नेकपा विवादका बाछिटाहरु



  • डा. टीकाराम पोखरेल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद चरमचुलीमा छ । लामो समयदेखि प्रधानमन्त्रीको राजीनामाको विषयलाई लिएर चलेको विवादको असर र प्रभाव अब पार्टीभित्र मात्र सीमित नरहेर निकै परसम्म फैलिएको छ । भनिन्छ– प्रेम र द्वन्द्वमा सबै कुरा जायज हुन्छ । नेकपा पार्टीभित्रको द्वन्द्वमा देखिएका अस्वाभाविक क्रियाप्रतिक्रिया पनि अब स्वाभाविक लाग्न थालिसकेको छ । झन् द्वन्द्व एकातिर, तरंग अर्कातिर हुँदा त यसले राजनीतिक परिदृश्यमा नौलो परिस्थिति सिर्जना गरेको छ ।

एक पार्टी, दुई गुट, तीन खेमा
नेकपाका शीर्षस्थ दुई अध्यक्षबीचको विवाद यति बेला दुई अध्यक्षमा मात्र सीमित छैन । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि तल्लो तहका सबै कमिटीहरुमा पुगेको छ । दुई अध्यक्षको दुई गुट भए पनि, त्यसमा प्रचण्डसँगै सहकार्य गर्ने भए पनि माधव नेपालको अर्को छुट्टै समूह हेर्दा दुई गुट तीन देखिन्छ ।

अहिले नेकपामा नेकपाका कार्यकर्ता वा नेता छैनन्, मात्र खेमाका नेता वा कार्यकर्ता छन् । कसैले पार्टीको विचार र बहस गर्दैनन्, मात्र आफ्नो खेमाको वकालत गर्छन् । मानौँ यी नेता र कार्यकर्ता एकै पार्टीका नेता–कार्यकर्ता नभएर कुनै युद्धमोर्चामा एक–अर्कामाथि आक्रमण गर्न तयार युद्धमोर्चाका सिपाहीहरु हुन् ।

निकासविहीन र लामो विवाद
दुई पार्टी एकता भएर नेकपा बनेको जति समय भयो त्यसको आधा जति समय त विवादमै बित्यो । नेकपा विवाद र एकता कुन जेठो भन्ने हो भने जुम्ल्याहा हुन् कि भन्नुपर्ने स्थिति छ । अर्थात् एकतासँगै दुई अध्यक्षको व्यवस्था गरेर नै विवादको बीउ तत्कालै रोपियो । शक्ति दुईतिर विभाजन गरेको नेकपाको शक्ति दुई ध्रुवमा धु्रवीकरण हुँदै जाँदा आजको स्थिति देखा प¥यो ।

वर्तमान परिस्थितिमा दुवै पक्ष टसमस नभएको देख्दा यो विवाद निकासविहीन मात्र छैन, अझै लामो समय चल्ने जस्तो देखिन्छ । एक पक्षले अर्को पक्षलाई गलाएरै छाड्ने रणनीतिमा शीर्षस्थ नेतादेखि तल्लो तहका कार्यकर्तासमेत बहसमा उत्रिनुले अब नेकपामा महाधिवेशनसम्म नै यो विवाद जाने अनुमान गर्न सकिन्छ । आजको विवादले नेकपाको आगामी महाधिवेशनमा समेत प्रभाव पर्नेछ ।

नेकपाका शीर्षस्थ दुई अध्यक्षबीचको विवाद यति बेला दुई अध्यक्षमा मात्र सीमित छैन । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि तल्लो तहका सबै कमिटीहरूमा पुगेको छ । दुई अध्यक्षको दुई गुट भए पनि, त्यसमा प्रचण्डसँगै सहकार्य गर्ने भए पनि माधव नेपालको अर्को छुट्टै समूह हेर्दा दुई गुट तीन देखिन्छ ।

राष्ट्रपति विवादमा
संसदीय व्यवस्थाको जननी मानिने बेलायतमा राजाले गल्ती गर्दैनन् (द किङ क्यान डु नो रङ) भन्ने मान्यता छ । संवैधानिक सर्वोच्चता भएको व्यवस्थामा सक्रिय राजा नहने र राजाले जे गर्छन् त्यो मन्त्रिपरिषद्को सिफारिसमा मात्र गर्ने भएकाले राजाले गल्ती गर्दैनन् भनिएको हो । विश्वबाट राजतन्त्र हट्दै गएर गणतन्त्र आउन थालेपछि राजाको ठाउँ राष्ट्रपतिले लिए ।

खास गरी आलंकारिक (सेरेमोनियल) भूमिका भएका राष्ट्रपतिहरु राजाजस्तै निर्विवाद हुनुपर्ने हो । नेपालको राष्ट्रपति पनि कार्यकारी नभएकाले पार्टीका विवादबाट निकै पर बस्नुपर्ने हो । तर नेकपा विवादले राष्ट्रपतिलाई एकपटक मात्र होइन, पटक–पटक विवादमा तानेको छ ।

