नेपालमा डेंगुको प्रकोप र बचावट



  • डा. उज्वल न्यौपाने

डेंगु लामखुट्टेको टोकाइको माध्यमबाट एक–अर्कामा सर्ने एक प्रकारको भाइरल रोग हो । यो रोग विश्वका धेरै देशहरुमा प्रकोपको रुपमा देखा परेको छ । डेंगु सार्ने भेक्टर एडिस नामक लामखुट्टेको प्रजातिको संख्या बढेसँगै नेपालमा पनि पछिल्ला वर्षदेखि डेंगुको प्रकोप महामारीका रुपमा बढ्दो रहेको छ ।

डेंगु रोग लगाउने भाइरसलाई डेंगु भाइरस नाम दिइएको छ । यस भाइरसमध्ये डेंगु भाइरस–१ को प्रकोप सबैभन्दा धेरै रहेको छ । केही वर्षपहिलेसम्म तराईमा मात्र देखा परेको यो रोग केही समयदेखि काठमाडांै उपत्यकालगायत देशैभरि देखिन थालेको छ ।

समयमै सचेत भई डेंगुलाई नियन्त्रण गर्न सकिएन भने कुनै पनि समय यसले महामारीको रूप धारण नगर्ला भन्न सकिन्न । विशेषतः अहिले गर्मीसँगै वर्षाको समय भएकोले डेंगुका लागि अनुकूल मौसम हो । साथै यतिखेर डुबानसमेत भइरहेकाले यसको जोखिम थप बढी हुने हुँदा अहिलेको समयमा अझै बढी सावधानी अपनाउनु जरुरी हुन्छ ।

डेंगुको उत्पत्ति:
स्तनधारी जीव हुँदै मानिसमा सरेको अनुमान गरिएको डेंगुको उत्पत्ति झन्डै ५ सयदेखि १ हजार वर्षपहिले भएको अनुमान गरिएको छ । नेपालमा पहिलो पटक सन् २००४ मा देखिएको यो रोग त्यसपश्चात् विभिन्न उष्ण प्रदेशीय तथा उप–उष्णप्रदेशीय भागहरुमा तीव्रगतिमा फैलिएको छ । उष्ण प्रदेशहरुमा फैलिनुमा महत्वपूर्ण भूमिका खेल्ने तत्वहरुमा भारी वर्षा, तापक्रम, वायुको आद्रता, शहरीकरण तथा भेक्टरको रोकथाममा असमर्थ हुनु मुख्य छन् ।

संक्रमणकै हिसाबमा भन्ने हो भने पहलो पटक सन् २००६ मा नेपालमा यसको संक्रमण फैलिएको पाइएको थियो । त्यस बेला मनसुनपश्चात्को समयमा तराईका विभिन्न भागमा गरी ३२ वटा संक्रमण भेटिएको थियो, जसमा चारवटै प्रजातिका डेंगुका भाइरस भेटिएको थियो ।

पछिल्लो ५ वर्षयता संक्रमण संख्यामा उल्लेख्य वृद्धि आएको पाइएको छ । झापा, चितवन, रुपन्देही, महोत्तरी, कास्की, सुनसरीलगायतका जिल्लामा बढ्दो संक्रमण रहेको पाइएको छ । सन् २०१९ मा अहिलेसम्मकै बढी १४ हजार ६ सय ६२ संक्रमण देखियो । जसअन्तर्गत ७७ मध्ये ६८ जिल्लामा यसको संक्रमित भएको भेटियो ।
विश्वमा यो रोगका कारण हुने मृत्युदर सरदर वार्षिक १ प्रतिशतभन्दा कम नै रहेको छ ।

सन् २०१९ मा नेपालमा यो रोगका कारण ६ जनाले ज्यान गुमाएका थिए । काठमाडौं उपत्यका डेंगु भेक्टरका लागि अनुकूल नरहेको भए तापनि बढ्दो शहरीकरण, फोहोरको असुरक्षित व्यवस्थापन र जनसंख्याको तीव्र वृद्धिका कारण राजधानीमा पनि १,५८३ संक्रमित भेटिएको थियो ।

समयमै सचेत भई डेंगुलाई नियन्त्रण गर्न सकिएन भने कुनै पनि समय यसले महामारीको रुप धारण नगर्ला भन्न सकिन्न । विशेषतः अहिले गर्मीसँगै वर्षाको समय भएकोले डेंगुका लागि अनुकूल मौसम हो । साथै यतिखेर डुबानसमेत भइरहेकाले यसको जोखिम थप बढी हुने हुँदा अहिलेको समयमा अझै बढी सावधानी अपनाउनु जरुरी हुन्छ ।

कसरी सर्छ ?

