पहिले घरका कुरा, अनि नगरका कुरा



हरि चालिसे, एबिसी ।

खासमा मैले घरको मीठो अनुभूति गर्न लागेको धेरै भएको छैन उमेरका हिसाबले झन्डैझन्डै मानिसको निश्चित उमेर पुग्न लागेको भए तापनि यस्तै पाँच वर्ष जति भयो होला म नियमित घरमा बस्न लागेको र घर प्रतिको माया स्नेह बढ्न थालेको विगतलाई सम्झिदा अनौठो लाग्छ साढे चार वर्षसम्म आफू जन्मेको ठाउँ मा रहे त्यो बेला त्यो पूर्व बाल्यवस्थाको बच्चालाई के थाहा घर , गोठ ,आँगन , करेसाबारी। अलिअलि थाहा पाउने भएको थिए , बाबाको कामको शिलशिलामा घर छोडेर अर्को गाउँ आएँ ती कुराहरु विस्तृतमा कुनै प्रसंगमा लेखौला।

एउटा सानो परिवार दुई कोठा भाडामा लिई बस्दा बसाइ ठिकै थियो । बिस्तारै बिस्तारै ६ जनाको परिवार बन्यो । हामी सानासाना हुन्जेल त ठिकै चलेको थियो जब हामीहरु हुर्कदै गयौं । बाबाआमाको बीचमा घरका बारेमा कुरा मधुरो मधुरो हुँदै बुलन्द हुन थाल्यो । नहोस् पनि कसरी एउटा गृहणीलाई परिवारको व्यवस्थापन गर्नको लागि पक्कै पनि गाह्रो हुन्छ । आामाले बेलाबेलामा भनेको केही कुराहरु मानसपटलमा आउँछ होइन सबैको घर छ एउटा जाबो घर पनि बनाउन नसक्ने कस्तो होरु केटाकेटी हुर्किसके कोही पाहुना आए बस्ने ठाउँ छैन होइन अलिकति त सोच्नुपर्ने हो । खाना खाने बेला होस् या आराम गर्ने बेला दिनानुदिन यी कुराले अहिले सुन्दा लाग्छ बाबाको हृदयमा मैले एउटा आफू र परिवार बस्ने घर बनाउन सकिन भन्ने हिनताबोध कति भएको होला कति पीडा भएको होला।

बुबाले नरम भावमा होइन घर बनाउँला , किनौला मलाई पनि चिन्ता छ छोराछोरी हुर्कँदै गएका छन् । हाम्रो समस्याले गर्दा पाहुनाहरु आएका छैनन् । त्यो थाहा छ थाहा हुँदाहुँदै पनि घर जस्तो कुरा सोचेर बनाउनुप्यो । यसै आत्तिएर नहुँदोरहेछ भन्ने सान्त्वनाका भावहरु आमालाई सुनाउँदा हाम्रो कलिलो मस्तिष्कले पनि अब त हाम्रो घर बन्ने भो भन्दै साथीहरुलाई सुनाएको हिजो जस्तो लाग्छ ।
दुई महिना , चार महिना , छ महिना हुँदै एक वर्ष , दुई वर्ष कटेपछि आमाले होइन अब त साह्रै गाह्रो हो भन्दै झनै आफूभित्रको पीडा सुनाउनु भयो अनि बाबाले भन्नु भो – ‘ल भन कहाँ बनाउने घर रुकहाँ किन्नेरु आमाको जवाफ सजिलो थियो सबै माइती हरु चितवन नवलपरासी छन् उहीं जाने उहीं बनाउने ।’ बाबा फेरि नरम भावमै भन्नुहुन्छ त्यो त ठिकै हो तर गाउँ छोडेर जानुभन्दा गाउँमै बनाउने वा किन्ने हो कि रुयो विषयले फेरि १/२ वर्ष चर्चा पायो म त्यतिखेर ८/९ कक्षामा पढ्दै थिएँ । घरपरिवारको निर्णयमा खासै सामेल हुने कुरा पनि थिएन र त्यती धेरै थाहा हुने कुरा पनि भएन ।

