२० प्रतिशतसम्म थप कर्जा पाउने



न्युज अफ नेपाल,काठमाडौं ।

कोभिड–१९ बाट अति प्रभावित उद्योग व्यवसायलाई सुचारु गर्न थप बैंक तथा वित्तीय संस्थाले थप कर्जा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको एकीकृत निर्देशनमा व्यवसायलाई सुचारु गर्न ऋणीको आवश्यकता र उद्योग व्यवसायको सम्भाव्यताको विश्लेषण गरी २०७६ चैत मसान्तमा कायम चालू पुँजी कर्जाको सीमामा एकपटकको लागि बढीमा २० प्रतिशतसम्म थप चालू पुँजी कर्जा प्रवाह गर्न सकिनेछ ।

यस्तो थप कर्जा प्रदान गर्दा डेविट इक्विटी रेसियो र एकल ग्राहक कर्जा सीमा कायम गर्न २०७८ असार मसान्तसम्म अनिवार्य हुने छैन । यस्तो थप कर्जा उत्पादनलाई निरन्तरता दिने, कच्चा पदार्थ खरीद गर्ने, कर्मचारी/कामदारको पारिश्रमिक भुक्तानी गर्ने जस्ता कार्यको लागि मात्र प्रवाह गर्न सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाले बक्यौता साँवा तथा ब्याज असूल गर्न पाउने छैनन् भने ऋणीले अन्य प्रयोजनको लागि प्रयोग गर्न पाउने छैनन् । कर्जाको भुक्तानी अवधि बढीमा एक वर्षको हुनेछ । तर, कोभिड–१९ बाट अति प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको आवश्यकता, धितोको पर्याप्तता, कर्जा जोखिम व्यवस्थापन तथा ऋणीको व्यवासय प्रस्ताव आदिको विश्लेषण गरी २० प्रतिशतभन्दा बढी थप कर्जा प्रवाह गर्न सकिने अवस्था भएमा सो कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पु¥याएको नमानिने केन्द्रीय बैंकले व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्