एडिस एजिप्टी नाम रहेको लामखुट्टेको महिला प्रजाति डेंगुका प्रमुख भेक्टर हुन् । दिनमा मान्छेको रगत चुसेर बाँच्ने यो प्रजाति मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने क्षमता राख्दछ । भेक्टरले टोकेपछि भाइरसलाई मानिसको रगतमा जम्मा गर्छ र यो भाइरस मानिसको शरीरमा फैलिन्छ ।

रगत खाइसकेपछि यसले ताजा पानी जम्मा गरेको भाँडाकुँडा खोजेर अण्डा पार्ने गर्छ । एउटा पानीको स्रोतमा एक सयदेखि दुई सयसम्म अण्डा पार्न सक्छ । एकपटकमा यस्ता कैयौं स्रोतहरुमा अण्डा जम्मा गर्छ । यसका अण्डा निर्जलीकरण प्रतिरोधात्मक भएकाले यस भेक्टरको जनसंख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस पसी संक्रमण प्रक्रिया बढाउन सक्छ । एकपटक संक्रमण भएपछि मानिसमा त्यस प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ । तसर्थ ४ प्रजातिका भाइरसले एक व्यक्तिमा ४ पटक संक्रमण गर्न सक्छन् ।

लक्षण के–के हुन् ? 
डेंगु लागेको २ देखि ७ दिनमा यस रोगका लक्षणहरु देखिन थाल्छन् । जसमा उच्च ज्वरो आउनु प्रमुख लक्षण हो । यस बेला १०४ डिग्री फरेनहाइट ज्वरो आउन सक्छ । साथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, बान्ता आउने, ग्रन्थि सुन्निने आदि हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले डेंगुलाई साधारण डेंगु र जटिल डेंगुमा विभाजन गरेको छ । सामान्य लक्षण तथा स्वयं सीमित भएर जाने रोगलाई साधारण डेंगु भनेको छ । चेतावनीमूलक लक्षण देखिनेलाई जटिल डेंगु भनेको छ ।
संक्रमणको ३ देखि ७ दिनपछिको समयमा ज्वरो कम हुँदै गएर चेतावनीमूलक लक्षण देखिन सक्छ ।

जुन कतिपय घातक पनि हुन सक्छ । यी लक्षणहरुमा धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वास–प्रश्वास तीव्र हुने, गिजाबाट रगत बग्ने, बान्तामा रगत देखिने, छटपटी हुने आदि पर्दछन् । यी संकेतहरुको आधारमा चिकित्सकले अस्पतालमा बिरामी भर्ना गरी आफ्नो निगरानीमा राखेर जटिल समस्या आउनबाट रोकथाम गर्ने गर्छन् ।

डेंगुका कारण आउन सक्ने सम्भावित जटिलतामा डेंगु हेमोरेजिक फिभर, डेंगु सक सिन्ड्रम आदि पर्छन् । यी अवस्थामा रगतबाट प्लाज्मा खेर जाने, सजिलै रगत बग्ने, नीलडाम बस्ने हुन्छ । यसका साथै रगत बाक्लो भई विभिन्न अंगमा रगत पुग्न नपाएर अंगहरु खराब हँुदै जाने गर्दछन् । धेरैजसो अवस्थामा जटिल संकेत देखिएपछि नसा रिहाइड्रेसन गरेर संक्रमित व्यक्ति पूरै ठीक पनि हुने गर्दछन् ।

यी जटिल संकेत देखिने अवधिलाई क्रिटिकल फेज भनिन्छ । यस्तो अवधि २४ देखि ४८ घण्टासम्म हुन सक्छ । यस अवधिपश्चात् संक्रमितमा बिस्तारै सुधार आउँछ, खाना रुचि बढ्छ, लक्षणहरु हराउँदै जान्छन् र केहीमा शरीरमा एक प्रकारको डाबर, खटिरा देखिन सक्छ ।

