आज जितेमा रियल मेड्रिड च्याम्पियन बन्ने



मेड्रिड, एजेन्सी ।

नेपाली समय अनुसार आज राति १२ः४५ बजे ला लिगा अन्तर्गत रियल मेड्रिड र भिया रियल आमने सामने हुँदैछ । उक्त खेलपछि यस सिजनको स्पेनिस ला लिगाको उपाधि विजेताको टुंगो लाग्ने सम्भावना प्रबल छ ।

यदि उक्त खेलमा रियल मेड्रिड विजयी बनेमा ३४औं पटक ला लिगाको उपाधि उचाल्ने पक्का छ । रियल मेड्रिड जारी सिजनको स्पेनिस ला लिगा जित्नबाट एक जित मात्र टाढा रहेको छ ।

सान्तिएगो बेर्नबेउ स्टेडियम पुनः निर्माण भइरहेकोले रियलले आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भिया रियलसँग प्रतिस्पर्धा गर्दैछ । रियललाई उपाधि जित्नका लागि मात्र २ अंकको खाँचो छ ।

शीर्ष स्थानको रियलसँग ८३ अंक रहेको छ । रियल साविकको विजेता बार्सिलोनाभन्दा चार अंकले अगाडी रहेका छन् । समान म्याच खेलेको बार्सिलोनासँग ७९ अंक रहेको छ । कोरोनापश्चात् सुचारु ला लिगामा रियलले खेलेको सबै ९ खेलमा शतप्रतिशत जित निकालेको छ ।

यदि आज जितेमा रियल एक खेल बाँकी छदै ला लिगा च्याम्पियन बन्नेछ । बराबरी अथवा हारले भने बार्सिलोनाको खेल र रियलकै अन्तिम म्याचको नतिजा नै कुर्नुपर्ने हुन्छ । यदि ३७औं चरणको खेलमा बार्सिलोना ओसासुनासँग पराजित भएमा पनि रियल च्याम्पियन बन्नेछ ।

रियल र बार्सिलोना दुवै टोली आज रातिको खेलमा बराबरी वा पराजित भएको अवस्थामा पनि रियल च्याम्पियन बन्नेछ । त्यस्तै, आज रियलविरुद्ध उत्रने भिया रियल भने ५७ अंकका साथ पाँचौं स्थानमा छ । भिया रियलमाथि जित निकाल्न नसके रियलले उपाधिका लागि आफ्नो अन्तिम खेलसम्म कुर्नु पर्ने सम्भावना पनि जिवितै छ ।

जारी सिजनको अन्तिम खेलमा रियलले १८औं स्थानको लेगानेसको चुनौती पाउनेछ । रियल र बार्सिलोनाको अंक बराबरी भएको खण्डमा रियल हेड टू हेडको आधारमा पनि च्याम्पियन बन्नेछ ।

कोरोनाबाट लिग रोकिनु अघि बार्सिलोनाले अंक तालिकाको शीर्षस्थान कब्जा गर्दै आएका थिए । तर, कोरोनापछि सुचारु भएको खेलमा बार्सिलोना सेभिया, सेल्टा भिगो र एथ्लेटिको मेड्रिडसँग बराबरीमा रोकिएपछि उपाधि होडमा कमजोर बन्न पुगेको हो ।

अब बार्सिलोनाले ११औं स्थानको ओसासुना र १७औं स्थानको अलाभेससँग खेल्न बाँकी छ । कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला नौ खेलमध्ये बार्सिलोनाले छ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ । रियलले हालसम्म ला लिगा ३३ पटक जितिसकेको छ । जबकि, बार्सिलोनाले ला लिगा मात्रै २६ पटक जितेको छ । तर, बार्सिलोनाले पछिल्ला वर्षहरूमा लगातार ला लिगा जित्दै आएको थियो ।

रियल सन् २०१६र१७ को सिजनपछि पहिलोपटक उपाधि नजिक पुगेको हो । यो महत्त्वपूर्ण खेलमा जित निकाल्नका लागि रियलले बलियो टोली मैदानमा उतार्नेछ । आजको खेलबाट लुका जोभिक मैदान फर्किँदैछन् ।

कोरोना भाइरसको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै सर्बियन स्टार जोभिक रियल मेड्रिडको टोलीमा फर्किएका हुन् । उनलाई प्रशिक्षक जिनेदिन जिदानले प्रारम्भिक टोलीमा राखेका छन् ।

जोभिकबाहके इडेन हाजार्ड, करिम बेन्जेमा, भिनिसियस जुनियर रोड्रिगो, लुकास भास्क्वेज, गेरेथ बेल, मार्को एसेन्सियो, सर्जियो रामोस, फर्लान्ड मेन्डी, नाचो, इस्को, लुका मोड्रिच, टोनी क्रुस, क्यासेमिरोलगायत प्रारम्भिक टोलीमा छन् ।

प्रतिक्रिया दिनुहोस्