विवादमा राष्ट्रपतिको हस्तक्षेप भएका समाचार आएका मात्र होइनन् एकपक्षले राष्ट्रपतिमाथि अविश्वासको प्रस्ताव आउन लाग्यो भन्ने प्रचार गर्ने र अर्को पक्षले फेरि अविश्वासको प्रस्ताव ल्याउन लागेको होइन भनेर स्पष्टीकरण दिनुपर्ने स्थितिले एक पक्षले राष्ट्रपतिको भूमिकामाथि भर परेको र अर्को पक्षले राष्ट्रपतिको भूमिकामाथि नै आशंका गरेको देखिन्छ । त्यसो त विवादले चरम रुप लिएमा राष्ट्रपतिको भूमिका केसम्म होला भन्नेसम्मका चर्चा पनि चलेकै छन् ।

संसद् बन्धक
संसद्लाई जनप्रतिनिधिको सर्वोच्च संस्था भनिन्छ । जनप्रतिनिधिको संस्था त जनप्रतिनिधिकै अधीनमा हुनुपर्ने हो तर नेकपा विवादले यसलाई समेत असर पारेको छ । नेकपाभित्र यो विवाद नहुँदो हो त यति बेला संसद् चलिरहेको हुने थियो । विधेयकहरु पारित भैरहेका हुने थिए, सार्वजनिक सरोकारका विषयमा संसद्मा बहस भैरहने थियो । जनसरोकारका विषयमा मन्त्रीहरुले धारणा राखिरहेका हुने थिए ।

तर नेकपा विवादले संसद् हठात बन्द भयो । संसद् बैठक बोलाउने र अन्त्य गर्ने सामान्य प्रक्रिया भए पनि जुन तरिकाले संसद्को अन्त्य गरियो, त्यो त्यति स्वाभाविक देखिएन । पार्टीका विवादलाई पाखा लगाउन संसद् बन्द हुनु र भंग हुने चर्चासम्म चल्नु प्रिय लाग्ने कुरा होइन तर जति अप्रिय भए पनि विवादले संसद्लाई समेत अछूतो रहन दिएन ।

कांग्रेससमेत तानियो
नेकपा आन्तरिक विवाद नेकपाभित्र मात्र सीमित रहेन । विपक्षी कांग्रेस पनि यस विवादबाट अछूतो रहेन । नेकपाको एक समूहले पार्टी फुटाएर कांग्रेससँग सरकार बनाउने र त्यस कार्यमा कांग्रेसले साथ दिने भन्ने समाचार आए । कांग्रेस सभापतिले प्रधानमन्त्रीलाई भेटेकोदेखि नेकपाका नेता विभिन्न प्रस्ताव बोकेर कांग्रेस सभापतिकोमा पुगेका भन्ने समाचार हेडलाइनमै देखिए ।

कांग्रेस सभापतिले अर्को पार्टीको विवादको विषयलाई लिएर आफ्नो पार्टीमा समेत स्पष्टीकरण दिनुप¥यो । सभापतिले स्पष्टीकरण दिनु भनेको कांग्रेसको केन्द्रीय समितिमा नेकपा विवाद एजेन्डा नै बनेर प्रवेश गरे बराबर हो । कांग्रेस प्रवक्ताले अरु पार्टीको विवादका विषयमा आफ्ना धारणा राखेको पनि देखियो । विवाद नेकपाभित्रको आन्तरिक भए पनि समाचारमाध्यमहरुमा यस विषयमा कांग्रेस नेताका बग्रेल्ती विचार देखिए ।

भारतमा तरंग
नेकपा विवादको छिटा नेपालभित्र मात्र सीमित छैन, मित्रराष्ट्रतिर समेत पुगेको छ । पार्टीभित्र रक्षात्मक रहेका प्रधानमन्त्री वलीका विरुद्ध भारतीय मिडिया खुलेरै लागेका छन् । तथ्यपरक समाचारभन्दा पनि भारतीय मिडिया कुप्रचारमा बढी सक्रिय छन् । त्यसो त भारतीय मिडियाको कुप्रचारलाई आधार मानेर हुन सक्छ, स्वयम् प्रधानमन्त्रीले समेत भारतले आफूलाई हटाउन चाहेको भनिरहेका छन् ।

लिपुलेक लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि चुलिएको नेपाल–भारत विवाद नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको विषयमा समेत आएर ठोक्किएको छ । भारतीय सत्ताले प्रधानमन्त्रीलाई हटाउन प्रत्यक्ष कसरत गरेको छ÷छैन किटान गरेर भन्न नसकिए पनि नेकपाभित्रको आन्तरिक मामिलामा ओली कमजोर देख्न भने भारतले अवश्य चाहेको छ ।

चीन सक्रियता
नेकपा विवादमा भारतभन्दा बढी चीन तानिएको छ । विश्व राजनीतिमा तुलनात्मकरुपमा चीनको वैदेशिक नीतिलाई सन्तुलित भनिन्छ । नेपालको सन्दर्भमा पनि विगतमा भारतमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्छ, तर चीनले आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्ने गरिन्थ्यो । तर अब नेपालको चीनप्रतिको त्यो दृष्टिकोण परिवर्तन नगरी सुखै छैन ।

