‘प्लस टु’ पछि के पढ्ने होला ?



माध्यामिक शिक्षा (प्लस टु) तह पूरा भएपछि बल्ल विद्यार्थीको भविष्यको बाटो प्रस्ट हुन थाल्छ । अझ भनौं, भविष्यको रेखा कोर्ने कार्यको थालनी हुन्छ । हुन त विद्यार्थीले प्लस टुमा भर्ना हुँदाखेरि नै भविष्यको लक्ष्यका बारेमा सोचिसकेका हुन्छन्, तर प्लस टुको नतिजाले मात्र उनीहरुको सोचाइका खाकाले सार्थकता पाउने गर्दछ ।

एसएलसी परीक्षाको नतिजाका आधारमा भविष्यमा चिकित्सक बन्ने लक्ष्य लिएको हुन सक्दछ, तर प्लस टुमा चाहेजस्तो नतिजा प्राप्त हुन नसक्दा विद्यार्थीको बाटो अन्यत्र मोडिन सक्दछ । अनि विज्ञान विषय लिएर उच्च शिक्षा अध्ययन गर्ने यात्रा शुरु हुन्छ वा संकाय परिवर्तन गरेर स्नातक तहमा भर्ना हुने निष्कर्षमा विद्यार्थी पुग्दछन् । त्यसैले विद्यार्थीको भविष्य प्लस टुको नतिजाका आधारमा हुन्छ भन्न सकिन्छ ।

सही सुझाव वा परामर्शको अभावमा विद्यार्थीले गलत निर्णय लिन पनि सक्दछन् । स्वदेशमै पढ्ने वा विदेशतर्फ लाग्ने ? होटेल व्यवस्थापन विषय लिने वा बीबीएमा भर्ना हुने ? नर्सिङ पढ्ने वा बीएससीका लागि भर्ना हुने ? शिक्षाशास्त्र विषय लिएर अध्यापक बन्ने वा व्यवस्थापन विषय लिएर कुशल व्यवस्थापक बन्ने ? सरकारी क्याम्पसतर्फ लाग्ने वा निजी शिक्षण संस्थामा भर्ना हुने ?

विद्यार्थीलाई निर्णय लिन पक्कै पनि सजिलो हुँदैन । यी कुरा विद्यार्थीको बौद्धिक तथा आर्थिक क्षमतामा निर्भर गर्दछ । विषय छनोटमा केही हदसम्म सामाजिक तथा पारिवारिक भूमिका पनि जोडिन आउँछ । नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन संकाय छन् । अन्य विषयमा स्नातक तह उत्तीर्ण गरेकाले मात्रै कानुनको स्नातक तहमा भर्ना हुन पाइन्छ ।

कस्ता छन् विषय ?
विद्यार्थी संख्याका आधारमा सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय हो । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी विद्यार्थी भर्ना त्रिविमा भएका छन् । त्रिविले स्नातक तहमा नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीबीए, बीसीए (हाल चारवटा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित) बी फार्मेसी, बी फर्मा, बीएन, बीई (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स), बी टेक, बीएससी टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, बीएससी न्युट्रिसन एन्ड डाइटिटिक्स), बीएससी एजी, बीएससी फरेस्ट, बीबीए, बीए, बीएडलगायतका विषय सञ्चालन गर्दै आएको छ । अहिले अधिकांश विश्वविद्यालयले स्नातक तहमा सेमेस्टर प्रणाली लागू गरिसकेका छन् ।

६–६ महिनामा परीक्षा लिने भएर होला, व्यवस्थापन संकायको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या बढेको पाइन्छ । काठमाडौं विश्वविद्यालयले बीएससी इन एप्लाइड फिजिक्स, बीएससी फार्मेसी, बीएससी इन इन्भाइरोमेन्टल साइन्स, बीएससी इन हुमन बाइलोजी, बीई (सिभिल, कम्प्युटर, मेकानिकल, जियोम्याटिक्स), बीए बुद्धिस्ट इस्टडिज, बीए फाइन आर्टस्, एमबीबीएस, बीएससी नर्सिङ, बीडीएसलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तर, केयुले स्नातक तहमा व्यवस्थापन विषयमा अध्यापन शुरु गरिसकेको छैन । गतवर्ष केयुमा स्नातक तहमा ८ हजार विद्यार्थी भर्ना भएका थिए । पूर्वाञ्चल विश्वविद्यालयको झन्डै १ सय २५ क्याम्पसमध्ये तीनवटा मात्र आंगिक छन्, बाँकी सबै सम्बन्धन प्राप्त छन् । यस विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एन्ड टुरिज्म), बीएफडी (फेसन डिजाइ), बीएमटी (मेडिया टेक्नोलोजी), बीजेएमसी (जर्नलिज्म एन्ड मास कम्युनिकेसन्स), बीई (सिभिल, कम्प्युटर, आर्किटेक्ट, बायोमेडिकल), बीएससी बायोटेक्नोलोजी, बीपीएच, बीएससी नर्सिङ, बी फार्मेसीलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पोखरा विश्वविद्यालयले बीई (सिभिल, सिभिल एन्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर अफ डेभलपमेन्ट स्टडिजलगायतका विषयमा पठनपाठन गर्दै आएको छ । पोखरा विश्वविद्यालयले गतवर्ष स्नातक तहमा झन्डै १५ हजार विद्यार्थी भर्ना लिएको थियो ।

