तपाईं कति भाग्यशाली हुनुहुन्छ !



प्रेम रावत

वर्तमान परिस्थितिमा मानिसहरू वास्तवमा निकै दुःखी छन्, किनकि यो सहज परिस्थिति छैन । तर सबैभन्दा ठूलो कुरा के हो भने, जस्तोसुकै अवस्था होओस्, जस्तोसुकै परिस्थिति होओस्, राम्रो परिस्थिति होओस् वा कठिन परिस्थिति होओस्, कुरा कस्तो परिस्थिति छ भन्ने होइन । कुरा त के मात्र हो भने, तपाईं त्यो परिस्थितिलाई कसरी सामना गर्नुहुन्छ ! बाहिर जेसुकै भइरहेको होओस् तपाईंले अघि बढ्ने क्षमतालाई उपयोग गर्नुपर्ने हुन्छ । किनकि, तपाईंसँग एउटा चीज छ– तपाईंको हृदय । यो अत्यन्तै राम्रो छ । बाहिर चाहे जस्तोसुकै दुःखी तुल्याउने परिस्थिति होओस् तर तपाईंभित्र जुन चीज छ त्यो सुखदायक छ । त्यसलाई सौन्दर्य मन पर्छ ।

कतिपय कुराहरूका लागि मानिसहरूले आफूलाई भाग्यशाली ठान्दैनन् । उनीहरू यसो सोच्छन्– मसँग यो अन्याय भयो, त्यो अन्याय भयो । यो राम्रो भएन, त्यो राम्रो भएन । यस्ता धेरै कुराहरू छन् तर बुझ्नुपर्ने कुरा के छ भने, वास्तविकता के हो ? वास्तवमा के भइरहेको छ ? तपाईंका बीचमा धेरै समस्या छन्– पारिवारिक समस्या, व्यापारको समस्या, घरको समस्या, सबै कुराको समस्या छ । तर, वास्तविकता के हो ?

एकातिर त तपाईंका अनेकौँ समस्या छन् । यही कारणले तपाईं दुःखी बन्नुहुन्छ । अर्कोतिर यो मानव शरीर दुःखी हुने साधन होइन भनेर भनिएको छ । दुःख त तब हुन्छ जब प्राप्त भएको चीजलाई तपाईंले दुरुपयोग गर्नुहुन्छ । माटाको गाग्रोलाई तपाईं चाहे पानीले भर्नुहोस् या अरू केही चीजले नै भर्नुहोस् । तर, त्यसलाई हतौडाको रूपमा प्रयोग गर्नुभयो भने त्यो गाग्रोको दुरुपयोग हुनेछ । गाग्रो त फुट्नेछ ।

ठीक यसै गरी, हामीलाई यो जुन मानिसको शरीर प्राप्त भएको छ, यसको दुरुपयोग हुनु भनेको के हो ? यो जुन प्रयोजनका लागि प्राप्त भएको छ, तपाईंले यसैलाई उपेक्षा गर्नुभयो । यो जसको कृपाद्वारा प्राप्त भएको छ, तिनैलाई भुल्नुभयो । त्यसैले वास्तविकता के हो अनि के भइरहेको छ ?

यो केही यस्तै खालको कुरा हो । मानौँ, जङ्गलको बीचभागमा एउटा स्थान छ । जहाँ रुख पनि सुकेको छ । नदी पनि सुकेको छ । पानी कतै पनि छैन अनि एउटा छाप्रो छ । त्यस छाप्रोबाट रुँदै गरेको आवाज आइरहेको छ । आमा पनि रोइरहेकी छिन् । बुबा पनि रोइरहेका छन् । बालबच्चा पनि रोइरहेका छन् । बच्चाहरू दुःखी छन्, किनकि उनीहरूलाई भोक लागेको छ । आमा चिन्तित छिन्, किनकि बालबालिका दुःखी छन् । अनि बुबा दुःखी छन्, किनकि आमा र बालबालिकाको चिन्ताले सताइरहेको छ । तिनका लागि खानेकुरा कहाँबाट ल्याउनु ?

