पिरिम नलाउनेपछि गलबन्दी पच्छ्यौरी



युट्युबमा हालसम्म नै सर्वाधिक धेरै हेरिएको पिरिम नलाउनेको म्युजिक भिडियोको सफलतापश्चात् गायक आशिष सचिनको अर्को प्रस्तुति गलबन्दी पच्छ्यौरी सार्वजनिक गरिएको छ।
पिरिम नलाउने समूहकै सहभागितामा गलबन्दी पच्छ्यौरी तयार पारिएको हो।

कोभिड–१९ को प्रभावका बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै शुक्रबार राजधानीमा सम्पन्न एक कार्यक्रममा गलबन्दी पच्छ्यौरी सार्वजनिक गरिएको हो। गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको गलबन्दी पच्छ्यौरीलाई उक्त गीतको टिम र केही पत्रकारको सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। कार्यक्रममा पिरिम नलगाउनेलाई झन्डै सात करोडपटक हेरिएको भन्दै टिमले केक काटेर सेलेब्रेसनसमेत गरेको थियो।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिंगे पिङ र हाटबजारको दृश्यलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। गीतलाई अघिल्लो गीत पिरिम नलाउनेलाई जस्तै दर्शकले मन पराउनेमा आफँ विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताइन्।

ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन्। पिरिम नलाउनेकै संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका छन्। गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा ‘म्याकुरी’, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराईलगायतको अभिनय रहेको छ।

ओएसआरको आधिकारी युट्युब च्यानलमा सार्वजनिक भएको गीतको भिडियो अर्जुन तिवारी र टिमले खिचेका छन् भने नवीन निरौलाले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्