‘यस्तो अवस्थामा खेलाडीले प्रशिक्षण गर्न छाड्नु हुँदैन



न्युज अफ नेपाल, काठमाडौं ।

खेलाडी तथा प्रशिक्षकहरु खेलकुदमै रमाउन र घुलमिल हुन्छन्, बढी प्रतियोगिता र प्रशिक्षणमा आफुलाई व्यस्त राख्छन् उनीहरु । त्यसैले त उनीहरु प्रशिक्षणमा दिनहुँ घण्टौं बिताउँदा पनि आफुलाई थकाइको महसुस गर्दैनन् । तर, यतिबेला प्रशिक्षक तथा खेलाडी जीवनशैली बदलिएको छ । कारण एउटै छ विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ।

खेलाडी तथा प्रशिक्षक यतिबेला बन्द कोठामा एक्लै बस्न बाध्य भएका छन् । उनीहरुले नियमित प्रशिक्षण त के व्यायाम समेत गर्न पाएका छैनन् । यसले गर्दा खेलाडीहरुको शारीरिक वनावटमा समेत असर गरेको छ । त्यसमा पनि तेक्वान्दो विधाका खेलाडी बन्द कोठाभित्र बस्दा झनै थकित र शरीरको वजन बढेकोले झनै चिन्तित छन् ।

तेक्वान्दोका लागि प्रशिक्षण हल शारीरिक फिट्नेसको लागि खुला ठाउँको आवश्यकता पर्छ । त्यसमाथि तेक्वान्दो खेलाडीका लागि झनै ग्रुप टे«निङ, पेयर ट्रेनिङ जस्ता कुराहरु झनै आवश्यकता पर्छ । खेलाडीहरुलाई ट्रेनिङको भार भन्दा यो लकडाउनको भार बढी भएको तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकालले बताउनुभयो ।

उहाँले बताउनुभयो–‘एउटा खेलाडी घरमा केही नगरी बस्दा त्यसको शरीर कस्तो हुन्छ ? त्यो सबैलाई थाहा भएको कुरा हो । खेलाडी जीवनमा एक दिन ट्रेनिङ नगरी बस्दा बोरिङ र शरीर दिनभर आलस्य लाग्छ । यत्रो दिन घरमै केही नगरी खेलाडीहरुलाई घरमै बसिरहन आफैलाई चुनौतीको कुरा हो । जसले गर्दा स्पाइरिङले भन्दा पनि बढी कोठाको बसाइले थकित बनाएको छ । ’

तेक्वान्दो खेल तौलविधामा हुने हुँदा २–३ दिन ट्रेनिङ नै नगरी बसे उनीहरुको तौलमै घटबढ हुने हुदा खेलाडीको प्रदर्शनमा कमी आउने उहाँको प्रतिक्रिया छ । कोरोनाको संक्रमण दिनहुँ बढीरहेको अवस्थामा खेल मैदानमा घर नजिकै भएकाहरुले आफनो सुरक्षा अपनाई प्रशिक्षण गर्न ढकालले आग्रह पनि गर्नु भएको छ ।

उहाँले भन्नुभयो—’यस्तो समयमा घरमा यतिकै नबसी खेलाडीले जसोतसो घरभित्रै भएपनि प्रशिक्षण गर्नु पर्ने देखिन्छ । घरको सिढीमा १०–१५ मिनेट तलमाथि हिँड्ने स्टेपहरु गर्न युट्युबको सहायतामा सेल्फ ट्रेनिङ गर्नु आवश्यक छ । त्यसपछि कौसी वा कोठाभित्र बसेर व्यायाम गर्ने गरेमा यसले केही हदसम्म खेलाडीको वजनलाई सन्तुलित राख्न सक्छ । ‘

घरभित्रको प्रशिक्षणले खासै ठूलो फरक नपार्ने ढकालले बताउनुभयो । उहाँले घरभित्रको ट्रेनिङले शरीरलाई फ्रेश मात्र बनाउने र दिनभर थकान मेटाउन काम गर्ने हुनाले एक सफल खेलाडीलाई पर्याप्त नहुने बताउनुभयो । अहिले यतिका दिन घरभित्र बस्दा खेलाडीलाई जीवनमै सबैभन्दा ठूलो थकाइको अनुभुति भएको छ ।

