दुईपटक सर्किट ब्रेक लागेको नेप्सेमा अन्ततः गिरावट



नेपाल समाचारपत्र, काठमाडौ

दुईपटकसम्म सर्किट ब्रेक लाग्ने गरी बढेको सोमबारको शेयर बजार अन्ततः कारोबार बन्द हुँदा दोहोरो अंकले घटेको छ ।

अघिल्लो दिन छ प्रतिशतले बढेको बजार यस दिन पनि बढ्ने अनुमान गरिएको थियो । तर, त्यसो भएन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ दशमलव शून्य ९ अंक अर्थात् शून्य दशमलव ९५ प्रतिशतले घटेर परिसूचक १४६४ दशमलव ९४ बिन्दुमा झरेको छ । कुल १८१ कम्पनीको ७ लाख १ हजार कित्ता शेयर २ अर्ब ८० करोड २२ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने असार १५ गतेपछिको उच्च हो ।

यस दिन कारोबार रकमका आधारमा एनएमबि बैंक अगाडि रहेको छ । एनएमबि बैंकको मात्रै २० करोड १४ लाख ९९ हजार रुपियाँको कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ६३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचक घटे पनि यस दिन युनाइटेड फाइनान्स, एनआईसी एसिया लघुवित्त र स्पर्श लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै गुराँस लघुवित्तर मञ्जुश्री फाइनन्सकाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सोमबार कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ समूहे शून्य दशमलव २४ प्रतिशत, विकास बैंक समूह शून्य दशमलव ९२ प्रतिशत, वित्त समूह शून्य दशमलव १७ प्रतिशत र म्यूचुअल फण्ड समूह शून्य दशमलव ११ प्रतिशत परिसूचक बढेको छन् ।

यसैगरी व्यापार समूहे ४ दशमलव २५ प्रतिशत, होटल समूह ४ दशमलव ४७ प्रतिशत, जलविद्युत् समूह १ दशमलव २३ प्रतिशत, निर्जीवन बीमा समूह शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ४१ प्रतिशत, अन्य समूहे २ दशमलव ६८ प्रतिशत, लघुवित्त समूह ३ दशमलव ४४ प्रतिशत र जीवन बीमा समूह २ दशमलव १५ प्रतिशत घटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्