नेकपाभित्रको विवादलाई चीनले देशभित्रको, देशभित्र पनि एउटा पार्टी विशेषको र पार्टीभित्रको पनि केही नेता विशेषको विवादको रुपमा लिन सकेन । नेताको विवादलाई चीनले निकै नजिकबाट नियालेको पाइयो, त्यसैले चीनले आफ्ना राजदूतलाई सक्रिय बनायो ।

फलस्वरुप यसअघि नेकपाभित्रको विवादलाई केही मत्थर बनाउन सफल चिनियाँ राजदूत यसपटक पनि कम्मर कसेरै लागिन् । राजनीतिक र कूटनीतिक वृत्तमा उनको भूमिका आलोच्य भए पनि राजदूत आफ्नो मिसनमा डटेरै लाग्ने देखिएको छ ।

समाचार माध्यमको चासो
समाचार माध्यमहरु बिक्ने समाचार खोज्छन् । यो स्वाभाविक भए पनि केही महिनादेखि एउटै विषयले निरन्तरता पाउनुचाहिँ त्यति रुचिकर देखिँदैन । मिडियाका हेडलाइनहरु मूलतः नेकपा विवादमा केन्द्रित छन् । राजनीतिक विश्लेषकका विश्लेषण र विचारहरु यतैतिर छन् ।

हुन सक्छ पाठकको रुचि पनि यसैतर्फ भएर हो वा राजनीतिले समाजलाई बढी प्रभाव पार्ने भएर पनि हो वा नकारात्मक समाचार बढी बिक्ने भएर पनि होला, समाचार माध्यमको प्रमुख समाचार नै केही महिनादेखि नेकपा विवाद बनेको छ । बिहान उठ्नासाथ एफएम रेडियो खोलौँ वा बेलुका टेलिभिजन खोलौँ वा छापा समाचारपत्रहरु नै किन नहेरौैैँ, जताततै नेकपा विवाद भेटिन्छ ।

सोसल मिडियामा चर्चा
सोसल मिडियाहरुमा समसामयिक चर्चाका कुरा बढी आउँछन् । नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताका भित्ता नेकपा विवादको रंगले रंगिएका छन् । प्रयोगकर्ताका स्टाटस हेरौँ वा उनीहरुले शेयर गरेका समाचार हेरौँ वा एकको विचार र स्टाटसमा अर्कोले गरेको कमेन्ट नै किन नहेरौँ, ती सबै नेकपा विवादमय छन् ।

अरु सबै छायामा
यति बेला विश्व नै कोभिड–१९ बाट प्रभावित छ । नेपालमा पनि यसको प्रभाव परेको छ । तर नेकपाको विवादले कोभिडको विषय नै छायामा परेको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने गम्भीर विषयभन्दा राजनीतिक विषयले समाजमा बढी स्थान पाउँदो रहेछ । कोभिडको प्रभाव मात्र होइन देशभर बाढी र पहिरोको मौसम छ । बाढी–पहिरोमा परी दर्जनौँ मानिस मरेका छन्, कैयौँ बेपत्ता छन्, करौँडोको क्षति भएको छ । तर यसको चर्चा कमै छ । लिपुलेक, कालापानी, लिम्पियाधुराजस्तो राष्ट्रियताको विषयसमेत सेलाएको छ । यी सबै नेकपा विवादको छायामा परेका छन् ।

राजनीतिमा कुर्सी र पदका विवादले जनताका एजेन्डा कसरी छयामा पर्दछन् भन्ने यो ज्वलन्त उदाहरण हो । नेकपा नेता र कार्यकर्तालाई नेकपा विवाद ठूलै चासो र चिन्ताको विषय होला । प्रतिपक्ष कांग्रेसले नेकपा विवादमा आफूलाई चासो छैन भने पनि उसले यो विवादलाई निकै चासोको साथ हेरिरहेको अवश्यक होला । राजनीतिमा आफू बलियो हुनु मात्र शक्ति होइन, अरु कमजोर हुनु पनि शक्ति हो, त्यसैले कांग्रेस यो विवादबाट अछूतो छैन ।

तर निम्नवर्गीय जनतालाई भने यस विवादमा कुनै सरोकार छैन । कोरोनाले थलिएको अर्थतन्त्रले देश धान्न कठिन छ तर यति बेला यस्ता विषय पनि बहसमै छै्रनन् । जनताको गाँस, बास र कपासको विषय एजेन्डा नै बन्न सकेन । जनताद्वारा, जनताका लागि, जनताको शासन भन्ने उपमा पाएको लोकतन्त्रमा पनि केही नेताको विवादले यति ठूलो प्रभाव छोड्नु र जनसरोकारका विषय छायामा पर्नु अत्यन्त दुःखद हो ।

प्रतिक्रिया दिनुहोस्