निक्षेपको ब्याजदर घट्ने



न्युज अफ नेपाल,काठमाडौं ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी उच्च देखिएको छ । बन्दाबन्दीका कारण लगानी नहुँदा तरलता उच्च देखिएको हो ।बैंकमा नगद उच्च भएका कारण निक्षेपको ब्याजदर परिवर्तन हुने भएको छ । अधिक तरलता रहेको भन्दै ब्याजदर परिवर्तन गर्न जोड दिँदै आएका बैंकरहरूबीच भएको ब्याजदरको पूर्वसहमति तोडिएको छ ।

नेपाल बैंकर्स एसोसिएनले सोमबार निक्षेपको ब्याजदरमाथि लगाइएको ‘क्याप’ हटाउने निर्णय गरेको छ । पूर्वसहमति तोडिएसँगै बैंक आफैैंले ब्याजदर तय गर्नेछन् । पछिल्लो सहमतिअनुसार बैंकहरूले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दति निक्षेपमा ८ दशमलव ५ प्रतिशत र बचतको ५ दशमलव ५ प्रतिशत ब्याज दि“दै आएका थिए ।

बैंकरहरूबीच आफूखुशी ब्याजदर तय गर्ने सहमति भएपछि साउनदेखिको निक्षेपको ब्याजदर नयाँ हुने एक बैंकरहरूले बताएका छन् । बैंकरहरू निक्षेपको ब्याजदर घटाउन सहमति भएपछि अहिले बैंकिङ प्रणालीमा रहेको नगद अनौपचारिक क्षेत्रमा स्थान्तरण हुनसक्ने खतरा रहेको एक बैंकरले बताए ।

उनले भने–‘अहिले पनि कर्जाको ब्याजदर अनुसार निक्षेपको ब्याजदर त्यति उच्च त होइन तर तरलता अधिक रहेको भन्दै पूर्वसहमति तोड्दा भोलि पुँजी पलायन हुने अवस्था सिर्जना हुन पनि सक्छ । साथसाथै समय केही फेरिएको स्थितिमा धेरैको निक्षेप खोसिन सक्ने खतरासमेत आउन सक्छ ।’

बैंकर स्रोतका अनुसार अहिले वाणिज्य बैंकहरू एक खर्ब ६० अर्ब रुपियाँ भन्दा बढीको तरलता रहेको बताइएको छ । असार महिनामा मात्र बैंकहरूको निक्षेप संकलन १ खर्ब १३ अर्ब रुपियाँले बढेको छ । चैत महिनामा तिर्नेपर्ने कर्जाको साँवा ब्याज तथा अन्य भुक्तानी बन्दाबन्दीका कारण एकैपटक असारमा तिर्दा बैंकमा नगद उच्च भएको छ ।

पछिल्लो सातामा बैंकहरूमा ६५ अर्ब रुपियाँको हाराहारीमा निक्षेप थपिँदा बाणिज्य बैंकहरूमा कुल ३३ अर्ब ८८ अर्ब रुपियाँ भन्दा बढी निक्षेप हुँदा कर्जा २८ खर्ब ४२ अर्ब रुपियाँ भन्दा बढी भएको बताइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा करिब छ खर्ब रुपियाँ बाणिज्य बैंकहरूमा निक्षेप थपिएको छ ।

बाणिज्य बैंकहरूमा निक्षेप थपिनुको कारणमध्ये केही बैंकले उच्च निक्षेप जम्मा गरेका विकास बैंकलाई गाभेका कारण निक्षेपको आकार ठूलो भएको बैंकरहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्