माईक टाइसनको प्रतिद्वन्दी रोय जोन्स



एजेन्सी ।

पूर्व हेभिवेट च्याम्पियन बक्सर माईक टाइसनले प्रदर्शनी खेलमा पूर्व विश्व च्याम्पियन रोय जोन्स जुनियरसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको लस एञ्जलसमा हुने सो खेल सेप्टेम्बर १२ तारिखमा हुने जनाएको छ । क्यालिफोर्निया स्टेट कमिसनले यो फाइटको जिम्मा लिने भएको छ । यो फाइटमा आठ राउण्ड हुनेछन् । यो खेल हेर्नका लागि टेलिभिजनमा पनि शुल्क तिर्नु पर्नेछ । पछिल्लो पटक टाइसनले निरन्तर प्रशिक्षण गरिरहेको भिडियो सोसियल मिडियामा चर्चा भईरहेको थियो ।

भिडियोमा सक्रिय खेलाडी छँदा उनमा जुन जोस र जाँगर थियो त्यहि नै देखिएको छ । एक जना सहयोगीसँग उनी बक्सिङ पन्च हानिरहेका थिए । आइरन माइक उपनाम पाएका टाइसन अझैपनि निकै फुर्तिलो देखिएका छन् । खेलाडी जीवनमा सफलतासँगै विवादित पनि बनेका टाइसन एक समय आर्थिक समस्यामा पनि परेका थिए ।

उनले आफ्नो तौल पनि घटाएका छन् । पूर्व हेभिवेट च्याम्पियन टाइसनले बढ्दो उमेरमा पनि आफ्नो प्रिय खेललाई छोड्न सकेका छैनन् । ५४ बर्षको उमेरमा पनि टाइसनले सक्रिय खेलाडीको जस्तै कडा मेहेनत गरिरहेका छन् । सन् २००५ पछि कुनैपछि खेलमा सहभागिता जनाएका टाइसन अन्तिम खेलमा आयरल्याण्डका केभिन माकब्रेडसँग पराजित भएका थिए । जुन उनको करियरको छैटौं हार थियो । टाइसनले करियरको ४४ वटा फाइट नक आउटको आधारमा जितेका छन् ।

यता अमेरिका र रसियाको संयुक्त नागरिकताधारी ५१ बर्षे जोन्सले भने सन् २०१८ को फेब्रुअरीपछि कुनै पनि फाइट खेलेका छैनन् । उनले अन्तिम खेलमा स्कट सिगमोनलाई पराजित गरेका थिए । उनले करियरको ७५ फाइट मध्ये ६६ मा जित दर्ता गरेका छन् । जसमध्ये ४७ फाइट नकआउटको आधारमा जितेका छन् । यसअघि सन् २००३ मा पनि यी दुईबीच फाइट हुने चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्