भुवन केसीले मुद्दा दर्ता गरेपनि मलाई केही फरक पर्दैनः साम्राज्ञी



न्युज अफ नेपाल, काठमाडाैँ ।

भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा दर्ता गरे पनि उनी कति पनि नडराउने बताएकि छिन । मुद्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुर्व्यवहारबारे बोलेर गल्ती नगरेकोले कत्ति नडराएको उनले बताएकि हुन।

‘आफू काम गर्न जाने ठाउँमा सहज वातावरण होस् भन्ने सबैको अपेक्षा हुन्छ। मलाई भने डेब्यु फिल्मको सेटमै निर्मातामध्ये एक भुवन केसीले गर्ने व्यवहारले असहज बनाएको थियो। आफूले भोगेका दुर्व्यवहार र असहज परिस्थितिबारे बोलेर मैले गल्ती गरेकी छैन, १० करोडकै मुद्दा दिनुभएको छ। तर म डराउँदिनँ’ –उनले भनिन्,

साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले जिल्ला अदालत काठमाडौंमा १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा दर्ता गरेका थिए।

केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले आफूले काम गरेका आठ फिल्ममध्ये तीन वटामा नराम्रो अनुभव भोग्नुपरेको बताएकी थिइन्।

आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने डरसमेत देखाइएको उनले भिडिओमा भनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्