कोरोना भाइरसको संक्रमण कम भएपछि खेलाडीहरु प्रशिक्षण फर्किए पनि तत्काल कुनै खेल नहुने पक्का छ । खेलमा फर्कनेवितिकै प्रतियोगिता भइ हाले पनि प्रतिस्पर्धा गर्न गाह्रो  हुनेछ । कोरोना संक्रमण नियन्त्रण भएपछि प्रशिक्षणमा फर्किदा खेलाडी पुरानै

अवस्थामा हुने कतिको संभावना छ भन्दा उहाँले भन्नुभयो— ‘कोरोनापछि खेलाडीहरुको स्टामिना कम देखिन सक्छ र मानसिक दिमाग पनि खेल्नका लागि तयार हुँदैन । लामो समयको प्रशिक्षणविहीन घर बसाइपछि पहिलाकै फर्ममा फर्कन केही समय लाग्छ । लामो समयपछि ट्रेनिङमा सहभागि हुँदा खेलाडीहरुमा चोटपटकको समस्या समेत हुन सक्ने प्रबल सम्भावना हुन्छ ।’

उहाँले थप्नुभयो—’यसले खेलाडीको प्रदर्शनसँगै उनीहरुमा सामाजिक मनोवैज्ञानिक असर पनि पर्ने नै भयो । यसको सामना हामी खेलाडी प्रशिक्षक सबैले गर्नैपर्छ । अहिले सबै जना आफु सुरक्षित भएर बस्नु नै ठूलो कुरा हो । खेलाडीहरुको हकमा घरमै अभ्यास गर्ने हो । ओलम्पिक पनि सरेको छ । त्यसैले म त भन्छु यो समय घरमा काम सिक्ने राम्रो अवसर पनि हो । ‘

प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ । यदि यस्तो हुन सकेन भने प्रशिक्षक र खेलाडी दुबैले खेलमा सफलता प्राप्त गर्न सक्ने छैन । कोरोनाको कारण यसको असर खेलकुद क्षेत्रमा दीर्घकालीन असर पर्ने सक्ने खतरातर्फ ढकालले सचेत गर्नु भएको छ । उहाँले हरेक खेलका प्रशिक्षकले आफना खेलाडीलाई घरमै व्यायाम र खानपिनमा ध्यान दिनपर्ने पनि सचेत गर्नुभयो ।

ढकालले आफ्ना खेलाडीलाई सामाजिक संजालमार्फत् सल्लाह दिँदै आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो– ‘एउटा कुशल र सक्षम खेलाडीले जुनसुकै परिस्थितिमा पनि प्रशिक्षण र व्यायाम जारी राख्नुपर्छ मैले पनि आफना खेलाडीलाई सामाजिक सँजालको भरपुर सदुपयोग गरि र फोनबाटै भएपनि सल्लाह दिँदै आएको छु । यसो नगरे हामीलाई खेलमा फर्कन गाह्रो हुने देखिन्छ ।’

आजकले अनलाइनमार्फत् पनि प्रतियोगिता भइरहेकोले यसले खेलाडीलाई कतिको फाइदा वा बेफाइदा भन्ने विषयमा उहाँले भन्नुभयो—’यसको फाइदा नै बढी छ, खेलाडी भाइ बहिनीहरुले आफ्नै ठाउँबाट भिडियोमार्फत् आफ्नो प्रदर्शन गर्न पाएका छन् । यो कोरोनाको समयमा ठूलो उपलब्धि र फाइदा नै हो । कोरोनाको डरमा बसिरहेकालाई समेत यसले मनोवैज्ञानिक रुपमा माथि उठ्न सहयोग पुर्‍याउँछ ।’

अन्तर्राष्ट्रिय प्रतियोगितामा यहीबाट सहभागि जनाउन पाइरहेका छन् । एक किसिमले हेर्दा चाहि खेलाडीहरुले नयाँ अनुभव गर्न पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्