पाचन क्षमता बढाउने उपाय



– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक)

कतिपय खानेकुरा पाचनअंगका लागि बोझिला हुन्छन् । चिल्लोयुक्त, मरमसलायुक्त, माछामासु, गेडागुडी, काँचो खानाहरु पच्न कठिन हुन्छ । कतिपयलाई चाहिँ अरुका निम्ति पच्न सहज देखिने खाना पनि अपच हुन्छ । पाचन प्रणालीको यस्तो समस्या धेरै व्यक्तिलाई भएको पाइन्छ । विविध कारणले पाचनअंगमा असर पारेमा अपचको समस्या आउँछ ।

 

लक्षण र जटिलताहरु

अलि–अलि अपच छ भने डराउनुपर्दैन । अपच धेरै छ भने प्रायः पातलो वा गिलो दिसा आउने, पेट कराउने, ढुस्स भैरहने, फुल्ने, वायु बढ्ने, धेरैपटक दिसा जान मन लाग्ने हुन्छ । यसरी नै पेट गह्रुङ्गो हुने, दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, पेट डम्म भएर घन्टौंसम्म खाएको कुरा नसरेको अनुभव हुने, पेटमा च्वास्सचुस्स घोच्ने, दिसा हेर्दा कतिपय नपचेरै निस्केको देखिन्छ भने कतिपयलाई सोझै आँखाले नदेखिए पनि दिसा जँचाएमा प्रस्टसँग नपचेको खाना देखिन्छ ।

अपचले जीउ शीथिल हुने, शरीरमा कमजोरी र आलस्यता बढ्ने हुन्छ । लामो समय अपच भएको व्यक्ति दुब्लो पातलो र कमजोर देखिन्छ अनि उसमा हातगोडा गल्ने, मांसपेशी बाउँडिने, थकान र आलस्यताको अनुभव हुनेसमेत हुन्छ । यसका साथै दीर्घकालीन रोगमा श्वासको दुर्गन्ध, जिब्रोमा सेतो हल्का पहेँलो वा खैरो बाक्लो लेउ टाँसिएको झैँ देखिने, आँखावरपर कालो घेरा (डार्क सर्कल) आउने, अनुहारमा स्वाभाविक चमक नदेखिने, तौल घट्ने जस्ता लक्षणहरु पनि देखिन सक्छन् ।

लामो समय अपच भएको व्यक्ति दुब्लो पातलो र कमजोर देखिन्छ अनि उसमा हातगोडा गल्ने, मांसपेशी बाउँडिने, थकान र आलस्यताको अनुभव हुनेसमेत हुन्छ ।

अपचमा विचार नगरी बढी खाँदा तीव्र पखाला, झुसिलो (गन्हाउने) डकार, सास फेर्न कठिनाइ एवं उकुसमुकुस, घाँटी र छातीमा केही अड्किएको अनुभव, वान्ता, ग्यास्टिकको समस्या आदि हुन्छ । दीर्घकालीन अपचका कारण ज्यादै खतरनाक समस्या उत्पन्न त हुँदैन तथापि तनाव, कुपोषण र रक्तअल्पताजस्ता जटिलताहरु आउन सक्छन् ।

 

अपचका कारणहरु

पाचन–क्षमताभन्दा बढी खानु, पाचन प्रक्रियालाई अवरोध पुर्‍याउने क्रियाकलाप गर्नु, एउटा नपच्दै अर्को खाना खानु आदि कारणले पाचन प्रणाली र यसको कार्यमा नकारात्मक प्रभाव पर्न जान्छ र अपचको समस्या जन्मिन्छ ।

बारम्बार वा लगातार र बढी मात्रामा बढीे चिल्लो, पिरो, अमिलो, तारेको–भुटेको, मरमसला धेरै हालेर पकाएको खानपानले पाचनक्षमता ह्रास हुन्छ । यसरी नै हतारिएर राम्ररी नचपाईकन खाने, धेरै कुरा मिसाएर खाने, विपरीत गुण र काम गर्ने खालका खाने, खाँदा गफ गर्ने, मोबाइल वा टेलिभिजन हेर्दै खाना खाने, खाने क्रियामा ध्यान केन्द्रित नगर्ने, खानासँगै बढी पानी पिउने, खाएलगत्तै बढी दौडने/उफ्रने काम वा व्यायामहरु गर्ने, खानासाथ सुत्ने आदि अनेक गलत व्यवहारहरु अपचका लागि जिम्मेवार मानिन्छन् ।

