पीएसजीले जित्यो सिजनको तेस्रो उपाधि



एजेन्सी ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजीले जारी सिजनमा तेस्रो घरेलु उपाधि जितेको छ ।

पीएसजीले जारी सिजनको फ्रेन्च लिग कपको उपाधि पनि जितेपछि यही सिजन घरेलु तीन प्रतियोगितामा ह्याट्रिक गरेको हो । उक्त प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको फाइनलमा पिएसजीले लियोनलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । सो खेल हेर्नका लागि करिब ५ हजार दर्शकलाई रंगशाला प्रवेशमा अनुमति दिइएको थियो । फ्रान्समा भएको यस सिजनको अन्तिम प्रतियोगिताको फाइनल निर्धारित समयसम्म गोलरहित बराबरीमा टुंगिएको थियो ।

पीएसजीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको लियोनका खेलाडी राफेल अतिरिक्त समयमा रातो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि लियोन १० खेलाडीमा समेटिएको थियो । उनले पीएसजीका डि मारियालाई खराब ट्याकल गरेपछि सोझै रातो कार्ड दर्शन गरेका थिए ।

निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समयमा पनि नतिजा नआएपछि खेलको विजेताको टुङ्गो टाईब्रेकरमार्फत् गरिएको थियो । जहाँ दुवै टोलीबाट सुरुवातका ५–५ वटा पेनाल्टीमा गोलमा परिणत भएका थिए । त्यसपछि भएको सडन डेथ प्रहारमा भने पीएसजीले बाजी मार्‍यो । गोलकिपर केलर नाभासले लियोनका बट्रेड ट्रेयरको प्रहार गरेको छैटौं पेनाल्टीमा रोकेका थिए । त्यसपछि पीएसजीका लागि पाब्लो सराबियाले गोल गरेपछि खेल पीएसजीले ६–५ ले जित्यो ।

यसअघि पनि पीएसजीले सेन्ट इटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो । यो सिजन पीएसजीले लिग वान, फ्रेन्च कप र लिग कप गरी तीन उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्