ओली–प्रचण्ड वार्ता : एउटा विषयमा सहमति, भाेली फेरि भेटने



न्युज अफ नेपाल, काठमाडौं ।

शक्ति संघर्षको कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि समाधानको लागि पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तरत वार्तामा जुटेका छन् । पाँचौ पटकसम्म वार्ता भएपनि दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ ।

राजिनामा प्रकरणपछि दुई अध्यक्षबीच संवाद नै हुन छोडेपछि पार्टीका दोस्रो तहका नेताहरुको दबाबमा अध्यक्षद्धयको बीचमा वार्ताले निरन्तरता पाउदै आएको छ । प्रचण्ड गृहजिल्ला चितवनमा तीन विताएर फर्किएपछि पुनः ओली र प्रचण्डबीच मंगलवार प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको छ । छलफलको क्रममा सहमतिकै आधारमा पार्टीभित्रको संकट हल गर्ने निश्कर्ष सहित आजको छलफल सकिएको प्रचण्डको सचिवालयले बताएको छ ।

स्थायी कमिटीको बैठक जारी रहेको बेला प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भारतले आफ्नो सरकारलाई हटाउन लागेको विषय सार्वजनिक गरेपछि पार्टीभित्रैबाट ओलीको राजिनामा मागिएको थियो । बैठकमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने पक्षमा दबाब बढेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर अध्यक्षद्धय ओली र प्रचण्ड सहमति खोज्न वार्तामा जुटेका हुन् । अध्यक्षद्वय ओली र प्रचण्डले सहमतिका लागि समय लिएर बैठक साउन २ गतेसम्म स्थगित गरेका छन् ।

मंगलवारको वार्तामा एकता गर्दाको आधार, सचिवालयको निर्णयअनुसार समाधान खोज्ने गरी छलफल भएको बताइएको छ । आजसम्मको छलफलमा ओली र प्रचण्डबीचमा कायम भएको आशंकाको दुरी कम भएको र बिहीवारको बार्तामा निश्कर्ष दिने गरी गृहकार्य भइरहेको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार अब धेरै पटक वार्ता भइसकेकाले निकास दिनुपर्ने पक्षमा अध्यक्षद्धय ओली प्रचण्ड पुगेका छन् । सकेसम्म दुवै अध्यक्ष एकले अर्कोलाई गलाएर बढी शक्ति लिने नीति अन्तर्गत वार्तामा जुटेको बताइएको छ । वालुवाटारमा अध्यक्षद्वय ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो । गृहजिल्ला चितवन पुगेर अध्यक्ष प्रचण्डले पार्टी विभाजन हुन नदिने अभिव्यक्ति दिएपछि तत्कालको लागि नेकपाभित्रको आन्तरिक संकट टरेको छ ।

प्रतिक्रिया दिनुहोस्