पचाउने मुख्य ग्रन्थि कलेजोलगायत आमाशय र आन्द्राहरुको कार्यक्षमता घट्ने, जिआर्डियासिस, अमिबियासिस, जुका, चुर्ना आदि परजीवीको संक्रमण, कमलपित्त, टाइफाइड आदिजस्ता रोगका कारण पनि अपच देखा पर्छ । राम्ररी सफा नगरेको खाना, प्रदूषित पानी आदिले समेत अपच हुन्छ ।

 

अपच हटाउने सरल उपायहरु

खाना खाने बानीमा सुधार : ठीक समयमा मात्र खाने, खाना खाँदा नबोलीकन, धेरैबेर चपाएर खाने गर्नुपर्छ । अपच हुने व्यक्तिले थोरै, हलुका वा आफ्नो पेटले पचाउन सक्ने खालको खानपान गर्नुपर्छ । अपच बढी छ भने माछा, मासु, अण्डा, चिल्लो, गेडागुडीहरु, काँचो कुराहरु नखानु ठीक हुन्छ ।

पाचन ग्रन्थि र अंगलाई असर पर्ने खालका चिया, कफी, चिसो पेयहरु सेवन नगर्नुहोस् । साथै धूमपान एवं मद्यपान नगर्नुहोस् । रसायनयुक्त पानमसलाहरुको प्रयोगले पनि पाचनक्रियामा अवरोध गर्ने सम्भावना छ । एकै किसिमको खानपान गर्ने बानीलाई सुधारेर सबै खालको खानपानमा पेटलाई बानी पार्नुपर्छ ।

जीवनशैली र पाचन प्रक्रिया : मुखदेखि नै पाचन प्रक्रिया शुरु हुन्छ । चपाएर भोजन जति मिहिन बन्यो एवं र्‍याल मिसियो, त्यति नै पेटमा पुग्दा पच्न सहज हुन्छ । कार्बोहाइड्रेडको पाचन मुखदेखि नै हुन्छ । त्यसैले बढी चपाउनु जरुरी छ । मुख, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्र सबैमा कुनै न कुनै पाचन क्रिया हुने गर्दछ । यसका लागि स्नायुतन्त्र, रक्तसञ्चार प्रणाली आदिको महत्वपूर्ण भूमिका हुन्छ ।
मन ठीक छ भने पाचन प्रक्रियामा पनि सकारात्मक प्रभाव पर्छ । सुत्ने, काम गर्ने, व्यायाम गर्ने, योगाभ्यास गर्ने आदि दिनचर्या वा विहार एवं सोचाइको तौरतरिका, चिन्तनशैली आदिले पनि पाचन प्रणालीको काममा असर पार्दछ । त्यसैले पाचनअंगलाई बलियो पार्न सकारात्मक सोचका साथ स्वस्थ जीवनशैली अपनाउनुपर्छ ।

पचाउन सजिलो पार्ने कुराहरु : तरकारी पकाउँदा अदुवा, लसुन, बेसार, हिङ, जीरा, धनियाँ, ज्वानो, मेथी, जाइफल, काढापत्ती आदि मसला केही मात्रामा मिसाएर खाइयो भने त्यसले पचाउन सहयोग गर्दछ, तर बढी भएमा यसैबाट असर पर्छ । खानासाथ सोंप–जीरा आदि चम्चा जति खाएमा त्यसबाट पचाउन सकिन्छ । खानापछि मेथीको सूप वा लसुनको सूप वा ज्वानो, मेथी र बिरेनून मिश्रित सूप, पुदिना वा तुलसीको रस थोरै पिउनाले वा पात चपाउनाले पनि खाएको खाना छिटो पच्दछ । यसरी नै पुदिना, धनियाँ, मेथीका अचारहरुले पचाउन सहयोग गर्छ । प्याज, लसुन र मुलाको ताजा सलादले पनि कतिपयलाई अपचमा निकै लाभ दिन्छ ।