जाँच र उपचार पद्धति 
शंकास्पद लक्षण देखिएका बिरामीमा पीसीआर परीक्षण गरेर संक्रमण प्रमाणित गरिन्छ । त्यस्तै संक्रमण फैलिएको अवस्थामा संक्रमणलाई रोकथाम गर्न आरडीटीको पनि प्रयोग गर्न सकिन्छ । डेंगुको उपचार गर्न पहिले विभिन्न जानकारी, सोधपुछ तथा रगतको जाँच गरिन्छ । संक्रमितको लक्षण र जटिलता अनुमान गरी उपचार विधिको प्रणाली तय गरिन्छ । यसअन्तर्गत तीन थरीका उपचार प्रणाली छन् । पछिल्लो १४ दिनमा जोखिम क्षेत्रमा भ्रमण गरेको, उच्च ज्वरो तथा डेंगुका मिल्दाजुल्दा लक्षण देखिएको तर जटिल लक्षण नदेखिएको बिरामीलाई सामान्य लक्षणबमोजिम उपचार गरी घर पठाइन्छ ।

जटिल लक्षण देखिएमा अस्पतालमै राखी उपचार गरिन्छ । जटिल लक्षण देखिएमा आपत्कालीन उपचार गर्नुपर्ने हुन्छ । सामान्य लक्षण रोकथामका लागि पर्याप्त तरल पदार्थको सेवन, ज्वरोको रोकथाम तथा ओछ्यानमा आराम गर्ने सल्लाह दिइन्छ ।

जटिल लक्षण देखिएका बिरामीलाई अस्पतालमा राखी नसाबाट तरल औषधि चलाएर रगतको अवस्था सुधारिन्छ । बेला–बेलामा रगतको जाँच पनि गरिन्छ । साथसाथै विभिन्न अंगको अवस्थाको मापन गरिन्छ । जटिल डेंगुको अवस्थामा धेरै मात्रामा नसाबाट तरल पदार्थको पूर्ति गर्नुका साथै जाँचले अंकित गरेअनुसार रगत प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ ।

बिरामीको अवस्था सुधार हुँदै गएपछि तथा रगतको घनत्व घट्दै गएपछि औषधिको मात्रा घटाउँदै लगिन्छ र लक्षण सुधारपछि डिस्चार्ज गरिन्छ । वृद्ध समूहमा लक्षणहरु सामान्य नै रहे पनि मृत्युदर युवा समूहभन्दा बढी रहेका कारण यस्ता बिरामीको विशेष ध्यान पु¥यानुपर्ने हुन्छ ।

रोकथामका उपायहरु 
डेंगुको रोकथाम गर्न भेक्टर लक्षित उपायहरु अपनाउनुपर्छ । लामखुट्टेको प्रजननमा रोकथाम तथा घरवरपर बसोबास गर्नबाट रोक्ने उपायहरु महत्वपूर्ण छन् । इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट प्रणालीअन्तर्गत भेक्टरलाई कसरी घरवरपर बसोबास गर्न रोक्ने, लामखुट्टेको टोकाइबाट बच्ने तरिका, अण्डा नष्ट गर्ने प्रक्रिया आदि पर्दछन् ।
कीटनाशक प्रयोग गरिएको झुलको प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्टे बसोबास गर्न सक्ने स्थानमा कीटनाशक औषधि छर्किने, हावामा छर्किन मिल्ने स्पेस स्प्रेको प्रयोग गरिन्छ । साथै पानी जम्मा हुने सतहहरु सम्याउने, भाँडाहरु छोप्ने, पानीको सतहमा लामखुट्टे प्रतिरोधी (लार्भा नाशक) औषधिहरु छर्किने, कीराहरु खाने माछा तथा अन्य जीवपालन गर्ने आदि उपायहरु प्रभावकारी छन् ।

त्यस्तै आफ्नो सुरक्षाको लागि रिपेलेन्ट जस्तै लोसनहरुको प्रयोग गर्ने, लामखुट्टे भगाउने धुपहरुको प्रयोग गर्ने पनि महत्वपूर्ण छ । डेंगुको प्रकोप नियन्त्रण गर्न विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था तथा स्थानीयदेखि केन्द्रसम्मका सरकारको सहकार्यमा रोकथामका कार्यक्रमहरु सञ्चालन गरी जोखिमयुक्त क्षेत्रहरुमा डेंगुको कहर नियन्त्रण गर्न सकिन्छ । साथै देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण जनतालाई डेंगुबाट बच्ने उपायहरु सिकाउनसमेत जरुरी छ ।
(लेखक डा. न्यौपाने काठमाडौं मेडिकल कलेजमा कार्यरत हुनुहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्