५२ वर्षपछि बस्तीमा खानेपानी



मिला दरै, तनहुँ

पृथ्वी राजमार्गसँग जोडिएको सुगम गाउँपालिकाको रुपमा परिचित तनहुँको म्याग्दे गाउँपालिकाको ठूलाचौर बस्ती, जहाँ म्याग्दे गाउँपालिका–२ थानसिङबाट बसाइँ सरी बनेको सानो बस्ती छ ।

थानसिङबाट २०२५ सालमा बसाइँ आएको छुट्टै बस्तीमा खानेपानीको अभाव थियो । राजमार्गबाट दुई सय मिटर माथि रहेको दलित बस्तीमा कुवाको पानी पिउने गरिन्थ्यो । पानीको अभावले त्यस बस्तीका सर्वसाधारणले अगाडि रहेको गुणादी खोलाको पानीमा लोभिँदै कुवाको पानी खान बाध्य हुने गरेका थिए ।

ऐना जसरी अगाडिबाट खोला बगे पनि त्यो बस्तीमा भने खानेपानीको अभाव वर्षौंसम्म झेल्नुप¥यो । ऐना जसरी अगाडि खोला बगे पनि पानी लिन जाँदा दुई÷चार घण्टा समय लाग्ने गर्दथ्यो ।

म्याग्दे गाउँपालिका–१ गुणादी ठूलाचौरकी ८१ वर्षीया छलिमाया विक भन्नुहुन्छ– ‘खानाभन्दा पनि बढी छोराछोरीका लागि पिउने पानी जम्मा गर्न सास्ती थियो त्यति बेला, तिर्खाएको बेलामा पानी पिउनै नपाएर बच्चा मर्छन् कि भन्ने डर हुन्थ्यो, मेलापात, घरधन्दा त छँदै छ, पानीको जोहो गर्न रातभर सुत्न सकिँदैनथ्यो ।’

यत्रो वर्ष कुवाबाहेक अन्यत्रबाट पानी ल्याउन एक दिन खर्चेको विगत सम्झँदै उहाँ भन्नुहुन्छ– ‘एक दिन लगाएर पानी ल्यायो, अर्को दिनलाई फेरि पानी खान प¥यो, पानी जम्मा गर्नमै वर्षौं बितायौं ।’ छलिमायाले पानीको दुःख खेप्दै पनि अहिले तीन पुस्तालाई हुर्काइसक्नुभएको छ । कुवाको पानी रातभर कुर्दै तीन छोरी र एक छोरा हुर्काउनुभएको छ ।

उक्त दलित बस्तीमा खानेपानीको व्यवस्थापनका लागि २०६७ माघ १० गते तीर्थे खोला हात्तीखोर खानेपानी योजना दर्ता गरिएको थियो । योजना दर्ता भएपछि पनि लामो समय लाग्यो त्यस गाउँमा पानी ल्याउन । लामो समयको अन्तरालमा दलित बस्तीमा पानी ल्याउन सफल भएको तीर्थे खोला हात्तीखोर खानेपानी योजनाका अध्यक्ष कृष्णराज खनाल बताउनुहुन्छ ।

यो बस्तीका नागरिकले पानीका लागि मात्रै एक बिहान खर्च गर्नुपर्ने देखेर नै योजनाको तयारीमा लागेको खनालले बताउनुभयो ।

म्याग्दे गाउँपालिकाले ९ लाख २५ हजार, गण्डकी प्रदेश सरकारले २ लाख ५० हजार र स्थानीयवासीको ४ लाख २५ हजार रुपियाँको जनश्रमदान गरी कुल १६ लाख रुपियाँको लागतमा योजना निर्माण गरिएको योजनाका सचिव विकास खनालले जानकारी दिनुभयो । प्रदेश सरकारले पुनः ४ लाख रुपियाँ विनियोजन गरेपछि ट्यांकी निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

यो योजनामार्फत ल्याइएको पानीले अहिले त्यस क्षेत्रका बैरीडाँडा, पुरनडिही, जैसीथोक, डाँडाथोक, ठूलाचौरलगायतका बस्तीमा खपत हुने गरेको खनालले बताउनुभयो । उहाँका अनुसार अहिले त्यस क्षेत्रका ३७ घरधुरीका ३ सय जना लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्