमुकाम सिलगढीमा रहेको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शैलेश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर गाउँपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

सेती नदीमा पौडी खेल्न गएका तीन जनामध्ये एक जना पौडी खेलेर बाँच्न सफल भएको र दुई जना बगेर बेपत्ता भएको खबर आएपछि बेपत्ता भएका स्वास्थ्यकर्मीको खोजी कार्यका लागि दिपायलबाट प्रहरी नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सेती नदीमा पौडी खेल्ने क्रममा यो आर्थिक वर्षमा मात्रै ४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्