आमाको चितवन जाने र बाबाको गाउँमा बस्ने भन्ने कुरा धेरै चलिसकेपछि अन्ततः गाउँमै बस्ने एक प्रकारको सहमति भो । गाउँमा घर किन्नको लागि खोजी गरिरहँदा बाबाआमाको बिचमा कुरा हुन्थ्यो , मैले त चितवनतिर जाउँ भनेको मैले भनेर कहाँ हुन्छ र मानिसहरु सहर बजारतिर छिर्छन् आफू भने गाउँतिर फर्कने यस्तै कुरा हुन्थ्यो । तर म लगायत बैनीहरूलाई यो विषयले केही प्रभाव पारेको थिएन बरु हामीलाई एउटै कुरामा खुसी लागेको थियो अब हाम्रो घर हुने भो । हाम्रो घर बजारमा होस् , गाउँमा होस् , डाँडामा होस् वा कुनामै किन नहोस् रु जहाँ भएपनि हामीलाई घर हुने भो भन्ने खुसीयाली छाएको थियो साथीहरुका अगाडि हाम्रो पनि घर छ भन्न पाउने भएका थियौं र छिटोभन्दा छिटो घर होस् भन्ने मात्र लागेको थियो एकपटक बाबा घरको लागि चितवनतिर पनि जानु भएको थियो लगभग लगभग उतै हुन्छ कि जस्तो पनि भएको थियो तर बाबा चितवन / नवलपरासीबाट आएपछि गाउँमा नै घर किनियो ।

घर किन्दा म कक्षा ११मा पढ्रथें । त्यतिबेला अलिअलि बुझ्ने भएको थिएँ । घर गाउँमा किनियो म भने प्रायः पसलमै बस्थें । केही समयपछि म अध्ययनकालागि चितवन काठमाडौं लागें । घरमा लामो समय कहिल्यै बस्न पाइन । चितवन जाँदैगर्दा अलि ठूलो भइसकेपछि र केही बुझ्ने हुँदा बाबाले गाउँमा पैसा खर्च गरेर भन्ने भावहरु पटक पटक आउँथ्यो । आमाले पनि कहिलेकाँही तेरो बा ले भनेको मानेको भए अहिले हामी चितवनतिर हुन्थ्यौ त्यतिखेर यहाँराख्ने पैसाले चितवनमा किनेको भए अहिले कति धेरै हुन्थ्यो बसिबसि खान पुग्थ्योभनेर बेलाबेला सम्झाइरहनुहुन्छ । जब म कामको शिलशिलामा गाउँ फर्के घरमा बसें , बिस्तारै बिस्तारै गाउँको माया , घरको सुगन्ध , डााँडाकाँडाको मनोरम दृश्यपान , मान्छेहरुको आत्मीयपन लगाएतका कुराले हृदयलाइ पुलकित बनाएको छ ।

समय सापेक्ष घरको परिवर्तनहुँदा दिनप्रतिदिन घरप्रतिको दृष्टिकोण अत्यन्तै सकारात्मक हुँदै गयो र घर आइसकेपछि पनि घर बेचेर अन्तै बनाउने कि भन्ने सोच पनि केही हदसम्म टाढा बनाएको छ । र यो घर नै एकान्त शान्त र आनन्दको बसाइ भएको अनुभूति गरेको छु देश संघीयतामा गइसकेपछि७५३ स्थानीय तह , ७ प्रदेश र १ संघीय संरचना बनेको छ । नयाँ संरचनामा जाँदैगर्दाकार्यलय व्यवस्थापन पक्षको ठूलो चुनौती बनेको पाइन्छ । जसरी मैले झण्डै झण्डै ३२ वर्षको उमेरदेखि घरको अनुभूति गर्न पाएको थिएँ त्यस्तैगरि गलकोट नगरपालिकाका नगरवासीले पनि झण्डै झण्डै तीन वर्षको अन्तरालमा नगरको घर बन्ने आधारभूमि प्राप्त गर्न पाइन्छ कि भन्ने झिनो आशा पलाएको सुनिएको छ ।

गलकोट नगरपालिकाको पहिलो वर्षदेखिकै योजना हो भवन निर्माणका लागि जग्गा व्यवस्थापन तथापि पहिलो वर्ष , दोस्रो वर्ष र तेस्रो वर्ष पनि त्यत्तिकै बिते जस्तो लाग्छ हामीलाई तथापी जग्गा व्यवस्थापनका लागि विभिन्न समयमा राजनीतिक दल , जनप्रतिनिधिहरु र सरोकारहरूको बीचमा धेरै बहसहरु भए , छलफलहरु भए तर किनारमा पुग्नै लागेका खबर बाहिरिए पनि जग्गा व्यवस्थापनको लागि ठोस निर्णयमा पुग्न नसक्नु गलकोट नगरवासीकोलागि पीडाको विषय हो । पछिल्लो समय जग्गाको सन्दर्भमा केही नजिक र लगभग लगभग अन्तिम चरणमा पुगेको खबर आइरहँदा केही आशाको सञ्चार भएको छ । जसरी अबोध बालकको उमेरमा बाबा आमाले घर किन्ने कुरा पक्का पक्कि गर्दा जति खुशि लागेको थियोअब नगरको घर बन्ने भो भन्ने सुन्दा त्यो भन्दा बढ्ता खुसी लागेको छ । घर बन्नु एउटा खुसीको कुरा हो भने राम्रो घर बन्नु हामी सबै नगरवासीको गौरवको कुरा हो ।