बढी कमजोर पाचनक्षमता भएकाले पाचनशक्ति बढाउनको लागि केही समय फल वा तरकारीको रस मात्र पिएर बस्दा निकै लाभ पाउन सकिन्छ । हप्तामा एक–दुई दिन फलाहार, पूरा दिन वा नसके कमसे कम हरेक दिन बेलुकाको खानामा फल, तरकारी वा त्यसको रस वा हप्तामा एक–दुई दिन पानी मात्र पिएर उपवास गर्नुहोस् । आधा वा चौथाइ भाग पेट खालि राखेर खाना खाने गर्नुपर्छ । यसले पनि अपचमा लाभ दिन्छ । उपवास नियमपूर्वक गर्नुपर्छ तब मात्र लाभ पुग्छ ।

अग्निसार र नौलि क्रियाको अभ्यास : पाचनशक्ति बढाउन योगमा अनेक अभ्यासहरु छन्, सिकेर अभ्यास गर्नुहोस् ।

अग्निसार विधि : उभिएर दुवै गोडा एक फिट जति फरक पारी हातलाई घुँडामा राख्नुहोस् । श्वास छोडेर हात घुँडामा राखेपछि श्वास रोकेर पेटलाई भित्र तान्दै, बाहिर निकाल्दै गर्ने प्रक्रियालाई छिटो–छिटो अभ्यास गर्नुहोस् । एकपटकमा श्वास रोक्दा २०–३० पटक पेट हल्लाउनुहोस् र श्वास रोक्न नसकेपछि श्वास लिँदै सीधा हुनुहोस् । थकान कम भएपछि पुनः दोहोर्‍याउनुहोस् । करिब १०–२० पटक दोहोर्‍याउनुहोस् ।

नौलि क्रिया विधि : उभिएर दुवै गोडा एक फिट जति फरक पारी खुट्टा केही खुम्च्याएर हातलाई घुँडामा राख्नुहोस् । श्वास छोडेर पेटलाई जति सक्दो भित्र तान्नुहोस् । सास तानेर भित्रै रोकेको अवस्थामा दुवै हातले घुँडाभन्दा केही माथि तिघ्रातिरबाट हत्केलाले बल गर्दै घुँडातिर हत्केला एकसाथ रगड्दै तल लैजानुहोस् । यसो गर्दा पेटलाई पनि सक्दो भित्र लानुपर्छ, जसबाट पेटको बीचमा एउटा लाम्टोजस्तो डल्लो बन्दछ । यसरी नै पटक–पटकको लामो अभ्यासले मध्य नौलि बन्न थाल्दछ । हात घुँडामा राखेपछि श्वास रोकेर पेटलाई भित्र तान्दै हातलाई पालैपालो तिघ्राबाट घुँडातिर बल लगाउँदै पेटलाई भित्र तान्दा पेटको मांसपेशी डल्लो बन्ने र चल्ने क्रम हुन थाल्छ, लामो अभ्यास जरुरी छ ।

अग्निसार र नौलि क्रिया राम्ररी अभ्यास गरेमा कलेजो, अग्न्याशय, आमाशय, आन्द्राहरु निकै सक्रिय हुन थाल्छन्, पचाउने क्षमता बढ्छ ।

 

योगका आसनहरु

खानासाथ १५–२० मिनेट वज्रासनमा बस्दा पाचनशक्ति बढ्छ । अर्धहलासन, हलासन, नौकासन, पवनमुक्तासन, सलभासन, भुजंगासन, धनुरासन, नाभ्यासन, मण्डूकासन, शशंकासन, मृगासन, चक्रासन, सर्वांगासनलगायत सूर्य नमस्कारको अभ्यास पाचनशक्ति बढाउन
अभ्यास गर्नुहोस् ।

 

(क) पवनमुक्तासन :

एकपाद पवनमुक्तासन : उत्तानो सुत्नुहोस् । दुवै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै दाहिने खुट्टालाई माथि उठाउने, घुँडा खुम्च्याएर खुट्टा समात्ने र टाउको उठाएर घुँडामा चिउँडोले छुने गर्नुहोस् । केही बेर श्वास रोकेर अडिनुस् । श्वास छोड्दै हात, टाउको तथा खुट्टा सोझो गरेर तल राख्ने गर्नुस् । यसरी नै ८–१० पटक गर्नुस् ।

