बराहपोखरीबाट ३५ केजी रातो माछा निकाल्ने दुई पक्राउ



रामधन राई, खोटाङ ।

खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । बराहपोखरी गाउँपालिका–१ वराहपोखरीकोे रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा सोही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लोपोन्मुख रातो माछा निकालिरहेको सूचनाका आधारमा प्रहरीचौकी बराहपोखरीकै प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो । दुई जना विरुद्ध चोरी अन्तरगतको कारबाही चलाउने तयारी गरिएको छ । पक्राउकाक्रममा भेटिएका ज्यूँदो माछालाई पोखरीमै छाडिएको र मरेको माछालाई बरामद गरिएको प्रहरीले जनाएको छ ।

बराहपोखरीबाट अन्दाजी ३५ केजी रातो माछा निकालिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द शाहले बताउनुभयो । नेपालको सय वटा गन्तव्यको सूचीमा समावेस बराहपोखरीमा पाइने दुर्भल रातो माछाको अस्तित्व मानवीय क्रियाकलापकै कारण पछिल्लो समय संकटमा पर्न थालेको स्थानीय वताउँछन् ।

प्रतिक्रिया दिनुहोस्