माक्स नलगाउने २३ सय कारबाहीमा



नेपाल समाचारपत्र, बैतडी

सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई बैतडी प्रहरीले कारबाही गर्ने गरेको छ । मास्क नलगाउनेलाई नियन्त्रणमा लिनुका साथै जरिवानासमेत तिराउने गरिएको छ ।

असार २२ गतेदेखि हालसम्म २ हजार ३ सय १२ जनालाई कारबाही गरिएको बैतडीका प्रहरी प्रवक्ता गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । बजार क्षेत्रमा बिनामास्क निस्केका ६९ जनालाई जनही १ सय रुपियाँ जरिवाना तिराइएको उहाँले बताउनुभयो । यसका साथै ३५ जनालाई माक्ससमेत वितरण गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका अधिकांशलाई माक्स अनिवार्य लगाउनुपर्ने विषयमा सम्झाई–बुझाई छाडिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । गृह मन्त्रालयले असार २२ गते माक्स नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

स्थानीय प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र माक्सबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्न निर्देशन दिइएको हो ।

माक्स नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन–२०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेअनुसार कारबाही गर्ने क्रम जारी रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघ–संस्था र कार्यालयले यसको उल्लंघन गरेकाले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्