द्वीपाद पवनमुक्तासन : उत्तानो सुतेर दुवै खुट्टा जोड्नुहोस् । अब श्वास लिँदै दुवै खुट्टालाई माथि उठाउने, घुँडा खुम्च्याएर दुवै हातले दुवै खुट्टा समात्ने र टाउको उठाएर दुवै घुँडाको बीचमा चिउँडोलाई छुवाएर केही बेर श्वास रोकेर अडिनुस् । श्वास छोड्दै हात र टाउको तथा खुट्टा सोझो गरेर तल राख्ने गर्नुस् । यसरी नै ८–१० पटकसम्म अभ्यास गर्नुस् ।

(ख) नौकासन :

उत्तानो सुत्नुहोस् । दुवै खुट्टा जोड्नुहोस्, हातलाई टाउकोसँगै वा हात बाँधेर छातीमा वा शरीरको दाँया–बाँया कम्मरसँगै कुनै एक किसिमले राख्नुहोस् । अब श्वास लिँदै कम्मरको बलले दुवै खुट्टा, दुवै हात, टाउको र ढाडको माथिल्लो भाग, पिठ्युँलाई समेत माथि उठाउनुस् । शरीरको तल्लो र माथिल्लो भाग बराबर, केही मात्रामा उठाएर ५–७ सेकेन्ड रोक्नुस् र श्वास छोड्दै तल राख्नुस् । यसरी नै ८–१० पटक अभ्यास गर्नहोस् ।

सावधानी : ढाड, कम्मर बढी दुख्ने समस्या भएका व्यक्तिहरुले नौकासन गर्नुहुँदैन ।(ग) वज्रासन :

बसेर दुवै खुट्टा सोझो राख्नुस् । पहिले एउटा खुट्टा खुम्च्याउनुस् र त्यसपछि अर्को पनि खुम्च्याएर कुर्कुच्चामाथि नितम्ब राखी बस्नुस् । यस स्थितिमा खुट्टाको बूढीऔंला एक–आपसमा छुने तर कुर्कुच्चा फरक राख्ने गरी ढाड र टाउको सोझो राख्नुपर्छ । दुवै हात सोझो पारी घुँडामाथि हत्केला टेकाउनुस् । आँखाले नाकको टुप्पोमा हेर्दै बिस्तारै आँखा चिम्लनुस् । श्वास–प्रश्वास लामो–लामो गर्नुपर्छ तर खाना खाएपछि यो आसनमा रहँदा श्वास बिस्तारै लिने र छोड्ने गर्नुपर्छ । वज्रासनको अभ्यासमा शुरुका केही दिन कम समयसम्म बस्नुपर्छ र बीच–बीचमा खुट्टा अगाडि तन्काएर हल्लाउनुपर्छ ।

सावधानी : घुँडा दुख्ने, कुर्कुच्चाको भाग दुख्ने तथा बढी तौल भएका व्यक्तिहरुले वज्रासन गर्नुहुँदैन ।

योगका अन्य विधिहरु : अपचमा उपयोगी हुने यौगिक षट्कर्मका अन्य विधिहरुमा वस्ति (तालिमप्राप्त व्यक्तिको सहयोग लिई मलद्वारबाट एनिमा सेटको माध्यमले पानी पठाएर आन्द्राको सफाइ शोधन विधि), कपालभाँति (पद्मासन, वज्रासन, सुखासन आदिमध्ये कुनै एक आसनमा बसी आँखा चिम्लने, पेटलाई भित्र तान्दै झड्का दिएर मुख बन्द गरी लयबद्धरुपमा एक सेकेन्डमा एकदेखि दुईपटकसम्म नाकबाट श्वास बाहिर छोड्ने), निकै नै उपयोगी छन् ।

सादा, सुपाच्य, सात्विक, मिताहारजस्ता यौगिक आहारको प्रयोगले अपच निको पार्न सहयोग गर्छ । यसरी नै योगका लघु तथा पूर्ण शंखप्रक्षालन ९पानी पिई दिसाबाट पानी नै निकालेर मुखदेखि पेट, आन्द्रा, मलद्वारको भाग पखाल्ने उपचार विधि० अति उपयोगी छ । यसरी नै कुञ्जल तथा बाघी क्रिया पनि अपचको क्रममा पेट खालि हुँदा र पेट भरिएको अवस्थामा पनि अपनाउन सकिन्छ । यी सहज नियमहरुको प्रयोगले अपच रोग कम हुने र तपार्ईंको पेटको पाचन क्षमता पनि बढ्दछ ।

योग मोडेल : मिरी बराकोटी

प्रतिक्रिया दिनुहोस्