टेलिकमको कल ट्रान्सफर सेवा निःशुल्क



काठमाडौं, (नेस)

कोरोना महामारीका कारण हाल विश्वभरी आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै गरिँदैछ ।

यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय, पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तो परिस्थितिमा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको कल ट्रान्सफर सुविधाले केही राहत दिनसक्छ ।

नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कल अर्को मोबाइल नम्बर, सीडीएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधैं वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिन्छ ।

यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयम्ले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी सिधैं ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ ।

कल गरिएको नम्बर व्यस्त भएमा बिजी ट्रान्सफर अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो एनसर ट्रान्सफरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्