युभेन्ट्स काग्लिआरीसँग पराजित



एजेन्सी ।

जारी सिजनको इटालियन सिरी ए उपाधि जितिसकेको युभेन्ट्स अंक तालिकाको १३अौं स्थानमा रहेको काग्लिआरीसँग पराजित भएको छ । लिगको ३७अौं चरण अन्तर्गत भएको खेलमा काग्लियारीले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको हो । काग्लियारीको जितमा लुका गाग्लिआनो र जियोभानी सिमियोनेले समान एक-एक गोल गरे ।

खेलको आठौं मिनेटमा फेडेरिको म्याटिएल्लोको पासमा गोल गर्दै लुका गाग्लिआनोले काग्लिआरीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट गोल गर्दै जियोभानी सिमिओनेले घरेलुु टोलीको अग्रता दोब्बर बनाए ।

जितसँगै तालिकामा १३अौं स्थानमा रहेको काग्लिआरीले ३७ खेलबाट ४५ अंक बटुलेको छ । त्यस्तै, लिग विजेता युभेन्ट्सको समान ३७ खेलबाट ८३ अंक रहेको छ । यस हारका बावजुद लिगमा अन्तिम चरणका खेलहरु बाँकी रहेको अवस्थामा युभेन्ट्स दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अंकले अघि रहेको छ ।

उक्त हारले गोल्डेन बुटको होडमा रहेको क्रिस्टियानो रोनाल्डोलाई भने झट्का लागेको छ । उक्त होडमा लाजियोका सिरो इम्मोबाइल सबैभन्दा अगाडि छन् । उनले रोनाल्डोलाई ४ गोलले पछाडि पारेको छन् । रोनाल्डोले क्याग्लिअरीविरुद्ध गोल गरेर सिरोसँगको गोलअन्तर घटाउनबाट चुके ।

प्रतिक्रिया दिनुहोस्