जाजरकोट पहिरो : ७ जनाको शव भेटियो, ७ अझै बेपत्ता



बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटको अविरल बर्षाका कारण बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परि सात जनाको मृत्यु भएको छ भने छुटाछुटै स्थानमा सात जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ४ जिरीको सार्कीटोलमा विहिवार राती पहिरोले दुई घर बगाउदाँ बेपत्ता भएका १२ जना मध्य ७ जनाको शव फेला परेको छ ।

बारेकोट गाउँपालिका ४ जिरी सार्कीटोलमा पहिरोले दुई घर बगाउदाँ बेपत्ता भएका १२ मध्य ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परि ५२ बर्षिय गोपाल सार्की, उनका ११ बर्षिय छोरा अर्जुन सार्की,कलु सार्की दिदिको घरमा पाहुन आएका कुशे ९ चौराटाका २० बर्षिय डिल्ली सार्की र १८ बर्षिय बिरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले वताउनु भयो ।

पहिरोमा परि बेपत्ता कलु सार्कीकी १४ बर्षिय छोरीतिर्खा सार्कीको शब फेला परेको प्रहरीले जनाएको छ भने दुई जना महिलाको शवको पहिचान खुल्न सकेको छैन । पहिरोमा बेपत्ता भए ७ जनाको खोजि कार्य भईरहेको प्रहरी प्रमुखश्रेष्ठले वताउनु भयो ।

गोपाल सार्की र कलु सार्कीको घर पहिरोले बगाउदाँ भएको घटनामा पाहुन आएका २ सहित ५ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो । त्यस्तै बारेकोट ६ धुमामा शुक्रवार विहान आएको वाढीले २० बर्षिय शान्त बहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउने बेपत्ता भएका छन् ।

बाढीमा परेका रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानियले उद्धार गरेका छन भने रामचन्द्र चलाउने गम्भिर घाईते भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द बहादुर सिहले बताउनु भयो ।

घटना स्थलमा टेलिफोन नलाग्ने र प्रहरीको संन्चार सेटले समेत काम नगर्दा सुचना संकलनमा समस्या भएको प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले बताउनु भयो । बारेकोट ४ का लाल बहादुर नेपाली गंम्भीर घाईते भएका छन् । पहिरोले घर भत्काएपछि भाग्ने क्रममा घरको भित्ताले च्यापेर घाईते भएका हुन् । घाईते नेपालीको उद्धारको लागी हेलिकोप्टर मगाएको गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले वताउनु भयो ।

विहिवार राति देखि अविरल बर्षातले बारेकोटका धेरै वस्ती जोखिममा रहेका छन भने पानी परि रहेकाले उद्धारमा कठिनाई भएको अध्यक्ष शाहको भनाई छ । बर्षातसगै आएको बाढी पहिरोले बारेकोट ४ सार्कीटोल, रावत जिरी, तलीगाउँ, गोठगाउँका ८ घर पुर्णरुपमा नष्ट भएको अध्यक्ष शाहले वताउनु भयो ।

पहिरोको जोखिम बढेपछि मैना, ठाकुर जिरी, सार्कीटोल बोहरागाउँ तलीगाउँ गोठगाउँका नागरिकहरुले घर छोडेको अध्यक्ष शाहले वताउनु भयो । उनीहरुलाई हिमालय आधारभुत विद्यालय गोठगाउँ र भगवति आधारभुत विद्यालय जिरीको भवनमा र अन्यलाई सुरक्षित स्थानमा त्रिपाल टाँगरेर राखेको अध्यक्ष शाहले वताउनु भयो ।

नेपाली सेना, शसस्त्र प्रहरी, स्थानियबासी र नेपाल प्रहरीको टोलीले बेपत्ताको खोजी कार्य गरिरहेको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो । घटनास्थल जाजरकोट सदरमुकाम खलंगा देखि दुई दिन पैदल दुरीमा २५ कोष उत्तर पुर्वमा पर्दछ । पानी परिरहेकोले पहिरोको जोखिम वढदै गएपछि स्थानियबासी त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्