प्याब्सनद्वारा राहत वितरण



पाल्पा, (नेस)

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले जिल्लाका संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई राहत वितरण गरेको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण प्रभावित बनेकालाई संस्थाले राहत सामग्री वितरण गरेको हो । कोरोना महामारीका कारण ४ महिनादेखि शैक्षिक सस्थाहरू बन्द रहेकाले प्रभावित बनेका जिल्लाका संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई प्याब्सनले राहत सामग्री वितरण गरेको संस्थाले जनाएको छ ।

संस्थागत विद्यालयमा कार्यरत २ सय ५१ जना शिक्षक, कर्मचारीलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको प्याब्सनका कोषाध्यक्ष गंगाबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार प्रत्येकलाई २५ केजी चामल, २ किलो दाल, २ लिटर तेल, आधा दर्जन साबुन र १ केजी नुन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्