माइती आउँदा पहिरोले लग्यो,माइतीले सम्झानामा बनाए स्मृतिकोष



दुर्गाप्रसाद शर्मा,पर्वत ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ३ दुर्लुङमा जेठ ३१ मा गएको पहिरोमा पुरिएर ९ जनाले ज्यान गुमाए । घना जंगलको बिचबाट आएको भेल पहिरोले दुई घरलाई बगाउँदा घरभित्र रहेका सबैको मृत्यु भयो । मृत्यु हुनेमा लक डाउनको समयमा माइतीमा आएकी दिर्पा थापा र उनका छोरा बिबेक पनि थिए ।

माइती गाउँमा आएको समयमा आफुँ र एक्लो छोरा समेत गुमाउन पुगेकी दिर्पा र छोरा बिबेकको मृत्युको पिडाले माइती गाउँ बिक्षिप्त बनेको छ। पहिरो पिडीतलाई देश बिदेशबा दैनिक रुपमा सहयोग आइरहेको छ । यसरी सहयोग आइरहेका बेला माइती गाउँका युबाहरुले दिवंगत चेली र भाञ्जाको स्मृतिमा अक्षयकोष नै स्थापना गर्न अभियान सञ्चालन गर्न थालेका छन ।

दुर्लुङमा रहेको नवप्रतिभाशाली युबाक्लबका संस्थापक अध्यक्ष बिरोध बिक्रम गुरुङ र संस्थापक सदस्य महेन्द्र गुरुङको अगुवाईमा ‘दिर्पा बिबेक अजर अमर स्मृति अक्षयकोष’ बनाउन थालिएको छ । शुरुमा मृतक तुलबहादुर थापा र कमला बिकको परिवारलाई राहत सहयोग आएपनि माइतीमा आएर ज्यान गुमाएकी दिर्पाको परिवारलाई सहयोग दिने कुरामा पनि ध्यान पुगेको थिएन ।

त्यसैबेला गाउँमा आएकी चेली र भाञ्जाको स्मृतिलाई ताजा बनाउँदै भबिश्यमा बिपत्तीमा परेकाहरुलाई आर्थिक र अन्य सहयोग पु¥यान सहयोग पुगोस भनेर अक्षयकोष बनाउने अभियान शुरु गरिएको नवप्रतिभाशाली युवा क्लबका संस्थापक अध्यक्ष बिरोध बिक्रम गुरुङले बताउनुभयो ।

‘माइती गाउँमा पुगेकी चेलीको स्मृतिलाई ताजा राख्न माइती पक्षले केही योगदान गर्नुपर्छ भनेर अक्षयकोष बनाउन शुरु गरेका हौ।’ अक्षयकोषका अभियान्ता बिरोध गुरु ङले भन्नुभयो ‘यो नमुना अभियान हो, यसलाई नमुना अक्षयकोषको रुपमा स्थापित गर्ने योजनामा छौ’ । मृतक दिर्पा युवा क्लबको स्थापनाकाल देखि नै साँस्कृतिक कार्यक्रमहरुमा सक्रिय सहभागी हुँदै आउनुभएको थियो ।

देश बिदेशमा अक्षयकोषको रुपमा सहयोग संकलन भैरहेको छ। अहिले सम्म ७ लाख रुपैया भन्दा बढी रकम संकलन भैसकेको अक्षयकोषका अभियान्ता मध्ये एक महेन्द्र गुरुङले जानकारी दिनुभयो । ‘देश बिदेशमा रहनुभएका शुभेच्छुक, चेलीबेटी र आफन्तहरुबाट सहयोग रकम आउने क्रम चलिरहेको छ।’ उहाँले भन्नुभयो । अक्षयकोषको रकम पहिरो, आगलागी, दैबि प्रकोप, महामारीबाट पिडीतहरुका लागि सहयोग गर्ने लक्ष्य राखिएको छ ।

दुर्लुङबाट बिहे भै कालीगण्डकी पारी बागलुङको जैमिनी नगरपालिकाको कुस्मीशेरामा पुगेकी दिर्पा कुस्मा बजारमा डेरामा बसी छोरा बिबेकलाई पठाउँदै आएकी थिइन । लक डाउनको समयमा माइतीमा पुगेका बेला पहिरोमा दिर्पा संगै बाबु ६० बर्षिय तुलबहादुर थापा, आमा ५२ बर्षिया मीनकुमारी थापा, छोरा १६ बर्षिय बिबेक थापा, दिर्पाका दाजुका छोरा (भतिज) १५ बर्षिय सम्राट थापा, भतिजी ८ बर्षिया विविशा थापाको मृत्यु भएको थियो ।

पहिरोमा परेर २६ बर्षिया कमला बिक, उनका १३ बर्षिय छोरा जेनिश बिक र ८ बर्षिया छोरी प्रमिशा बिकको पनि मृत्यु भएको थियो । मृतक परिवारलाई र पहिरोबाट बिस्थापित भएका परिवारहरुलाई लाखौ रुपैया सहयोग आएको छ भने गृह मन्त्रालय, गण्डकी प्रदेश सरकारले पनि राहात र पुर्नस्थापनाका लागि काम थालेका छन ।

प्रतिक्रिया दिनुहोस्