कृषि तथा वन, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि शैक्षिक कार्यक्रम शुरु गरेका छन् । कृषि तथा वन विश्वविद्यालयले बीएससी एजी, बीएससी फरेस्ट्री तथा बीएससी भेटनरी साइन्स एन्ड एनिमल हस्वेन्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीबीएस, बीए, बीएससी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएससी कम्प्युटर साइन्स विषयमा पठनपाठन शुरु गरेका छन् । सूप विश्वविद्यालयले बीबीएस र बीए ४ बर्से अनर्स कार्यक्रम चलाएको छ भने यस वर्षबाट बीएससी र बीई सिभिल कार्यक्रम शुरु गर्दै छ ।

भर्ना समयः
प्लस टुको नतिजासँगै विश्वविद्यालय तथा प्रतिष्ठानहरुले नयाँ विद्यार्थी भर्नाको आह्वान गर्ने गरेका छन् । अझ त्रिविको इन्जिनियरिङ अध्ययन संस्थानले नयाँ भर्नाको विज्ञापन गरी भर्ना सकेको अवस्था छ । कतिपयको भर्ना प्रक्रिया आगामी पुस–माघसम्म चलिरहेको हुन्छ । नाम चलेका शिक्षण संस्थाले भने भर्ना प्रक्रिया सकेर मंसिरदेखि पढाइ शुरु गर्ने तयारी गरेका छन् ।

शुल्क
विश्वविद्यालय र विषयपिच्छे शुल्क फरक–फरक हुन्छ । आंगिक क्याम्पसमा तुलनात्मकरूपमा कम खर्चमै अध्ययन गर्न सकिन्छ । सम्बन्धन लिएका निजी कलेजहरु बढी महँगा छन् । नेपालमा सबैभन्दा महँगो शिक्षा एमबीबीएस हो । एमबीबीएस तह अध्ययन गर्दा करिब ४५ लाख रुपियाँ खर्च लाग्छ । इन्जिनियरिङ विषय अध्ययन गर्दा सरदर ८ लाख रुपियाँ लाग्छ । इन्जिनियरिङमा विद्यार्थीको सबैभन्दा बढी चाप सिभिल, आर्किटेक्ट र कम्प्युटरमा हुन्छ । सबैभन्दा कम खर्चिलो शिक्षा त्रिविको मानविकी र शिक्षाशास्त्र हो । विज्ञान, व्यवस्थापनलगायतका संकायमा विषय र कलेज हेरी १० हजारदेखि ५ लाख रुपियाँसम्म खर्च लाग्न सक्दछ ।

विदेशी सम्बन्धनका कलेज 
नेपालमा विदेशी विश्वविद्यालय तथा संस्थाबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरु पनि थपिँदै छन् । विदेशी विश्वविद्यालयमा भर्ना भई पढ्ने चाहनालाई घरपरिवारमै बसेर पूरा गर्न सकिन्छ । अझ विदेशमा गई अध्ययन गर्दा लाग्ने कुल खर्चको सरदर १० प्रतिशत रकममा नेपालमा खुलेका विदेशी सम्बन्धन प्राप्त कलेजमा अध्ययन गर्न सकिन्छ । त्यस्ता शिक्षण संस्था करिब ८० वटा पुगे पनि स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने कलेजहरु करिब २६ वटा छन् ।

यी कलेजहरुले बीसीए, बीबीए, बीकम, बीएससी एफडी, बीटीएम, बीएससी बीटी, बीएचएम, बीएजेएम, बीएससी आईटी, बीएससी कम्प्युटिङ, बीएससी मल्टिमिडिया टेक्नोलोजी, बीबीएमलगायतका विषयहरु उपलब्ध गराएका छन् । शिक्षा मन्त्रालयले मलेसिया, सिंगापुर, भारत, युके, अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रिया, अस्ट्रेलिया, फिलिपिन्स, थाइल्यान्डका विश्वविद्यालयहरुका सम्बन्धन प्राप्त कलेजहरुलाई अनुमति दिएको छ । यस्ता कलेजहरुमा अध्ययन गर्न विषय र विदेशी संस्थाअनुसार ३ देखि १२ लाख रुपियाँसम्म खर्च लाग्छ ।
– बिराज शाक्य, लगनखेल ।

 

प्रतिक्रिया दिनुहोस्