पहिरोमा पुरिएर ३ घरका १० जना बेपत्ता, एकको मृत्यु



मिला दरै, तनहुँ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ऋषिङ गाउँपालिकाका ५, व्यास नगरपालिकाका ५ र म्याग्दे गाउँपालिकाका एक गरी ११ जना बेपत्ता भएका हुन् ।

ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ कै एक बृद्धा पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

तिमिल्सिनाका अनुसार म्याग्दे गाउँपालिका–१ का १७ वर्षीया लक्ष्मी विकको भने पहिरोमा परी मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–८ का अनबहादुर थापाको घर पहिरोले पुरिदा छोरा, बुहारी र नातिनी गरी ५ जनाको पुरिएको तिमिल्सिनाले बताउनुभयो ।

त्यस्तै व्यास–९ माझकोटको केशर बहादुर थापाको घर भत्किदा ४ जना परिवारका सदस्य र सोही ठाउँका मान बहादुर घर्तीको घर भत्किदा ७० वर्षीया आमा पुरिएको तिमिल्सिनाले बताउनुभयो । ऋषिङमा स्थानीयवासीले उद्दार कार्य गरिरहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । त्यसतर्फ प्रहरीको टोली भने जाँदै गरेका छन् । पहिरोले गर्दा प्रहरीलाई समेत त्यस ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिकाका ९ माझकोटमा भने प्रहरी उपरीक्षक अरुण पौडेलको टोलीद्वारा उद्दार भइरहेको उहाँले बताउनुभयो । मादी नदी र बुल्दी खोलामा ठूलो बाढी आउँदा बसपार्क वरपरका मानिसहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्