क्वारेन्टाइनका बिरामीलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्युु



मिला दरै,तनहुँ ।

भारतबाट चार दिन अघि आएर क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । यही असार २३ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषको उपचारको लागि लैजादै गर्दा शनिबार बिहान मृत्यु भएको हो ।

तनहुँको भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय पुरुषको मृत्यु भएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । भट्टाराईका अनुसार नगरपालिकाले बनाएको शारदा कलेजको क्वारेन्टाइनमा बसेका पुरुषको उपचारका लागि पोखरा लैजादै गर्दा मृत्यु भएको हो ।

उहाँ दम, मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिसको बिरामी समेत रहेको भट्टराईले बताउनुभयो । दीर्घरोगी भएकाले उहाँलाई रोगले च्यापेर बेहोस भएपछि उपचारका लागि पोखरा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो ।

‘उहाँमा कोभिड १९को संक्रमण भए÷नभएको पुष्टि गर्नका लागि स्वाब लिइएको छ, उहाँको कोरोनाको परीक्षण पश्चात् मात्रै शवको व्यवस्थापन तर्फको काम गरिनेछ,’ अधिकारीले भन्नुभयो । यसअघि जिल्लामा घिरिङ गाउँपालिकाका एक पुरुषले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए ।

तनहुँमा शनिबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा १५६ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । १०० जना भने कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्