गाउँ जोगाउने प्रयास : अब घरैपिच्छे अर्थिङ



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा वर्षैपिच्छे चट्याङबाट थुप्रै मानिस मर्ने र घाइते हुने गर्छन् । गाई, बाख्रालगायत चौपायाको पनि क्षति हुने गरेको छ । तथ्यांकले देखाएअनुसार चट्याङका कारण गत वर्ष मकवानपुरका २१ जनाले ज्यान गुमाउनुपरेको थियो । कयौं घाइते भएका थिए ।

वर्षा लागेपछि सबैलाई चट्याङकै डर हुने गरेको छ । मकवानपुरका बासिन्दा आकाशका गड्याङगुडुङ गरे डराउने गर्छन् । सरकारले मकवानपुरलाई चट्याङ धेरै पर्ने जिल्लाको सूचीमा राखेको छ ।चट्याङ धेरै पर्ने स्थानमध्ये मकवानपुरगढी गाउँपालिका पनि एक हो । उक्त गाउँपालिकामा २ वर्षअघिसम्म वर्षेनी ५ जना भन्दा बढीको ज्यान चट्याङले लिने गरेको थियो । तर, हाल गाउँपालिकाले गाउँलेलाई जोगाउन २ ठाउँमा अर्थिङ जडान गरेको छ ।

अर्थिङ राखिएपछि गाउँमा चट्याङ पर्न छाडेको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले बताउनुभयो । ‘गाउँपालिकाका २ ठाउँमा अर्थिङ टावर राखिएपछि गाउँघरमा चट्याङ पर्न छाडेको छ,’ उहाँले भन्नुभयो । गाउँपालिकाले प्रभावित क्षेत्र ५ नम्बर वडाको देउरालीडाँडा र १ नम्बर वडाको सानोगढी क्षेत्रमा अर्थिङ राखिएको अध्यक्ष हुमागाईंले बताउनुभयो ।

अब भने मकवानपुरगढी गाउँपालिकाले घरैपिच्छे अर्थिङ जडान गर्ने भएको छ । अर्थिङ जडानका लागि गाउँपालिकाले २० लाख छुट्याएको छ । मकवानपुरगढी गाउँपालिका जिल्लामा धेरै चट्याङ पर्ने गाउँपालिका भएकोले गाउँबासीलाई चट्याङबाट जोगाउन प्रयास गरिएको गाउँपालिका अध्यक्ष हुमागाईंले बताउनुभएको छ ।

मकवानपुरगढी गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी अर्थिङ टावर समुदायलाई हस्तान्तरण गरिएको छ । युएसएआईडीको आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास सेवा (आईभीडीएस), मकवानपुरद्वारा सञ्चालित सबल कार्यक्रमअन्तर्गत् गढी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण गर्ने उद्धेश्यले अर्थिङ जडान गरिएको हो ।

चट्याङप्रतिरोधी अर्थिङ समुदायलाई हस्तान्तरणपछि टावरको संरक्षण, सम्बद्र्धनको जिम्मेवारी समुदायले बहन गरेको छ । जडान गरिएको अर्थिङले समुदायमा प्रत्यक्षरुपमा प्रभाव पारी क्षति न्यूनीकरण गर्न लाभ पु¥याएको र चट्याङ पर्ने त्रासबाट सुरक्षित महसुस गरेको स्थानीयले बताएका छन् ।

अर्थिङ टावर जडान गर्न युएसएआईडी सबल परियोजनाबाट ३ लाख ६९ हजार रुपियाँ सहयोग प्राप्त भएको थियो । गाउँपालिकाबाट १ लाख २६ हजार र स्थानीय समुदायबाट जनश्रमदानसहित १ लाख ९ हजार गरी ६ लाख ५ हजार रुपियाँ लागतमा टावर निर्माण गरिएको हो । गढी, आमभञ्ज्याङ, सुकौरा र बुढीचौरसहित तत्कालिन चार गाविस जोडेर बनेको पालिका हो ।

करिब २ साताअघि मकवानपुरको पूर्वी बैकया गाउँपालिका धियाँलमा चट्याङमा परेर २ महिलाको मृत्यु भएको थियो । बकैया–२ को कालापानीमा परेको चट्याङले स्थानीय आशालाल घिसिङकी २५ वर्षीया पत्नी बिना घिसिङ र बुद्ध घिसिङकी छोरी १७ वर्षीया सम्झना घिसिङको मृत्यु भएको थियो ।

चट्याङ लागेर सोही स्थानका पूर्णबहादुर जिम्बाका १४ वर्षीय छोरा किरण जिम्बा गम्भीर घाइते भएका थिए । आआफ्नै घरमा बसिरहेको अबस्थामा वर्षासँगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमाथि काला चूकजस्ता बादलले आकाश ढाकी गड्याङ्गुडुङ गर्दै बिजुली चम्केको बेला हातधुने, भाँडा माझ्ने, कपडा धुने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, फोन वा कम्प्युटर चलाउने, झ्यालढोका नजिक तथा छतमा बस्ने गर्नु हुँदैन भन्ने वैज्ञानिकको भनाइ छ । घरबाहिर भए तुरुन्त बलियो भवन, गाडी आदिभित्र गएर झ्यालढोका बन्द गर्नु सुरक्षित मानिन्छ । तारबार, पोखरी नजिक जानुहुँदैन । ठूलो रुख र अर्को मान्छेभन्दा कम्तिमा १५ फिट टाढा रहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्