त्यसका लागि केही उपाय नै छैन ! सबै प्रयास सकिएको छ । अब के गर्ने भन्ने बारेमा उनलाई उपाय नै फुरिरहेको छैन ! उनी गरिब छन् । उनीसँग केही पनि धन–सम्पत्ति छैन । उनी आफूसँग कुनै पनि क्षमता छैन, अलिकति पनि बल छैन भनेर सोच्न थाल्छन् । उनको केवल एउटा सानो झुप्रो छ, अरू केही पनि छैन । झुप्रोको आडैमा एउटा सानो कुवा छ तर त्यो पनि सुकेको छ ।

यस्तो अवस्थामा यदि कोही आऊन् अनि उनलाई भनून्, ‘किन रोइरहनुभएको छ ?’ उनी आफ्नो बिलौना सुनाउँछन्, ‘मेरो यस्तो हालत भइरहेको छ । मसँग केही पनि छैन ।’ अनि ती व्यक्तिले ती गरिब मानिससँग भन्छन्, ‘तपाईं रुनु आवश्यक छैन । तपाईंसँग प्रशस्तै धन–सम्पत्ति छ । सुन छ, असर्फी छ अनि त्यो धन तपाईंकै छाप्रामुनि गाडिएको छ । त्यसलाई खन्नुहोस् । जति निकाल्न सक्नुहुन्छ, निकाल्नुहोस् । अब जानुहोस् अनि आफ्नो परिवारका लागि जे–जति खाद्यान्नका सामग्री ल्याउन चाहनुहुन्छ, सबै चीज लिएर आउनुहोस् ।’

यस्तो व्यक्तिले के गर्नुपर्छ ? उनी रोइरहनुपर्छ या उनले यसो भन्नुपर्छ– ‘के साँच्चै मेरो छाप्रामुनि सुनको खानी छ ? म हेर्न चाहन्छु ।’ ‘तपाईंले बताइदिनुभयो, अब तपाईं जानुहोस् अनि म भोलि निकालौँला’, उनले यस्तो त भन्नुहुँदैन होला । हुँदैन ! तपाईं त्यहीँ उभिइरहनुभएको छ, उनी जान्छन् अनि उनले त्यो स्थानलाई राम्रोसँग खन्छन् । त्यहाँ उनले सुनको खानी भेट्टाउँछन् । उनी असाध्यै खुशी हुन्छन् । खुशी हुँदै उनी आफ्ना बालबच्चाका लागि पिउने पानी, भोजनादि सारा चीजको प्रबन्ध गर्छन् । त्यसपछि उनले बिस्तारै–बिस्तारै त्यो धनको खानीलाई अझै निकाल्न सक्छन् । अब आफ्नो लागि ठूलो घर बनाउन सक्छन् या त सारा धन बोकेर कतै अन्यत्र जान पनि सक्लान् । अब उनी आफ्नो इच्छाअनुसार जे पनि गर्न सक्छन् ।

कतिपय मानिस आफूलाई निर्धन सम्झेलान् । तर यो कुरा धनको होइन, आनन्दको कुरा हो । उनीहरूको जीवनमा आनन्द छैन । उनीहरूको जीवनमा निराशा छ । उनीहरूको जीवनमा यस्तो–
यस्तो कुरा भएको छ, जसले गर्दा तिनले आफूले आफूलाई भाग्यमानी ठान्दैनन् । यो श्वास आइरहेको छ, गइरहेको छ तर उनीहरूले आफूलाई भाग्यशाली छु भनेर महसुस गर्दैनन् । उनीहरू जीवित त छन् तर पनि स्वयंलाई भाग्यशाली ठान्दैनन् । यही त सुन हो, यही त चाँदी हो, जुन तपाईंभित्र छ । ‘यो संसारको कुनै पनि धनी मानिसले एउटा श्वास किन्न सक्दैन, एउटा श्वास पनि किन्न सक्दैन ।

यति धेरै अनमोल चीज ः जोसँग अर्बौं पैसा हुन पनि सक्ला तर उसले एउटै मात्र श्वासलाई पनि किन्न सक्दैन । तर, तपाईं हरेक दिन त्यही श्वास लिइरहनुभएको छ ।’ जब तपाईं यी सारा कुराहरू बुझ्न थाल्नुहुन्छ र अझ राम्रोसँग जान्न थाल्नुहुन्छ । अनि भाग्यमानी त तपाईं हुनुहुन्छ नै ।

