भक्तपुरमा मतदाताको संख्या एक लाख ७९ हजार चार सय ७० पुग्यो



पुष्कर बुढाथोकी,भक्तपुर ।

पछिल्लो तथ्यांक अनुसार भक्तपुर जिल्लामा मतदाताको संख्या एक लाख ७९ हजार चार सय ७० पुगेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको मतदाता नामवली संकलन तथा अद्याबधि बिवण अनुसार आर्थिक वर्ष २०७६ /७७ मा एक हजार तीन सय ७१ मतदाता थपिएका छन् ।

कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले गत वर्ष महिला ६ सय ७३ र पुरुष ६ सय ९८ गरी कूल एक हजार तीन सय ७१ जना मतदाता थपिएको बताउनुभयो ।

निर्वाचन कार्यालयले गत वर्षको भदौ ८ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम अघि बढाएको थियो । उक्त कार्यक्रम अनुसार भक्तपुरमा जिल्लाबाट बाहिरी जिल्लामा ठाउँ सार्न नौ वटा निवेदन परेको छ ।

त्यस्तै बाहिरी जिल्लाबाट भक्तपुर आउन ३९ जनाले निवेदन दिएका छन् । भक्तपुर जिल्लाभित्रै आन्तरिक अद्यावधिकको लागि भने १८ वटा निवेदन परेको कार्यालयले जनाएको छ । भक्तपुरमा दुई वटा संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रादेशिक निर्वाचन क्षेत्र , ४ नगरपालिका र ३८ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्