आज जितेमा युभेन्ट्स लिग च्याम्पियन बन्ने



एजेन्सी । इटालियन सिरी ए लिग फुटबल अन्तर्गत आज रातिको खेल युभेन्ट्सले जितेमा लिग च्याम्पियन बन्नेछ ।नेपाली समयअनुसार आज राति ११ः१५ बजे सुरु हुने खेल जितेमा युभेन्ट्स लगातार नवौंपटक लिग च्याम्पियन बन्नेछ । उपाधि जित्नका युभेन्ट्सले आज लिगको ३५औं चरणको खेलमा उडिनेसको सामना गर्दैछ ।

तेस्रो स्थानको इन्टर मिलान आफ्नो खेलमा फियोरेन्टिनासँग बराबरीमा रोकिँदा युभेन्ट्सले अझै चाँडो उपाधि जित्ने मौका पाएको हो । आज अवे मैदानमा उडिनेसलाई हराउन सके युभेन्ट्सले ३ म्याच खेल्न अगावै उपाधि उचाल्ने छ ।

हाल ३४ खेल खेलेको युभेन्ट्स ८० अंकसहित शीर्ष स्थानमा रहँदा ७३ अंक भएको एट्लान्टा दोस्रो तथा ७३ अंक भएको इन्टर मिलान तेस्रो स्थानमा छ । आजको म्याच जितेमा युभेन्ट्सले शीर्ष स्थानमा ९ अंकको स्पष्ट अग्रता बनाउनेछ । जुन उपाधि जित्न पर्याप्त हुनेछ । तर, हार वा बराबरीको नतीजाले भने उपाधि जित्नलाई आगामी खेलको नतिजा कुर्नु पर्ने हुन्छ ।

आज उपाधि जित्ने लक्ष्यसाथ अवे मैदानमा उत्रिँदा युभेन्ट्सको टोलीमा सबै प्रमुख खेलाडी उपलब्ध हुनेछन् । यो सिजन उत्कृष्ट लयमा रहेका क्रिस्टियानो रोनाल्डो, पाउलो डिबालासहितका खेलाडीले आज सुरुआत गर्नेछन् । अघिल्लो खेलमा लाजियोविरुद्ध दुई गोल गरेर लिग गोल ३० बनाएका रोनाल्डो युरोपियन गोल्डेन बुट जित्ने होडमा छन् । उनलाई गोल संख्या बढाउन आजको खेल महत्त्वपूर्ण हुनेछ ।

आज राति नै लिगको अर्को खेलमा चौथो स्थानको लाजियो र १३औं स्थानको क्याग्लिअरीबीच खेल हुँदैछ । यदि सो खेलमा सिरोले गोल गर्न असफल भएमा रोनाल्डोलाई फाइदा पुग्नेछ । रोनाल्डोले आज कम्तीमा २ गोल गर्न सके उनी गोल्डेन बुट नजिक पुग्नेछन् । हाल लाजियोका सिरो इम्मोबाइल र रोनाल्डोले समान ३०र३० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्