कोका-कोला नेपालद्वारा सफाईकर्मीलाई राहत



काठमाडौं, (नेस)

क्रिएसन र कोका—कोला नेपालले सफाईकर्मीका लागि राहत प्रदान गर्ने प्रयास सफलतापूर्वक सम्पन्न गरेको छ । जसअन्तर्गत देशभरका ३२१२ सफाईकर्मीलाई सुरक्षा सामग्री, राशन प्याकेज प्रदान गर्दै सुरक्षा जागरुकता कार्यक्रम सञ्चालन गरेको छ ।

कोभिड—१९ महामारीमा अग्रपंतिमा खटिएका सफाईकर्मीलाई सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्न प्रतिक्रियाको रुपमा क्रिएसन र कोका—कोला नेपालको संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु गरिएको हो ।

यसअन्तर्गत अन्तिम चरणको वितरण कार्यक्रम सिराहमा सम्पन्न भएका छ, जहाँ ३७० सफाईकर्मीलाई गुणस्तरीय राशनको ३०० प्याकेज, औषधि, जागरुकता सामग्री र ग्लोबस्, बुट, पीपीईलगायत सुरक्षा सामग्री वितरण गरिएको थियो ।

राहत वितरणका साथै चिकित्सा परामर्श र सामान्य स्वच्छता जागरुकतासमेत प्रदान गरिएको थियो ।यसबाहेक, टोलीले भक्तपुर अस्पतालको आइसोलेशन वार्डमा कार्यरत सफाईकर्मीका लागि अस्पताल जागरुकता सत्र आयोजना गरेको छ ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट गत हप्ता सम्पन्न भएको हो जसअन्तर्गत सफलतापूर्वक ६४ वटा राहत वितरण कार्यक्रम आयोजना गरिएको छ भने ३२१२ जना सफाईकर्मी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस अवधिमा, हरेक परिवारका ५ जना सदस्यलाई १ महिनासम्मका लागि पुग्ने राशन वितरण गरिएको थियो जहाँ १६००० भन्दा बढि लाभान्वित भएका छन् ।

यसका साथै ७७० सुरक्षा सामग्री वितरण गर्नुका साथ जागरुकता कार्यक्रम र चिकित्सा परामर्श प्रदान गरिएको थियो । यस परियोजनाको लक्ष्य कोभिड—१९ महामारी विरुद्ध लड्ने र नेपालभरका ३२०० सफाईकर्मीलाई सकारात्मक लाभ प्रदान गर्ने रहेको थियो । यस परियोजना अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, पर्सा, सप्तरी र सिराह जिल्लामा वितरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्