बलिउडको सिल्भर स्क्रिनमा जमे राजु



सानैदेखि क्यामेरासँग रमाउन र छायांकन गर्न रुचाउने नेपाली युवा हुन् राजु गौली। सन् २००५ मा नेपाल टेलिभिजनको सिरियल खुसी पलभरको र कान्तिपुर टेलिभिजनको न लेखिएको साइनो छायांकन गरेका उनले मौका मिल्यो कि नेपाल आउने बताए। ‘मलाई नेपालका प्राकृतिक छटाहरूले मन्त्रमुग्घ पार्छ । मौका मिल्यो कि आइहाल्छु’, पछिल्लोपटक नेपाल आएका गौली भन्छन्– ‘यहाँको वातावरण जति राम्रो छ, मानिसहरूको व्यवहार पनि त्यस्तै मायालु छ।’ अतिरिक्त प्रतिभाका धनी भएका कारण बलिउडमा आफ्नो कामको जादँमार्फत ख्याति कमाएका गौलीले १७ वर्षदेखि बलिउडमा ३५ भन्दा बढी टिभी शोको छायांकन गरेका छन्।

स्टार प्लस टिभी, जी टिभी, कलर्स, सोनीलगायतका टेलिभिजनका चर्चित सिरियल र शोहरूको छायांकन गरेका उनले नागिन–२, इस्कबाज, हैवान, इस प्यारको क्या नाम दुँ, प्यार कि एक कहानीलगायत दर्जनौं सिरियल र अवार्ड शोको छायांकन गरेका छन्।

उनले श्रीलङ्काको टेलिभिजनका लागि पनि काम गरेका छन्। उनको कामले तारिफ बटुल्न सफल भएसँगै थुप्रै अवार्ड पनि चुमेका छन्। छायांकन विधाबाटै २०१९मा वल्र्ड आइकन अवार्ड श्रीलङ्कामा, पाँचौं मुम्बई ग्लोबल एचिभमेन्ट अवार्ड २०१९मा, टप फिफ्टिन आइकन अवार्ड २०१९मा, द योङ ट्रुक अवार्ड २०२०मा, रेभिसिङ वमेन एप्रिसिएसन अवार्ड २०१९मा, सीएआईन फिल्म एप्रिसिएसन अवार्ड २०१९मा टोरोन्टो क्यानडाजस्ता अवार्ड चुम्न सफल भएका राजु भन्छन्– ‘यो क्षेत्रले मलाई नाम दिएको छ, यही क्षेत्रमा नै आफ्ना नयाँ–नयाँ क्रिएसन पस्किरहन्छु।’

प्रतिक्रिया दिनुहोस्