म्याग्दी पहिरो अपडेट : थप एक जनाको शव भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो



प्रताप बानियाँ, म्याग्दी ।

अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर म्याग्दीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ, मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये आज थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै नभेटिएको प्रनाउ कुँबरले बताउनुभयो ।

पहिरोमा परेर घाइते भएका दुईजना गर्भवती महिलासहित १३ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाडौंमा उपचारका लागि पठाइएको छ । ओमकुमारी शान्ति कोष र जिसी ग्रुपका अध्यक्ष नारायण जिसीको पहलमा प्रभु एअरको हेलिकप्टरमार्फत घाइते र गर्भवतीको उद्धार गरिएको थियो ।

धवलागिरी–६ को मराङ, कल्लेनी, राम्चे र रिखा तथा मालिका–६ को विम, दुले र नुर्बाङमा पहिरो गएको हो । पहिरोमा परेर घाइते भएका ६ जनाको बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् । पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ ।

पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ । अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्दार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो । यसअघि शनिबार मराङको पहिरोमा परेर बेपत्ता भएकाहरुमध्ये सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, १८ वर्षीय प्रकाश केसीको मृत अवस्थामा शव भेटिएको थियो ।

यसैगरी ३३ वर्षीया हिरामति जुग्जाली, ७ वर्षीया करिश्मा जुग्जाली, ५ वर्षीया कन्चन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २० वर्षीया दिमा जुग्जाली, उहाँको ४ वर्षीया छोरी दिप्ती जुग्जाली र १ वर्षीय छोरा दिवान जुग्जालीको पनि शव भेटिएको थियो ।

त्यस्तै मालिका–७, विमको पहिरोमा बेपत्ता ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उहाँको ३ महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपालीको मृत अवस्थामा शव भेटिएको थियो । रघुगंगा गाउँपालिका–६, पाखापानीस्थित ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको खोलाले बगाउँदा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्