तर, तपाईंले कहिल्यै यस कुरामा ध्यान नै दिनुभएको छैन । कसैले आएर बताइदिँदा पनि हामी त्यस कुरामा विश्वास गर्न सक्दैनौँ । तर, यदि कसैले झुटो बोले पनि हामी त्यसमाथि चाहिँ विश्वास गर्न तयार हुन्छौँ । यद्यपि कसैले साँचो बोलोस् तर हामी त्यसमा विश्वास गर्न तयार हुँदैनौँ । मानिसहरू कल्पनामा अड्किन्छन् । उनीहरू के कल्पना गर्छन् भने, म कति अभागी छु । मसँग यो छैन, त्यो छैन । हरेक मानिससँग तुलना गर्नतिर लाग्छन् । म भन्छु– तपाईं मेरो कुरामा विश्वास नगर्नुहोस् । जुन तपाईंभित्रको चीज छ, तपाईं त्यसलाई चिन्नुहोस् । तपाईं त्यसलाई पहिचान गर्नुहोस् । जुन वास्तविक आनन्दको तपाईंलाई खोजी छ, त्यो आनन्द तपाईंकै हृदयमा छ ।

तपाईं त्यसको अनुभव गर्न सक्नुहुन्छ । किनकि यो अनुभवको कुरा हो । कसैको भनाइलाई सुन्ने मात्रै कुरा होइन । त्यस चीजको आनन्द लिनुहोस्, किनकि तपाईं भाग्यशाली हुनुहुन्छ ।

मानिसले जे–जे गरिरहेका छन्, त्यो आफ्नो सुख–शान्तिका लागि गरिरहेका छन् । उनीहरुभित्र जुन सुख–शान्तिको चाहना छ, जुन इच्छा छ, त्यो कहाँबाट आयो ? त्यो इच्छालाई कसले उत्पन्न गरायो ? यो कुरा हामीले आफ्नो जिन्दगीमा सिकेका हौँ कि प्राकृतिकरूपमा पहिलेदेखि नै छ । कुनै कुरा स्वाभाविक हुन्छन् अनि कुनै कुरालाई सिक्नुपर्छ । कतिपय कुरा सिक्नका लागि हामीले विद्यालय, विश्वविद्यालय, ठूला–ठूला शिक्षण संस्थाहरूमा जानुपर्ने हुन्छ ।

त्यहाँ सिकेपश्चात् हाम्रा इच्छा, कामना, आकाङ्क्षाहरू उत्पन्न हुन्छन् । कैयौँ ठूला–ठूला विज्ञापन अनि पोस्टरहरू देख्छौँ, हामीलाई साथीले केही बताउँछ, हामीलाई मित्रहरुले केही बताउँछन् अनि हामी सिक्छौँ, हाम्रा इच्छाहरू उत्पन्न हुन्छन् । तर, केही यस्ता इच्छाहरू हुन्छन् जसलाई हामीले सिक्नुपर्दैन, ती स्वाभाविक हुन्छन् । जस्तो कि भोक लाग्नु स्वाभाविक कुरा हो । यसका लागि हामीले कतै गएर सिक्नुपर्दैन ।

खानाको आवश्यकता परेपछि शरीरले हामीलाई बताउँछ– ‘खाना खाऊ !’ सृष्टिकर्ताले पहिला नै यस्तो प्रबन्ध मिलाएका छन् । किनकि उनलाई थाहा थियो– हुन सक्छ मानिस मायामा यति फस्न सक्छ, त्यति बेला उसले आफ्नै शरीरलाई समेत ख्याल गर्दैन ।

त्यसकारण मानिसमा भोक जगाइयो । भोक लागेपछि खाने इच्छा उत्पन्न हुन्छ अनि मानिसले खानाको खोजी गर्दछ । यो प्राकृतिक कुरा हो । यसलाई सिक्नुपर्दैन । तिर्खा लाग्छ अनि मानिसले पानी पिउँछ । के वास्तविक सुख–शान्तिको चाहना नैसर्गिक हो या सिकिएको हो ? यो स्वाभाविक तिर्खा हो । यो भित्रको तिर्खा हो । बाहिरी समस्याको समाधान बाहिर नै प्राप्त हुन्छ, त्यस्तै गरेर भित्रको चाहना, हृदयको प्यास, वास्तविक सुख–शान्तिलाई पाउने तिर्खाको समाधान पनि तपाईंले आपैmँभित्र पाउनुहुनेछ, बाहिर होइन ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्