राम्रो घर बनाउनकालागि सम्पूर्ण नगरबासीको उत्तिकै साथ , सहयोग र सकारात्मक चिन्तन हुनु जरुरी हुन्छ । नगरको घर कसैको पेवा वा ठेक्काको विषय होइन यो सार्वजनिक घर हो जहाँ यो नगरका जो कोही पनि निश्चित परिधि पार गरी प्रवेश गर्न सक्छ तसर्थ मेरो नगर होइन हाम्रो नगर भन्ने भाव सबैमा जागृत भएको अवस्थामा यो सम्भव छ ।

कहिलेकाहीँ सोच्छु हाम्रो घर किन्ने सन्दर्भमा ५÷७ वर्ष बाबाआमाको बीचमा सहमति हुनको लागि समय लाग्यो भने नगरको विषयमा केही समय लाग्नु स्वभाविकै जस्तो लाग्छ विभिन्न व्यक्तिका बिभिन्न आशयका विचार आउँछन् । मानिस कहिले चाहेर कहिले नचाहेरै पनि व्यक्तिगत स्वार्थमा लिप्त हुन्छ , व्यक्तिगत स्वार्थदेखि माथि उठेर सामुहिक हित र कल्याणको लागि सोच्ने र खुला ह्दयले उदार भावका साथ व्यवहार गर्ने हो भने पक्कै पनि गलकोट नगरपालिकाको गरिमा बढ्ने कुरामा दुइ मत छैन ।

नव माक्सवादी विश्लेषकले केहीे निर्णयहरु लिनुपर्दा – हरेक कुरालाई इतिहासिकरण गर्नुपर्छ र ऐतिहासिक पृष्ठभुमिका आधारमा त्यसलाई विश्लेषण गर्नुपर्छ , भन्ने कुरा उल्लेख गरेका छन् । निर्णय गर्ने मान्छे सीमित हुन्छन् तर निर्णयका लागि अधिकको सहभागिता र समन्वयात्मक भूमिका हुनुपर्छ भन्ने मान्यता राख्छु म । हामी प्रायः कुनै पनि विषयलाई शत प्रतिशत मान्छेका चाहना आवश्यकता र इच्छालाई पुरा गर्न सक्दैनौ । त्यसो भनिरहँदा निश्चित मापदण्डलाई कुनैपनि बाहनामा पुरा गर्न सकेनौ भने त्यो अभिशाप नै हुनसक्छ ।

एउटा नेतृत्व आफैंले मात्र केही गर्न सक्दैन तर पनि भूमिका अब्बल हुन्छ । एउटा नेतृत्वले विभिन्न राजनीतिक अर्थतन्त्रबाट सिर्जित अवस्थाको सदुपयोग गर्ने मुख्यकर्ताको भूमिकाका रूपमा रहन्छ यसैसन्दर्भमा डेबिट ब्राडी र माइकल स्पेन्सले १३ उच्च वृद्घिका देशहरूको अनुसन्धानबाट एउटा कुरा पत्ता लगाएका थिए –नेतृत्वको एउटै शैलीले मात्र सम्पूर्ण उच्च वृद्धि प्राप्त हुन सक्दैन र नेतृत्व मात्र सबथोक होइन । नेतृत्व भनेको राजनीतिक अर्थतन्त्रको गतिशीलताबाट सिर्जित अवसरलाई सदुपयोग गर्ने कुरामा संलग्न हुन्छ । नेतृत्व चलाएमान हुनुपर्छ , नेतृत्व समयसापेक्ष हुनुपर्छ , समय र परिवेश अनुकुल शैली अपनाउनु पर्दछ यो कुरामा दुईमत छैन ।

अन्त्यमा विगत तिन वर्षदेखिको नगरको घरको लागि जे जति प्रयासहरु भएका छन् जे जति उपलब्धीप्राप्त भएको छ , सकारात्मकनै छ । हामी कुनै बिष्यमा छलफल र बहस त्यो बेलासम्म गर्नु उपयुक्त हुन्छ जुन बेलासम्म हाम्रो धैर्यता रहन्छ । हामी छलफल र बहस नै नगर्नु वा हदभन्दा धेरै छलफल र बहस गर्नु दुवै अनिर्णयका सूचक हुन् । गर्मीमा तातो पानी र जाडोमा चिसो पानी राखेर दहि मोथ्न लाग्यौ भने हामीले चाहे अनुसारको नौनी निकाल्न सक्दैनौ तसर्थ समय र परिस्थिति अनकूल आपसी छलफल , विचार र विमर्श गरी छिटो भन्दा छिटो गलकोटको घर बनाउने दिशातर्फ केन्द्रित होउँ ।

प्रतिक्रिया दिनुहोस्