म्याग्दीको मराङ र विमको पहिरोमा परेर ज्यान गुमाएकाको सामूहिक अन्त्येष्टि



प्रताप बानियाँ,म्याग्दी ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको सामूहिक अन्त्येष्टी गरिएको छ । गएको बिहीबार राती वस्ती माथिबाट खसेको पहिरोका कारण ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा अन्त्येष्टी गरिएको हो ।

पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया पुरा गरी आफन्त र परिवारलाई शव बुझाइएको हुँदा उनीहरु सबैको सामूहिक तथां एकल रुपमा दाहसंस्कार भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो । सुतिरहेको अवस्थामा बस्ती माथिबाट खसेको पहिरोमा ज्यान गुमाएका दुई परिवारका ७ जनाको एउटै चिहानमा अन्त्येष्टी गरिएको थियो ।

प्राकृतिक विपत्तिले तहसनहस भएको मराङको पहिरोमा पुरिएको अवस्थामा उद्धार गरी ल्याइएका शवलाई अन्तेष्टी गर्ने क्रममा सबै शोकमा डुबेका थिए । मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिए पनि २ जना अझै बेपत्ता छन् । मराङ र विममा गएको पहिरोका कारण ठूलो धनजनको क्षति भएको हुँदा सिङ्गो म्याग्दी जिल्ला स्तब्ध भएको छ ।

यसैगरी मालिका–७, विम गाउँमा पनि पहिरोमा ज्यान गुमाएकाको शव फेला परेका ८ जनाको अन्त्येष्टी गरिएको जनाइएको छ । बिहीबार राती आएको पहिरोमा परेर पुरिएकाहरुको शव शनिबार मात्रै निकालिएको थियो । पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्