युवा समुहद्वारा वडा कार्यालयमा ताला



मानबहादुर बोहरा, बझाङ ।

युवाहरूको समुहले वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बैतडीको सिगास गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयमा स्थानीय महादेव युवा सञ्जालमा आवद्ध युवाहरुले तालाबन्दी गरिदिएका हुन् । आफुहरुको मागको सुनुवाइ नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिदिएको सञ्जालका अध्यक्ष राजेन्द्र रोकायाले जानकारी दिए ।

गाउँमा जाडरक्सीकै कारण विभिन्न हिंसात्मक घटना हुनथालेकोले वडामा जाडरक्सी पूर्णरूपमा बन्द हुनुपर्ने माग राख्दै गएको असार २५ गते वडामा निवेदन दिएको बताउँदै युवा सञ्जालका अध्यक्ष रोकायाले भने, ‘हामीले ३ दिन भित्र हाम्रो माग सम्बोधन हुनुपर्ने माग राखेका थियौं । तर, अहिलेसम्म पनि त्यसको सुनुवाइ भएन । त्यसैले हाम्रो माग प्रति जनप्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराउन र माग पूरा गराउन वडा कार्यालय बन्द गर्न बाध्य भएका हौँ ।’

तर, यो विषय वडा अध्यक्ष डम्बरसिंह धामीले आफूलाई जानकारी नभएको बताए । केटाहरु मदिरा बन्द हुनुपर्छ भनेर आक्रोसित थिए । एक हप्ता अघि मलाई एउटा पत्र पनि दिएका थिए । वडाध्यक्ष धामीले भने, ‘म आज घरमै भएकोले जानकारी भएन । तर, केटाहरुको माग प्रति मरो पनि सहमति हो ।’

वडाध्यक्ष धामीले वडामा मदिरा पूर्णरूपमा बन्द गर्न युवाहरूले राखेको मागलाई आफूले गाउँपालिका देखि जिल्ला प्रशासनसम्म जानकारी गराइसकेको बताएका छन् । तर, वडाको पहलमा मात्रै मदिरा बन्द गर्न नसकिने उनको भनाइ छ । आक्रोसित भएर, आन्दोलित भएर वडा कार्यालय बन्द गर्न नहुने बताउँदै छलफल र सहमति अनुसार अघि बढ्नुपर्ने वडाध्यक्ष धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्